आइतबार, असोज ६ गते २०८१    
images
images

बेनी-दरबाङ सडकको ठाउँ-ठाउँमा पहिरो खस्दा यातायात अवरुद्ध

images
आइतबार, साउन २८ २०८०
images
images
बेनी-दरबाङ सडकको ठाउँ-ठाउँमा पहिरो खस्दा यातायात अवरुद्ध

बेनी-दरबाङ सडक पाखो र भिरको बीचमा खनिएको छ। सडकमुनि म्याग्दी नदी छ। सडकमाथिको भिरमा गेगरैगेगर छ। खोल्सामा पर्ने सडकमाथितर्फ पर्खाल बनाएर पहिरो रोक्ने प्रयास गरिए पनि सफल हुन सकेको छैन।

images
images

गलेश्वर- शुक्रबार रातिदेखिको लगातार वर्षाका कारण बेनी-दरबाङ सडकखण्डको विभिन्न तीन स्थानमा पहिरो गएपछि आज बिहानैदेखि सडक अवरुद्ध भएको छ। 

images
images
images

बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेत, रणवाङ भिर र दरबाङ नजिकैको बांगेभिरमा पहिरो गएकाले सडक अवरुद्ध भएका हो । पहिरो खसिरहेकाले सडक खुलाउने प्रयास असफल भएको प्रहरीले जनाएको छ।

म्याग्दीको ‘लाइफ लाइन’का रूपमा लिने गरिएको बेनी-दरबाङ सडकको फापरखेतमा सामान्य वर्षा हुँदा पनि सडक अवरुद्ध हुने हुँदा पश्चिम म्याग्दीका बासिन्दाले सास्ती खेप्दै आएका तातोपानीका व्यवसायी हितबहादुर पुनले बताए।

अठार वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिराको जोखिम थियो। पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीय बताउँछन्। धवलागिरि, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको मालिका गाउँपालिका-६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए।

images

यसैगरी पश्चिम म्याग्दीका ग्रामीण सडक पनि अवरुद्ध भएका छन्। शनिबारदेखि लगातार पानी परिरहेकाले पश्चिम म्याग्दीको दरवाङ-बिम सडकबाहेक अन्य सडक अवरुद्ध हुँदा यात्रीले सास्ती भोग्नुपरेको मालिका गाउँपालिका-२ रुमका बेलबहादुर विकले जानकारी दिए।

बेनी-दरबाङ सडक पाखो र भिरको बीचमा खनिएको छ। सडकमुनि म्याग्दी नदी छ। 'सडकमाथिको भिरमा गेगरैगेगर छ। खोल्सामा पर्ने सडकमाथितर्फ पर्खाल बनाएर पहिरो रोक्ने प्रयास सफल भएको छैन', अध्यक्ष रोकाले भने, 'म्याग्दी नदीको किनारमा बनाइएका पक्की पर्खालले कटान रोकिएको छ।' उनका अनुसार सडकदेखि करिब दुई सयमाथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ।

पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नतिको काम रोकिएको र यातायात अवरुद्ध हुन नदिन डोजर तैनाथ राखेर पहिरो खस्दाबित्तिकै पन्छाउने गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले बताए। 'फापरखेत, लाम्पाटा र बांगेको पहिरो नियन्त्रणका लागि बायोइन्जिनियरिङसहितको छुट्टै काम गर्नुपर्छ', उनले भने, 'ठूलो पहिरो भएकाले लगानी पनि बढी आवश्यक पर्छ।'

सडक अवरुद्ध भएपछि पश्चिम म्याग्दीबाट सदरमुकाम बेनी हुँदै देशका विभिन्न ठाउँमा जाने यात्रु र यातायातका साधन सञ्चालन हुनसकेका छैनन्। देशका विभिन्न ठाउँबाट पश्चिम म्याग्दीका लागि आएका यातायातका साधन बीचबाटोमै अलपत्र परेका यातायात व्यवसायीले बताएका छन्। रासस


प्रकाशित : आइतबार, साउन २८ २०८००५:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend