आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

लगानीकर्ता झुक्याएको भन्दै कृषि विकास बैंकको नेतृत्वविरुद्ध कारबाही माग गर्दै धितोपत्र बोर्डमा उजुरी

मंगलबार, साउन २३ २०८०
लगानीकर्ता झुक्याएको भन्दै कृषि विकास बैंकको नेतृत्वविरुद्ध कारबाही माग गर्दै धितोपत्र बोर्डमा उजुरी

काठमाडौं- कृषि विकास बैंकले प्रतिसेयर आम्दानी बढाएर सूचना प्रकाशन गर्दा लगानीकर्ता ठगिएको भन्दै नेपाल धितोपत्र बोर्डमा उजुरी परेको छ। बैंकले गत २० गते शनिबार प्रकाशन गरेको वित्तीय विवरणमा प्रतिसेयर आम्दानी २०.६२ उल्लेख गरेको थियो।

आइतबार साउन २१ गते बैंकको दोस्रो बजारमा उल्लेख्य कारोबार भएको थियो। तर पुनः २२ गते अर्को सूचना प्रकाशन गरेर प्रतिसेयर आम्दानी १४.९२ रुपैयाँ रहेको विवरण सार्वजनिक गरेको थियो। जसका कारण सोझा लगानीकर्ता फसेको भन्दै बैंकका संचालक समितिका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, प्रमुख वित्त अधिकृत प्रेम कुमार श्रेष्ठ, वित्त तथा लेखा विभागका विभागीय प्रमुख मासु अधिकारीसहितलाई कारबाहीको माग गर्दै उजुरी परेको हो।

उजुरीमा आर्थिक लाभ लिएर सूचनामा तोडमोड गरेको आरोप समेत लगाइएको छ। उजुरीमा सोझा लगानीकर्तालाई फसाउने कार्य गरी धितो पत्र ऐन, २०६३ को परिच्छेद–९ को दफा ९१, दफा ९२ दफा ९७, दफा ९८ र दफा ९९ मा भएको व्यवस्था विपरित हुने गरी कार्य गरेको आरोप समेत लगाइएको छ।

बैंकको सेयरको मूल्यमा उल्लेख्य वृद्धी भइ कारोबार भएको कारण अझ बढी मूल्य बढ्न सक्ने भ्रम पैदा भएकोले बैंकको सेयर खरिद गर्दा सर्वसाधारण सोझा सेयर लगानीकर्ताहरुले आर्थिक क्षति व्यहोर्नु परेको आरोपसमेत उजुरीमा छ। 

आफ्नो अधिकारको चरम दुरुपयोग गरी बैकको साख र विश्वशनियतामा समेत गम्भीर असर पुर्‍याइ माथि उल्लेखित कसुरहरु गरेको हुँदा निजहरुलाई प्रमाण नष्ट गर्ने सम्भावना भएकोले तत्काल निलम्बन गरी धितोपत्र ऐन, २०६३ को परिच्छेद-९ को दफा १०१ मा निर्दिष्ट गरिएको व्यवस्था अनुसार हदै सम्मको कारवाहीको लागि माग गरिएको छ। 

उजुरीकर्ताले अर्थमन्त्रालय देखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्मलाई छानविन गर्न माग गरेको छ। 


प्रकाशित : मंगलबार, साउन २३ २०८००९:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend