आइतबार, असोज ६ गते २०८१    
images
images

बुढीगण्डकीदेखि कर्णाली चिसापानीलाई अगाडि बढाउनेबारे सरकारले छिट्टै ठोस निर्णय गर्छ : प्रधानमन्त्री दाहाल

images
शनिबार, साउन २७ २०८०
images
images
बुढीगण्डकीदेखि कर्णाली चिसापानीलाई अगाडि बढाउनेबारे सरकारले छिट्टै ठोस निर्णय गर्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले बुढीगण्डकीको प्रक्रिया सुरु गर्न कार्यालयको उद्घाटन र अब छिट्टै शिलान्यास गर्ने र त्यसलाई पनि अघि बढाउने योजना रहेको पनि बताए।

images
images

चितवन- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सिर्जना र क्षमता राष्ट्रका पक्षमा प्रयोग गर्न युवालाई अपिल गरेका छन्। चितवनको भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय युवा दिवस, २०२३ का अवसरमा आयोजना गरेको सप्ताहव्यापी समापन कार्यक्रममा आज उनले स्वदेश र विदेशमा रहेका लाखौँ युवालाई देशभित्रै विकास निर्माणका कार्यमा जुट्न आग्रह गरे।

images
images
images

प्रधानमन्त्री दाहालले आउने दिनमा नेपालले कोल्टे फेर्दै जाने र विकासले गति लिने विश्वास व्यक्त गरे। उनले भने, 'नेपालमा हर हालतमा सुशासन, बेथिति र भ्रष्टाचारको अन्त्य हुनैपर्छ, तल परेको समुदायलाई माथि ल्याउने कार्यक्रम ल्याउनुपर्छ।'

नेपाली युवाभित्र अन्तरनिहित सिर्जनात्मक क्षमता र प्रतिभालाई देशको आर्थिक विकास र समृद्धिका निम्ति कसरी सदुपयोग गर्ने भन्नेमा आफ्नो ध्यान गएको उनले बताए। प्रधानमन्त्री दाहालले भने, 'प्रधानमन्त्रीको हैसियतमा केही दिनदेखि लगातार नै विदेशमा जाने युवा श्रमिकको हकहितको संरक्षण कसरी गर्ने भन्ने विषयमा लागिरहेको छु।'

आफूले युवाका निम्ति योगदानमा आधारित सुरक्षा कार्यक्रम घोषणा गरेको उल्लेख गर्दै उनले त्यसमा आजसम्म आउँदा झन्डै तीन लाख विदेशमा रहेका श्रमिक आबद्ध भइसकेको जानकारी आफूलाई प्राप्त भएको बताए। विदेश जाने युवालाई सुरक्षित र सम्मानजनक कामका अवसरका लागि कसरी वातावरण निर्माण गर्ने भन्ने चुनौती रहेको उनको भनाइ थियो।

images

प्रधानमन्त्री दाहालले भने, 'जबसम्म देशभित्र नै युवाका निम्ति उपयुक्त रोजगारीको वातावरण बन्दैन, तबसम्म युवा पलायनको स्थिति रोकिँदैन।' प्रधानमन्त्रीको हैसियतले आफ्नो ध्यान रणनीतिक गृहकार्य गर्दै ठूला विकासका परियोजना कसरी देशभित्र विकास गर्ने भन्नेतर्फ केन्द्रित रहेको उनले बताए।

भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफ्नो गम्भीर कुराकानी भएको उल्लेख गर्दै उनले प्राकृतिक खेती या उत्पादन वृद्धि गर्ने सबै प्रविधिको सदुपयोग र सहकार्य गर्नेबारेमा केही समझदारी बनेको बताए। उनले भने, 'मैले नेपालको तर्फबाट एउट टोली छिट्टै भारत पठाउँदैछु। कृषि उत्पादन वृद्धि गर्नका निम्ति र सहकार्यका निम्ति।' नेपालमा मल कारखाना निर्माण गर्नेबारे सैद्धान्तिक सहमति गरेको उनले जानकारी दिए।

अहिले भारत र बंगलादेशसँग जलविद्युतका सम्बन्धमा सहमति भएको प्रधानमन्त्री दाहालले बताए। उनले भने, 'छिट्टै काठमाडौंमा विशेष समारोहसहित घोषणा गर्दैछौँ।' आफू इटाली जाँदा रोममा बंगलादेशका प्रधानमन्त्रीसँग कुरा हुँदा पनि नेपालको विद्युत् र कृषिका क्षेत्रमा लगानी गर्नसक्ने सम्भावनाबारे कुराकानी भएको उनले बताए।

प्रधानमन्त्री दाहालले भने, 'पहिलो पटक नेपालको इतिहासमा भारतको बाटो हुँदै बंगलादेशमा विद्युत् व्यापार गर्ने सहमति भएको छ।' आफू छिट्टै चीन भ्रमणमा जान लागेको उल्लेख गर्दै उनले चीन सरकार नेपालमा कृषि, पशुपालनसँगै ठूला आयोजनामा सहयोग गर्ने मनसायमा रहेको उनको भनाइ थियो।

भौतिक पूर्वाधार र विद्युतका क्षेत्रमा पनि केही नयाँ सहमति र समझदारी हुने स्थिति रहेको उनले बताए। 'हामीले जसरी भारतसँग क्रस बोडर ट्रान्समिटर लाइन बनाएर विद्युत् हामीलाई चाहिने उताबाट ल्याउने र धेरै हुँदा उता दिने भन्ने बनाएका छौँ। अब चीनसँग पनि रसुवा नाकाबाट क्रसबोर्डर ट्रान्समिटर लाइन बनाउने कुरामा सहमति हुनेछ', प्रधानमन्त्री दाहालले भने, 'चीन भ्रमणको समयमा त्यसमा हस्ताक्षर हुने विश्वास छ।'

आफू छिट्टै संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जान लागेको प्रधानमन्त्री दाहालले बताए। उनले भने, 'त्यतिबेला पनि नेपालको कृषि, उद्योग, पर्यटन व्यवसायको विकासका निम्ति नै हाम्रो ध्यान केन्द्रित हुनेछ।' अहिले ठूलाठूला परियोजनामध्ये बुढीगण्डकीदेखि कर्णाली चिसापानीलाई अगाडि बढाउनेबारेमा पनि सरकारले ठोस निर्णय गर्ने उनले बताए।

एउटै परियोजनाबाट १० हजार मेगावाट बिजुली उत्पादन गर्न सकियो भने गेम चेन्जर हुन्छ। उनले भने, 'नेपालको अर्थतन्त्रमा ठूलो क्रान्ति ल्याउने परियोजना हुन सक्छ।' बुढीगण्डकीको प्रक्रिया सुरु गर्न कार्यालयको उद्घाटन र अब छिट्टै शिलान्यास गर्ने र त्यसलाई पनि अघि बढाउने योजना रहेको प्रधानमन्त्री दाहालले बताए। सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको नारालाई मुख्य नारा बनाएर काम कारबाही अघि बढाएको उनले बताए। सुशासन मात्रै नभएर जनताका प्रत्यक्ष सरोकारका विषयलाई सहजीकरण गर्न पनि सरकारका तर्फबाट लगातार प्रयास भइरहेको उनले उल्लेख गरे।

प्रधानमन्त्री र सबै मन्त्रीको बीचमा कार्य सम्पादनको सम्झौता गरिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले हरेक महिना प्रधानमन्त्रीसामु कार्यप्रगति प्रस्तुत गर्नैपर्ने बनाइएको बताए। उनले भने, 'यी सबै पहलले परिणाम दिन थाल्ने छन्। बिस्तारै युवाका निम्ति देशभित्रै वातावरण बनाउने छ।'

कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले युवाका लागि महानगरपालिकाले विभिन्न काम गरेको उल्लेख गर्दै स्वदेशमै युवाले रोजगार पाउने अवस्थाको सिर्जना गर्न सबै लाग्नुपर्ने बताइन्। उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाले सप्ताहव्यापी कार्यक्रम गरेर युवामा ऊर्जा थपेको बताए।

सो अवसरमा थारु, तामाङ, मगर र बोटे संस्कृति झल्किने नाचगान प्रस्तुत गरिएको थियो। सप्ताहव्यापी कार्यक्रमका उत्कृष्टलाई पुरस्कृतसमेत गरिएको थियो। रासस


प्रकाशित : शनिबार, साउन २७ २०८००७:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend