आइतबार, असोज ६ गते २०८१    
images
images

टाँगा चल्न छाडेसँगै बिक्री हुन छाड्यो घाँस, संकटमा घँसियारन समुदायको पेसा

images
आइतबार, साउन २८ २०८०
images
images
टाँगा चल्न छाडेसँगै बिक्री हुन छाड्यो घाँस, संकटमा घँसियारन समुदायको पेसा

पहिला-पहिला घोडाका लागि घाँस किन्ने हिजोआज बाख्राका लागि घाँस किन्न आउँछन्। उनीहरुले घाँसको मूल्य २० रूपैयाँ तोकेपनि पाँचदेखि दश रूपैयाँसम्म मात्रै पाउने गर्छन्। सरकारले घाँसको मूल्य तोकिदिए सहज हुने उनीहरु बताउँछन्।

images
images

जानकी- 'पानीमा रुझ्दै दिनभरि घाँस खोजेर बल्लबल्ल एक बोरा बनाइन्छ। त्यही पनि घाँस बेच्दा पाँच/दश रूपैयाँमा बेच्नुपर्छ। हाम्रो मेहनत र मर्का कसले बुझिदिने?' बाँकेका नेपालगञ्ज उपमहानगरपालिका-८ घसियारन टोलकी गुड्डी घरियार गुनासो गर्छिन्। उनले घाँस बेचेर आएको एकदेखि डेढ सय रूपैयाँसम्मको कमाइले ६ जनाको परिवारलाई पाल्नुपरेको छ।

images
images
images

उनी भन्छिन् - 'श्रीमान् बिरामी भएदेखि परिवारको सबै जिम्मेवारी मेरै काँधमा आएको छ। श्रीमान् बिरामी नहुँदा उहाँले पनि मजदुरी गर्नुहुन्थ्यो र घर चलाउन सजिलो हुन्थ्यो। उहाँ बिरामी भएर थलिएदेखि उहाँको उपचार खर्चदेखि साँझ-बिहानको छाक टार्न मलाई धेरै नै मेहनत गर्नुपरेको छ।'

गुड्डीलाई घाँस काट्नमा उनकी १७ वर्षीया छोरी सोनी घँसियार सघाउँछिन्। तीन कक्षा पढ्दापढ्दै स्कुल जान छाडेकी सोनी आमासँगै नेपालगञ्जका खाली चौरमा घाँस काट्न जान्छिन्। घाँस काटेर जीविकोपार्जन गर्ने गुड्डीको परिवार तेस्रो पुस्ताको परिवार हो। गुड्डीका अनुसार पहिला नेपालगञ्जमा टाँगा चल्ने गर्थ्यो र घाँस पनि राम्रै बिक्री हुन्थ्यो। हिजोआज टाँगाको ठाउँमा अटोरिक्सा चल्ने भएकाले मान्छेले घोडा पाल्न छाड्दै गए र घाँस किन्ने पनि घट्दै गए। 'पहिला-पहिला घोडाका लागि घाँस किन्ने हिजोआज बाख्राका लागि घाँस किन्न आउँछन्', उनले भनिन्, 'घोडाले खाने आहार र बाख्राले खाने आहारमा धेरै फरक हुन्छ। आहार फरक भएपछि घाँस खरिदसँगै कमाइ पनि घट्नु स्वभाविक हो।'

गुड्डीले जस्तै घाँस काटेर अनि बेचेर परिवारको जिम्मेवारी सम्हाल्दै आइरहेकी छिन् मीना घँसियारले पनि। श्रीमानको मृत्युपछि दुई सन्तानसँगै जीविकोपार्जन गर्न मीना पनि गुड्डीजस्तै नेपालगञ्जका खाली ठाउँमा बोरा बोक्दै दिनभरि घाँस काट्न जान्छिन्। उनको पनि दिनभरिको घाँसबाट साँझ कमाइ भनेको त्यही सयदेखि डेढसय जतिको हुन्छ। 'घाँस किन्न आउनेले हाम्रो न मेहनत बुझ्छन् न त हाम्रा बालबच्चामा दया-माया नै देखाउँछन्', मलिन मुहार बनाउँदै उनी भन्छन्, 'हामीले बीस रूपैयाँ भनेको घाँसलाई किन्नेले पाँच रूपैयाँ भन्छन्। कसैले पाँच र त कसैले दश रूपैयाँ दिएर लैजान्छन्। साँझ परिसकेको हुन्छ। घरमा छोराछोरीलाई खाना पकाउने हतारोमा पाँच/दश रुपैयाँमा भए पनि बेच्न पर्ने हाम्रो बाध्यता छ।'

images

वर्षाको समयमा भन्दा हिउँदको समयमा घाँसको मूल्यमा केही तलमाथि हुने भएकाले हिउँदमा दैनिक दुईदेखि तीनसयसम्मको कमाइ हुने बताउँछिन् मीना। घाँसबाट कमाएको पैसाले घरपरिवार चलाएर मीनाले डेढ लाख रूपैयाँ बचत गरेको जानकारी दिइन्। मीनालाई डेढ लाख बचत गर्न २० वर्ष लागेको बताइन्। 'छोरीको विवाहका लागि भनेर मैले २० वर्षदेखि घर खर्चबाट पैसा जोगाएर सहकारीमा डेढ लाख रूपैयाँ बचत गरेको थिएँ। तर त्यो सहकारी नै भागेपछि मेरो वर्षौँदेखिको कमाइ खेर गयो। मैले छोरीको विवाह गर्न सकिरहेको छैन', उनले दुःखी हुँदै भनिन्।

मीना र गुड्डीको भन्दा फरक छैन परेमपति घसियारको व्यथा पनि। ४० वर्षको उमेरमा हजुरआमा बनिसकेकी परेमपतिको चार पुस्ता नै घाँसको भरमा बाँच्दै आइरहेको छ। श्रीमान् र छोराले मजदुरी गरे पनि काम नपाउँदा उहाँहरूबाट कमाइ नहुने परेमपतिको भनाइ छ। हिउँदको चर्को घाम होस् या वर्षामासको झरी घाँस काट्ने काम भने निरन्तर हुने भएकाले मजदुरीजस्तो अभाव नहुने उनको भनाइ छ। 'मजदुरी त पाइए गर्ने हो नपाइए घरमै बस्ने हो तर घाँस काट्न त बाह्रैमास पाइन्छ। त्यसैले हाम्रो घरको चुल्हा यही घाँसबाट कमाइएको पैसाले नै बल्ने गरेको छ', उनले भनिन्। परेमपतिको कमाइ पनि यो सिजनमा सयदेखि डेढ सयसम्म मात्रै हुने गर्छ।

२७ घरधुरी भएको उक्त घसियार टोलको एउटा घरमा तीनजना देखि १४ जनासम्मको परिवार सदस्य रहेका छन्। घाँस काट्ने र बेच्ने जति सबै महिला नै हुन्छन्। साँझपख टोल नजिकै रहेको खाली ठाउँमा आ-आफूले काटेको घाँसको थुप्रो लगाएर महिलामात्रै घाँस बेच्ने गर्छन्। उनीहरूले बेच्ने घाँसको निश्चित मूल्य नै छैन। यसले जतिमा बेच्न सक्यो, त्यति नै त्यहाँ घाँसको मूल्य बनेको हुन्छ।

घाँस बिक्रीका लागि स्थानीय सरकारले निश्चित मूल्य तोकिदिए आफूहरूको आर्थिक अवस्था थोरै भए पनि बलियो हुनमा सहयोग पुग्ने सोही टोलका २८ वर्षीय सुरेश घँसियार बताउँछन्। उनी भन्छन्, 'दिनभरि घामपानी केही नभनी दुःख गरेर आमा-बहिनीले काटेको घाँस साँझ जम्मा पाँच रूपैयाँमा बेच्नुपर्ने बाध्यता छ। स्थानीय सरकारले नै घाँसको मूल्य निर्धारण गरिदिए किन्ने र बेच्ने दुवैले पैसामा बार्गेनिङ नै गर्नुपर्दैनथ्यो नि।'

नेपालगञ्जको मुटुका रूपमा चिनिने त्रिभुवनचोक नजिकै रहेको घँसियार जातिको तीन-चार पुस्ता घाँसकै भरमा बाँच्दै आएको नगरका पूर्वउपप्रमुख तथा टोलका स्थानीयवासी शमशुद्धिन सिद्धीकी बताउँछन् । उनका अनुसार पुस्तौँ पुस्तादेखि घाँसकै भरमा बाँच्दै आएका घँसियारको आर्थिक अवस्था उनीहरूको पहिलो पुस्ताको जस्तो थियो आज तेस्रो/चौथो पुस्तासम्म आइपुग्दा पनि उस्तै छ। 'हामी नजन्मिदैका कुरा हाम्रो बाजेबज्यैले सुनाउनुहुन्थ्यो पहिला-पहिला पाँच-दश पैसामा घाँस बिक्री गर्थे रे। आज जम्मा पाँच-दश रूपैयाँमा बिक्री गर्ने गर्छन्। के फरक भएको भन्ने त?'

उनले घँसियारको जीवनलाई परिवर्तन गर्न नसकेको आफू दुःखी भएको बताउँदै उपमहानगरभित्र रहेको उक्त घँसियारन टोलका समुदाय वर्षौँदेखि विपन्नतामा बाँचिरहेको बताए। 'टोलमै हाइस्कुल पढेका मान्छे छैनन्। हातमा सीप छैन। व्यवसाय गर्न लगानी छैन। केही नभएपछि घाँस काटेर जीविका चलाइरहेका छन्', उनले भने, 'उनीहरूको जीवनस्तर उकास्ने खालका कार्यक्रम विभिन्न सम्बन्धित निकायले ल्याइदिने हो भने घसियारका छोराछोरीको भविष्य उज्जवल हुने थियो।'

वडाध्यक्ष रसनिश बाजपाइले अझै पनि यो समुदाय चेतनाको हिसाबले पछाडि परेको बताए। 'शौचालय मर्मतदेखि अन्य योजना बनाउने योजनामा छौँ', उनले भने, 'आगामी दिनमा प्याकेज कार्यक्रम ल्याएर उनीहरूका लागि काम गर्ने योजना बनाएका छौँ । घाँसको मूल्य निर्धारण पनि चाँडै गर्नेछौँ।' रासस


प्रकाशित : आइतबार, साउन २८ २०८००६:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend