आइतबार, असोज ६ गते २०८१    
images
images

डोटीमा लोप हुँदै कोदो

images
सोमबार, साउन २९ २०८०
images
images
डोटीमा लोप हुँदै कोदो

डोटीमा  २० देखि ३० प्रतिशत कोदोखेतीयोग्य जमिन भएपनि पछिल्लो समय ५ प्रतिशतले मात्र कोदोखेती गरिरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

images
images

दिपायल- स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिने कोदोबाली पछिल्लोे समय डोटीमा  लोप हुँदै गएको छ।  

images
images
images

कोदोको महत्वका बारेमा थाहा नहुँदा यसको खेतीप्रति किसानको आकर्षण घट्दै जाँदा लोप हुँदै गएको हो। व्यावसायिक रूपमा खेती गर्ने किसानको संख्या कमी हुँदै गएपछि परम्परागत मुख्य खाद्यान्नबालीका रूपमा स्थापित कोदोखेती लोप हुने अवस्थामा पुगेको हो।

एक दशकअघि डोटीको दक्षिण भेगमा रहेका साविकका मन्नकापडी, बर्छैन, घागल, लानकोदारेश्वर, सिमचौर, कानाचौर, केदारअखडा र चवार चौतारा गाविस हाल बडीकेदार गाउँपालिका, जोरायल गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिकालगायतका ठाउँका किसानको मुख्य खाद्यान्नबाली कोदो थियो। अहिले कोदोखेती पूरै विस्थापित हुने अवस्थामा पुगेको किसान बताउँछन्।

स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिने कोदोको अहिले डोटीका सीमित गाउँमा मात्र खेती गरिन्छ। रोटीका  लागि मात्र उत्तम ठानिने भए पनि अहिले स्वस्थ रहनका लागि भन्दै सहरी क्षेत्रका मानिसले यसका परिकार खाने गर्दछन्। कोदोखेती गर्ने किसानको संख्या दिनहुँ घट्दै गएको किसानको भनाइ छ।
 
बढ्दो सहरीकरणको प्रभावले गाउँमा कोदो फल्ने जमिन बाँझिन थालेका छन्। ग्रामीण भेगका मानिस सहर पस्न थालेपछि कोदोले भरिभराउ हुने जमिन अहिले बाँझिँदै गएका हुन्। कम मेहनतमा उत्पादन बढी हुने र पोषणयुक्त खाद्यान्न बालीभित्र पर्ने भए पनि बढ्दो सहरीकरणको प्रभावले गर्दा कोदोखेती लोप हुने अवस्थामा पुगेको बडीकेदार-५ थानकोटका उपेन्द्र धामीले बताए।

images

कोदोको माग धेरै भए पनि खेती गर्ने किसान नभएपछि मागअनुसार जिल्लामै आपूर्ति गर्न नसकिने अवस्था रहेको बडीकेदार गाउँपालिकाको कृषि शाखाका नासु सुरेन्द्र शाहीले बताए। अहिले सहरी क्षेत्रमा यसको अत्याधिक माग भए पनि पछिल्लो समय किसान तरकारीखेती गर्न थालेपछि  कोदोखेती लोप हुँदै गएको शाहीले बताए।

अहिले सहरी क्षेत्रमा यसको अत्याधिक माग भए पनि उत्पादन घट्दै गएको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउदले बताए। डोटीमा  २० देखि ३० प्रतिशत कोदोखेतीयोग्य जमिन भए पनि पछिल्लो समय पाँच प्रतिशतले मात्र कोदोखेती गरिरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ। रासस


प्रकाशित : सोमबार, साउन २९ २०८००८:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend