आइतबार, माघ १३ गते २०८१    
आइतबार, माघ १३ २०८१
images
images

नारायणी नदी व्यवस्थापनका लागि बजेट अभाव हुँदा काम गर्न कठिनाइ

images
आइतबार, साउन २८ २०८०
images
images
नारायणी नदी व्यवस्थापनका लागि बजेट अभाव हुँदा काम गर्न कठिनाइ

नारायणी नदी व्यवस्थापनका लागि स्रोत सुनिश्चित गरिए पनि नवलपुरतर्फ पर्याप्त बजेट निकासा नहुँदा काम गर्न कठिनाइ भएको हो।

images
images

नवलपुर- नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को चारवटा पालिकामा सञ्चालन भएको नारायणी नदी व्यवस्थापनको काममा बजेट अभाव भएको छ। नारायणी नदी व्यवस्थापन कार्यालय भरतपुरले जिल्लाको गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिकाका विभिन्न स्थानमा सुरु गरेको नदी व्यवस्थापनको काममा बजेट अभाव भएको कार्यालयले जनाएको छ।  

images
images
images

गत आर्थिक वर्ष २०७९/८० मा नवलपुर र चितवनतर्फ नारायणी नदी व्यवस्थापनका लागि बहुवर्षीय योजनाअन्तर्गत परेको चार अर्ब ५० करोड रूपैयाँबाट नदी व्यवस्थापनको काम सुरु गरिएको थियो। नारायणी नदी व्यवस्थापनका लागि स्रोत सुनिश्चित गरिए पनि नवलपुरतर्फ पर्याप्त बजेट निकासा नहुँदा काम गर्न कठिनाइ परेको कार्यालयका सूचना अधिकारी एवं सिनियर डिभिजनल इन्जिनियर (सीडीई) शंकर बुढाथोकीले बताए।

images

'नदी व्यवस्थापनका लागि ठेक्का लगाइएको ठाउँमा न्यून बजेट आउँदा काम सुरु हुनै सकेको छैन, केही स्थानमा निकासा भएको रकमभन्दा दोबर काम भएको छ', उनले भने, 'नदी व्यवस्थापनका लागि स्रोत सुनिश्चितता भनेर आए पनि बजेट निकासा नहुँदा भुक्तानीमा समस्या भएको छ।'

images
images
images

उनका अनुसार गैँडाकोट नगरपालिका-२, ५, ६ र ९ मा नदी तटबन्धसहित सडक सडक निर्माण हुँदैछ। यहाँ पाँच किलोमिटर तटबन्धका लागि ड्यामसहित सडक निर्माण गर्न एक अर्ब नौ करोड रूपैयाँ बराबरको बहुवर्षीय ठेक्का लागेको बुढाथोकीले जानकारी दिए। नारायणीको कटान नियन्त्रण गर्न तटबन्धनसँगै इको करिडोर तीव्र गतिमा भइरहेको उनको भनाइ छ।

जमिनको सतहबाट सात मिटर अग्लो ड्याम निर्माण गरिने भन्दै थपलियाले ड्यामको चौडा सात दशमलव पाँच मिटरको हुने बताए। गत मंसिर १५ मा ठेक्का लगेर काम सुरु भएको यस योजनाको म्याद विसं २०८२ जेठ १४ सम्म छ। हालसम्म करिब आठ सय मिटर ड्यामसहितको सडक निर्माण भइसकेको छ। 'यस कामका लागि दुई पटक गरेर १७ करोड रूपैयाँ बजेट आयो। तर बजेटभन्दा काम धेरै बढी भइसकेको छ', उनले भने, 'निर्माण कम्पनीलाई थप २५ करोड रूपैयाँ भुक्तानी गर्न बाँकी छ, भुक्तानी गर्न बाँकी भएपछि अहिले काम रोकिएको छ।'

त्यस्तै, गैँडाकोट-१० र देवचुली-१७ मा ग्याबिनसहितको नदी तटबन्ध र बिग बोल्डर (ठूलो ढुंगा राखेर गरिने तटबन्ध) का लागि सात करोड रूपैयाँको अर्को ठेक्का लागेको उनले बताए। 'यस प्याकेजका लागि २०८१ साल साउन ४ गतेसम्म एक हजार तीन सय मिटर तटबन्धको काम सकाउने गरी ठेक्का लगाइएको थियो', उनले भने, 'सात सय ५० मिटरको काम सकिएको छ, यस प्याकेजमा रकम अभाव नभए समयमै काम सकिनेमा हामी विश्वस्त छौँ।'

देवचुली-१७, कावासोती-१७ मध्यविन्दुको वडा नं २ र ३ मा एकमुस्ट १२ करोड २५ लाख रूपैयाँको ठेक्का लगाइएको भए पनि काम सुरु हुन नसकेको बुढाथोकीको भनाइ छ। 'देवचुलीको वडा नं १७ मा तीन सय मिटर स्लोप, कावासोती-१७ मा एक सय ५० मिटरसम्म लम्बाइका तीनवटा ठक्कर र मध्यविन्दु-२ र ३ मा एक किलोमिटर स्लोप बनाउने गरी ठेक्का लागेको थियो', उनले भने। यस प्याकेजको म्याद आगामी असारसम्म भएकाले बजेट निकासा भएमा समयमै काम सम्पन्न गर्ने निर्माण व्यवसायीले जनाएको बुढाथोकीको भनाइ छ।

'नारायणी नदीको सबैभन्दा बढी जोखिमयुक्त क्षेत्र मानिएको मध्यविन्दुको वडा नं २ को सीतापुर तथा वडा नं ३ को ब्रह्मस्थान हो', उनले भने, 'सीतापुरमा दुई सय मिटर तथा ब्रह्मस्थानमा आठ सय मिटर स्लोप बनाउने गरी ठेक्का लगाइएको थियो।'

जोखिमयुक्त ठाउँ भएकाले ठूला-ठूला ढुंगा नदी किनारको भित्तामा राखेर स्लोप बनाउने गरी ठेक्का लगाइएको भन्दै बुढाथोकीले यहाँ काम गर्नका लागि चितवन राष्ट्रिय निकुञ्जबाट अनुमति समयमै नदिएकाले पनि समस्या भएको बताए। 'निकुञ्ज क्षेत्रमा काम गर्दा निकुञ्जको अनुमति लिनुपर्छ, हाम्रो तरिकाले काम गर्न मिल्दैन', उनले भने, 'निकुञ्जले विभिन्न विषय देखाउँदै अनुमति दिन ढिला गर्दा अहिले बाढीले ब्रह्मस्थानमा कटानसमेत गरेको छ।'

नदी व्यवस्थापनका लागि मध्यविन्दु-१५ र कावासोती-११ मा १२ करोड रूपैयाँको ठेक्का लगाइएको छ। नारायणी नदीसँग जोडिएको मध्यविन्दुको गिरुवारी खोला र कावासोतीको लोकाहा खोलाको दोभानमा गरी दुई स्थानमा एक/एक किलोमिटर लामो ठक्कर दिने गरी काम भइरहेको सूचना अधिकारी बुढाथोकीले बताए। यस प्याकेजको म्याद आगामी असार मसान्तसम्म रहेको भन्दै अहिले एक हजार दुई सय मिटरमा तटबन्धको काम सकिएको उनले जानकारी दिए।

नारायणी नदी व्यवस्थापनको काम गर्न नवलपुर जिल्लामा सञ्चालित समग्र योजनाका लागि चालु आवमा छ करोडमात्रै बजेट विनियोजन भएको सूचना अधिकारी बुढाथोकीले बताए। 'स्रोत सुनिश्चित भनेर आए पनि यस वर्षका लागि जम्मा छ करोड रकम विनियोजन भएको छ', उनले भने, 'यो पैसाले पहिलेको भुक्तानी गर्न पनि पुग्दैन बाँकी काम सम्पन्न गर्न बजेट नै छैन।' रासस


प्रकाशित : आइतबार, साउन २८ २०८०१२:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend