काठमाडौं- खानी तथा भूगर्भ विभागले नेपालका विभिन्न ९ स्थानमा खनिज उत्खनन्का लागि इच्छुकबाट आव्हान गरिएको टेन्डरमा सारभूत प्रस्ताव नै नपरेपछि प्रक्रिया रद्ध भएको छ।
सम्भावित खनिज पहिचान भएका साइटमा उत्खनन्का लागि इच्छुकबाट आव्हान गरिएको टेन्डरमा उल्लेख्य प्रस्ताव नै नपरेपछि विभागले उक्त प्रक्रिया रद्ध गरेको छ।
९ ठाउँका लागि विभिन्न खनिज उत्खनन्को लाइसेन्सका लागि भएको टेन्डरमध्ये केहीमा परेको तर त्यो पनि योग्य नभएपछि रद्ध भएको हो।
विभागले फागुन ११ गते निकालेको टेन्डरमा चुनढुंगा, तामा, डोलोमिट, म्याग्नेसाइट र फोस्फोरोट उत्खननका लागि लाइसेन्स दिनका लागि सूचना आव्हान गरेको थियो।
गत वर्षको टेन्डरमा योग्य प्रस्ताव नपरेपछि चालु वर्षका लागि फेरि १० ठाउँमा उत्खननको लाइसेन्सका लागि टेन्डर गर्ने तयारी भइरहेको विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले जानकारी दिए।
गत वर्षको टेन्डरको मापदण्ड नै अमिल्दो भएकाले प्रस्ताव नभएको विभागको बुझाइ रहेको छ। यो वर्ष गरिने टेन्डरमा मापदण्ड परिमार्जन गर्ने विभागको तयारी रहेको छ।