आइतबार, असोज ६ गते २०८१    
images
images

बेनी-जोमसोम-कोरला सडकखण्ड पाँच दिनसम्म पूर्णरुपमा बन्द, कहिलेदेखि खुल्छ?

images
शनिबार, साउन २७ २०८०
images
images
बेनी-जोमसोम-कोरला सडकखण्ड पाँच दिनसम्म पूर्णरुपमा बन्द, कहिलेदेखि खुल्छ?

बैसरीको सडकमा खस्ने पहिरोको स्रोतसम्म डोजर लगेर रोकथामको काम गर्नका लागि सो अवधिका लागि घुमाउने ताल-बेगखोला खण्डमा पूर्णरुपमा यातायात बन्द गर्न लागिएको म्याग्दीका सहायक प्रजिअ धीरेन्द्रराज पन्तले जानकारी दिए।

images
images

म्याग्दी- म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरीमा पहिरो रोकथाम गर्न कालीगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडकखण्ड पाँच दिनका लागि पूर्णरुपमा बन्द गरिने भएको छ। 

images
images
images

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम-कोरला सडकखण्डअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिकाको राहुघाट-तातोपानी खण्डमा कालोपत्र भइरहेकाले बैसरीमा चट्टान काटी सडक चौडा तथा सडकमा कंक्रिट गरी सकिएको स्थानमा माथिबाट पहिरो जाने क्रम सुरु भएकाले सडक बन्द गर्न लागिएको हो।

उक्त सडकमा ढुंगा खस्ने समस्याको स्थायी निराकरणका लागि साउन २८ गते आइतबारदेखि साउन ३२ गते बिहीबारसम्म पाँच दिनका लागि सडकखण्ड पूर्णरुपमा बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले बैसरीको सडकमा खस्ने पहिरोको स्रोतसम्म डोजर लगेर रोकथामको काम गर्नका लागि सो अवधिका लागि घुमाउने ताल-बेगखोला खण्डमा पूर्णरुपमा यातायात बन्द गर्न लागिएको जानकारी दिए।

images

दैनिक जसो सडक आवागमन अवरुद्ध हुने गरेको र धनजनको समेत क्षति हुने सम्भावना रहेको हुनाले पहिरो सुरु हुने स्थानमा एस्काभेटर पुर्‍याइ पहिरो नियन्त्रण गर्नुपर्ने देखिएको तथा पहिरो सुरु हुने स्थानबाटै पहिरो नियन्त्रण गरी समस्याको स्थायी निराकण गर्ने काम भइरहेकाले उक्त सडकखण्ड सो अवधिमा बन्द हुने जारी सूचनामा उल्लेख छ। जिल्ला प्रशासन कार्यालय म्याग्दीले कालीगण्डकी करिडोरको चमेरे-बेगखोला सडकखण्डमा चल्ने हलुका सवारीसाधनहरुले सो समयमा चमेरे-राखु/पिप्लेबेगखोला सडकखण्डको वैकल्पिक कच्ची मार्ग प्रयोग गर्न समेत अनुरोध गरेको छ।

'वैकल्पिक कच्ची मार्ग ‘सिंगल  ट्रयाक’को भएको हुँदा बेगखोलाबाट चमेरेतर्फ (मुस्ताङबाट बेनी आउने हलुका सवारी साधन) आउने र चमेरेबाट बेगखोलातर्फ (बेनीबाट मुस्ताङतर्फ जाने हलुका सवारी साधन) जाने सवारी साधनले आलोपालो गरेर आवातजावत हुने व्यवस्था गरिएकाले स्थानीय सुरक्षाकर्मीको समन्वयमा मात्रै सो वैकल्पिक मार्ग प्रयोग गरिदिनु हुन सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ', जारी सूचनामा भनिएको छ।

बैसरीको पहिरोले गत आइतबारदेखि सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई आवतजावत गर्न समस्या भएको छ। बेनीदेखि पोखरेबगरतर्फ जाँदै गरेको ग१ज ६८२० नम्बरको जीप गुडिरहेको अवस्थामा बुधबार साँझ बैसरीमा पहिरो खसेर चालक अन्नपूर्ण गाउँपालिका-७ महभिरका ४० वर्षीय लुकजन शेरपुजा घाइते भएका थिए।

पहिरोले पुरेको जीप अझै निकालिएको छैन भने सवारी धनीसमेत रहेका शेरपुञ्जाको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रशासन कार्यालयले केही दिनअघि सूचना जारी गरेर बेनी-जोमसोम सडकको पहिरोबाट बढी प्रभावित राहुघाट-भुरुङ तातोपानी खण्डमा रातको समयमा यात्रा नगर्न अनुरोध गरेको थियो।

'सडकमा ढुंगा खस्ने समस्याको कारण दैनिकजसो यातायात अवरुद्ध हुनुका साथै सवारी साधन र यात्रुलाई चोटपटक लाग्ने र पुरिने जोखिम छ', बेनी-जोमसोम-कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले भने, 'पहिरो सुरु हुने स्थानबाटै दीर्घकालीन समाधानको काम गर्दैछौँ ।'

बैसरी खण्डको विकल्पमा जीप, मोटरसाइकल र ट्र्याक्टरलाई घुमाउनेताल-पिप्ले-रानीपौवा-रिसिनचौतारी-माझखर्क-बेगखोला जोड्ने वैकल्पिक सडक एकतर्फीरुपमा प्रयोग गर्ने व्यवस्था मिलाएको प्रशासनले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ।

कच्ची र साँघुरो वैकल्पिक सडकमा बेगखोलाबाट घुमाउनेतालतर्फ र घुमाउनेतालबाट बेगखोलातर्फ जाने आउने सवारी साधनलाई सुरक्षाकर्मीको समन्वयमा आलोपालो गरेर यातायात सञ्चालन गर्ने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ। 

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीको निर्देशनमा पूर्वाधार विकास कार्यालय म्याग्दीले शुक्रबारदेखि घुमाउनेताल-बेगखोला वैकल्पिक मार्गको मर्मतको काम सुरु गरेको छ।  

डोजर, ब्याकुहोलोडर, ट्र्याक्टर र मजदुर परिचालन गरेर हिलो पन्छाउने, ग्राभेल हालेर खाल्डाखुल्डी पुर्ने, खोलामा ह्युम पाइप राख्ने काम सुरु भएको कार्यालयका सब इन्जिनियर रविन चोखालले जानकारी दिए।

मुख्य सडक बन्द भएपछि सवारी साधनको चाप बढेको वैकल्पिक सडकमा आवतजावतलाई सुरक्षित र व्यवस्थित बनाउन मन्त्रालय, प्रशासन, बेनी-जोमसोम-कोरला सडक आयोजना र रघुगंगा गाउँपालिकासँग समन्वय गरेर मर्मत गर्न लागिएको गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारीले बताए। हिलोमा ग्राभेल बिछ्याउने र गाडी क्रस हुने ठाउँ बनाउने काम थालिएको छ। रासस


प्रकाशित : शनिबार, साउन २७ २०८००५:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend