काठमाडौं- ऋण विस्तार र व्यापार बढाउने ध्याउन्नमा मात्र केन्द्रित हुने वाणिज्य बैंकहरूका बीचमा देशकै अग्रणी वाणिज्य बैंक नबिलले भने फरक प्रयास गरिरहेको छ। नबिलले पछिल्लो दुई वर्षदेखि सामाजिक उद्यमशीलता प्रवर्द्धनका लागि विशेष कार्यक्रम सञ्चालन गर्दै आएको छ।
नाफा र लाभांशको होडमा रहेका बैंकहरूको बीचमा नबिलले भने सामाजिक उद्यमशीलता प्रवर्द्धन गर्न नबिल एसएसई फेलोसिप कार्यक्रम सञ्चालन गर्दै आएको छ। उद्यम तथा व्यापार गर्ने सोच भएका तर व्यावहारिक जानकारी नभएकाहरूका लागि नबिलले यस्तो कार्यक्रम ल्याएको हो। नबिलले उद्यम तथा व्यवसाय सञ्चालनका लागि स्थापनादेखि बजारीकरणसम्मका विषयमा बृहत् सिकाइमूलक फेलोसिपका दुई ब्याच यसअघि नै सम्पन्न गरिसकेको छ।
नबिल एसएसई फेलोसिप कार्यक्रम त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कूल अफ म्यानेजमेन्टको सहकार्यमा सञ्चालन हुन्छ। उद्यमशीलताको सोच भएका, के गर्ने भनेर सोच बनाइसकेका जुझारु व्यक्तिहरुलाई व्यावसायिकरुपमा सम्भाव्य बनाउनका लागि आवश्यक तालिम तथा प्रशिक्षण दिन बैंकले यो कार्यक्रम चलाएको हो। फेलोसिपमा सहभागीहरूबाट आउने नतिजाले देशमा रोजगारी सिर्जना, आर्थिक विकास तथा दिगो विकासका लक्ष्य प्राप्तिमा सहयोग पुग्ने बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीको भनाइ छ।
फेलोसिपमा छानिएकाहरूलाई विज्ञहरूले तालिम दिन्छन्। सम्बन्धित विषयको व्यावहारिक अनुभव लिइसकेका विज्ञहरुबाट मात्र सो तालिम सञ्चालन गरिने बैंकले जनाएको छ। तालिम सञ्चालन गर्नुअगावै विषयगत विज्ञहरुसँग प्रशिक्षार्थी आवश्यकताअनुसार तालिमका विषयवस्तुहरु प्रयोगात्मक तरिकाले डिजाइन गरी सञ्चालन गरिने बैंकले जनाएको छ। समग्रमा यो कार्यक्रममा फेलोहरूले आफ्नो आइडियाको सम्भाव्यतादेखि त्यसलाई साकाररुप दिँदासम्म के-के गर्नुपर्छ भनेर जानकारी पाउँछन्।
फेलोसिमअन्तर्गत ६ महिनाको तालिम हुन्छ। यसमा प्रत्येक महिनाको ३ दिन आवासीय तालिम हुन्छ। बाँकी सयम प्रशिक्षार्थीले आफू सिकेका कुराहरु आफ्नो उद्यम प्रयोगमा ल्याइ थप सिकाइका लागि अर्को महिनाको तालिममा आउने बैंकले जनाएको छ। यसै तवरले ६ महिनासम्म प्रयोगात्मक सिकाइ गर्दै अघि बढ्ने बैंकले जनाएको छ।
तालिम अवधिभर तथा बाँकी ६ महिना गरी एक वर्षका लागि सबै सहभागीहरुलाई मेन्टरको व्यवस्था गरेर व्यवसाय गर्दा आइपर्ने व्यावहारिक कठिनाइको समाधानका लागि नबिलले सहयोग गर्दै आएको छ।
विभिन्न पृष्ठभूमिबाट आएका सहभागीहरुलाई सामाजिक उद्यम सञ्चालनका निम्ति आवश्यक कानूनी तथा करसम्बन्धीका ज्ञान, व्यवसायको ब्रान्डिङ, बजारीकरण आदिजस्ता विभिन्न विषयमा तालिम दिनेछ। सहभागीहरुलाई प्राविधिक तथा व्यावहारिक ज्ञानसमेत उपलब्ध गराइने नबिल बैंकका डेपुटी सीईओ ज्ञवाली बताउँछन्।
नबिलले यसअघि सम्पन्न गरेको दुई ब्याचबाट ३६ जनाले लाभ लिइसकेका छन्। यसअघिका दुईवटै ब्याचबाट बैंक उत्साही भएको छ। यसमध्ये २३ वठा उद्यम स्थापन गरी प्रत्यक्ष/अप्रत्यक्षरुपमा तीन सयभन्दा बढीले रोजगारी पाएका छन्।
आइडियामात्र भएकादेखि व्यापार सुरू गरेका तर अलमलिएकाहरूले पनि यो फेलोसिपमा सहभागी हुन सक्छन्। कुनै पनि नविन सोच भएकाहरू यो कार्यक्रमका लागि योग्य हुन्छन्। यसअघिका फेलोसिपमा छानिएकाहरूले उदाहरणीय काम गरेको डेपुटी सीईओ ज्ञवालीको भनाइ छ।
पहिलो ब्याचका फेलो राजिविक्रम महर्जनसँग गल्ली म्याप भन्ने स्थानीय म्यापको अवधारणासहितको एउटा परियोजना थियो। महर्जनले काम पनि सुरू गरेका थिए। जब उनी फेलोसिपमा छानिए र उनले आफूलाई परिष्कृत गरेका छन्। उनको यो उद्यमले नेपालबाट स्टार्टप वर्ल्ड कपमा विजयी भइ सिलिकन भ्याली अमेरिकाको विश्वव्यापी प्रतिस्पर्धामा भाग लिँदैछन्।
यसअघिका दुई ब्याचमा सफल उद्यमीहरूको कामबाट आफूहरू निकै उत्साहित भएको ज्ञवालीको भनाइ छ।
इलामका यमबहादुर कार्की पनि गाउँमै कफी उत्पादनमा सहभागी थिए। यस कार्यक्रममा छनोट भइ भाग लिएपश्चात् उनले ३ सयभन्दा बढी कृषकलाई कपी तथा घ्युको बजार विस्तारमा सहयोग गरिरहेका छन्। उनले ती वस्तुहरुको आफ्नाे ब्रान्ड बनाएका छन्।
के भन्छन् फेलोसिपमा सहभागीहरु?
फेलोसिपममा सहभागीहरूले नबिलको उदाहरणीय काम भएको प्रतिक्रिया दिएका छन्। उद्यमशीलता प्रवर्द्धनको उद्देश्यबाट प्रेरित यो कार्यक्रमबाट आफूलाई धेरै फाइदा भएको दोस्रो ब्याचका फेलो विनिराज अधिकारीको भनाइ छ।
‘बिजनेस गर्न जागर थियो। कसरी गर्ने विषयमा खासै ज्ञान थिएन। यो तालिम लिन पाइयो। बिजनेस गर्ने सही तरिका केहो भन्ने विषय जानकारी लिन पाइयो', उनले भने, 'वस्तु उत्पादनमा हाम्रो सोच मात्रै नभएर ग्राहकलाई लक्षित गरेर बनाउनुपर्छ भन्ने सिकाइ तालिमबाट नै पाएँ। आफ्नो सोचमा मात्रै उत्पादन गरेर हुँदैन भन्ने विषयमा जानकारी भयो।’
व्यापार व्यवसाय भनेको एक्लै गर्ने काम होइन। नेतृत्वदेखि टिम निर्माण तथा त्योसँग प्रत्येक दिन काम गर्ने शैलीका बारेमा धेरै मान्छे अनविज्ञ हुन्छन्। यस्तै कुराको ज्ञान आफूलाई फेलोसिपबाट प्राप्त भएको अधिकारीको भनाइ छ।
उद्यमशीलताका बारेमा अहिले बजारमा यत्रतत्र तालिम तथा प्रशिक्षण, गोष्ठी हुन्छन्। त्यस्ता कार्यक्रम पहिलो त निकै महँगो हुन्छन् अर्को कुरा छोटो समयका लागि हुन्छन्। तर नबिलको फेलोसिपमा मिहिन ढंगले बृहत् तालिम प्राप्त हुने फेलो रविता श्रेष्ठको भनाइ छ।
'मैले पहिले आफूले गरेको कामको समेत आफैँलाई जानकारी नभएको विषय तालिनमा सहभागी भएपछि थाहा पाएँ। मैले धेरै तालिम लिएको थिएँ। तर यो तालिम लिएपछि अब कुनै पनि तालिम लिन आवश्यक नभएको महसुस गरेको छु,' उनले भनिन्,' यसलाई तालिमभन्दा पनि मैलै बिजनेस वृद्धिको बाटोको रुपमा लिएको छु। मैले अहिले सोहीअनुसार आफ्नो काम अगाडि बढाएको छु।’
तेस्रो ब्याचका लागि खुल्यो आवेदन
यसअघिका दुई ब्याचबाट उत्साहित भएको बैंकले तेस्रो ब्याचका लागि आवेदन खुलाएको छ। यसका लागि भदौ ३ गतेसम्म इच्छुकहरूले आवेदन दिनुपर्ने छ। कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण, सूचना प्रविधि लगायत जुनसुकै क्षेत्रमा नविनतम सोच भएका १८ वर्ष देखि माथिका नेपाली नागरिकहरुले आवेदन दिन सक्नेछन्। व्यवसाय भएका तर अलमलिएकाहरूले पनि थप परिष्कृत हुनका लागि यसमा सहभागी हुन सक्नेछन्।
आवेदन दिनका लागि नबिल एसएसई फेलोसिप कार्यक्रमको फेसबुक पेजमा रहेको लिंकमा गइ गुगल फारम भर्नुपर्नेछ। यसबाहेक नबिल बैंकको वेबसाइटमा गएर नबिल एसएसईको पेजबाट पनि फारम भर्न सकिन्छ।
के हो नबिल एसएसई फेलोसिप कार्यक्रम?
नबिल बैंकले 'नबिल एसएसई फेलोसिप' कार्यक्रम सन् २०२१ को नोभेम्बर २६ मा उद्घोष गरेको थियो। अहिलेसम्म २ वटा ब्याजको प्रोग्राम सञ्चालन भइसकेको छ। यसमा २ वटा प्रोग्राम छ। एउटा फेलोसिप र सर्टिफिकेट कोर्स रहेको छ। अहिले सञ्चालन भइरहेको प्रोग्राम फेलोसिप प्रोगाम हो। यसबाट २ वटा ब्याचबाट १८-१८ जना गरी ३६ जनाले पास आउट पाइसकेका छन्।
नबिल एसएसई फेलोसिप कार्यक्रम नविनतम सोच भइ आफ्नो उद्यम सञ्चालन गर्न चाहेका, सुरु गरिसकेका तथा उद्यमको विस्तार गर्न उद्यमशीलताको व्यावहारिक सिकाइको अपेक्षा गरिरहेका व्यक्तिहरुको लागि लक्षित कार्यक्रम हो। यस कार्यक्रममार्फत छनोट भएका उद्यमीलाई सफल उद्यमी बन्नका निम्ति ज्ञान, सिप, माइन्डसेट र रिसोर्स प्रदान गर्छ।