काठमाडौं- हङकङबाट मोटरसाइकलको ‘ब्रेक शु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन गालेपछिको यकिन तौल ६० किलो ७१६ ग्राम रहेको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ। गाल्नुअघि ६० किलो ७८९ ग्राम तौल रहेको सुनबाट ७३ ग्राम जर्दी निस्किएको हो।
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्ने गालेको र धेरै ठूलो जर्दी नगएको महाशाखाका प्रमुख थानेश्वर आचार्यले बताएका छन्।
यसअघि हिजो सोमबार ब्रेक शुबाट सुन छुट्याउने काम भएको थियो। यसरी छुट्याइएको सुन ६० किलो ७८९ ग्राम तौल रहेको थियो।
सुन गाल्ने काम सकिएकाले अब त्यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने पनि उनले बताए। त्यसका लागि केही दिन लाग्नेछ। त्यसपछि मात्रै सुन कति छ र कुन गुणस्तरको हो भनेर पत्ता लाग्नेछ।
राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको १ सय ५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो। त्यसपछि उक्त सुनसहितको ‘ब्रेक शु’ टक्सार महाशाखामा राखिएको थियो। सरकारको निर्णयपछि सुन प्रकरणको अनुसन्धानको काम राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई दिएको छ। उक्त घटनामा अहिले सीआईबीले अनुसन्धान गरिरहेको छ।
प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेर सुन तस्करी प्रकरणको अनुसन्धान जारी छ। गत साता आइतबार राजस्व अनुसन्धानबाट प्राप्त मिसिलसहितका तथ्य र प्रमाण बुझेको सीआईबीले एसपी थापालाई अनुसन्धान अधिकृत तोकेर औपचारिकरुपमा अनुसन्धान थालेको थियो।
अब के हुन्छ प्रक्रिया?
बरामद भएको सुन गुणस्तर तथा तौल परीक्षणका लागि अहिले नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार महाशाखामा छ।
पछिल्ला वर्षका अवैध सुन बरामद भएका घटना पटक-पटक दोहोरिएका छन्। भन्सार विभाग, राजस्व अनुसन्धान विभाग, नेपाल प्रहरीलगायतका निकायले अवैध सुन समात्ने गरेका छन्। राजस्व छलेर आएको सुन बरामद भएपछि त्यो स्वतः सरकारको सम्पत्ति हुन जान्छ। तर सरकारले सुन आफैँ राख्ने नभइ त्यो नेपाल राष्ट्र बैंकले राख्छ र सुनको मूल्य बराबरको रकम राष्ट्र बैंकले सरकारी खातामा जम्मा गर्छ।
राजस्व अनुसन्धान विभाग, राष्ट्र बैंकको टक्सार महाशाखा, वित्त व्यवस्थापन विभाग, मुद्रा व्यवस्थापन विभागलगायतका प्रतिनिधि रहेर त्यसलाई खोलिएको हो। बरामद गरेर ल्याइएको वस्तु मोटरसाइकलका पार्टस्भित्र लुकाइएको भनिएकामा ती के-के हुन सबै छुट्याएर त्यसलाई गाल्ने प्रक्रिया गरिएको थियो। गालेर ढिक्का बनाउँदै त्यसपछि तौल जोखिएको हो।
अब बाँकी अनुसन्धान प्रक्रिया टुङ्गिसकेपछि उक्त सुन राष्ट्र बैंकले खरिद गर्नेछ। यसरी सरकारसँग सुन खरिद गर्दा राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बजार मूल्यभन्दा पाँच प्रतिशत बढी रकम दिने गरेको आचार्यको भनाइ छ। यो मुद्दाको अदालती प्रक्रिया पूरा सकिसकेपछि उक्त सुनको मूल्य बराबरको रकम सरकारको खातामा राजस्वका रुपमा जम्मा हुन्छ भने सुन राष्ट्र बैंकमा सञ्चितिका रुपमा रहन्छ। यस्तो सुनबाट राष्ट्र बैंकले असर्फी बनाउने र बिक्री वितरणसमेत गर्ने गर्छ।