आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

गएको साता ३६ अंकले घटेको सेयर बजारमा यो साता पहिलो कारोबारमै ३८ अंकको गिरावट

आइतबार, साउन २१ २०८०
गएको साता ३६ अंकले घटेको सेयर बजारमा यो साता पहिलो कारोबारमै ३८ अंकको गिरावट

काठमाडौं- गएको सातभर नै निरन्तर उतारचढावमा देखिएको सेयर बजार यो साता पहिलो कारोबार ओरालोतिर लागेको छ। नीतिगत साथ नमिलेको भन्दै संगठित लगानीकर्ता बेखुस रहेको बजारले उचाइतर्फ गति लिन सकेको छैन। 

गएको साता समग्रमा ३६.६४ अंकले घटेको बजार यो साता आइतबार ३८.३७ अंकले घटेर २०५१.४७ बिन्दुमा झरेको छ। १८ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा २ अर्ब ६८ करोड ७१ लाख ४८ हजार रूपैयाँको कारोबार भएको छ। आइतबारको कारोबारमा १९७ कम्पनीको सेयर मूल्य घटेको छ। 

मौद्रिक नीतिपछि लगातार घटिरहेको बजार पछिल्ला केही कारोबारमा भने उही बिन्दु वरपर अस्थिर बनिरहेको छ। बजारमा लगानीकर्ताले स्थायी सुधारको आधार नभटेकाले वृद्धितर्फ जान नसकेको विश्लेषकहरू बताउँछन्। 

गएको साता आइतबारको पहिलो कारोबारमा २६.१४ अंकले घटेको बजार सोमबार ५.८४ अंकले बढेर बजार २१०६.१८ बिन्दुमा पुगेको थियो। मंगलबार पुन: २८.५९ अंकले घटेर २०७७.५८ बिन्दुमा झरेको थियो। बुधबार ९.२५ अंकले बढेर बजार २०८६.८४ बिन्दुमा पुगेको थियो। बिहीबार ३ अंकको वृद्धि देखिँदै बजार २०८९.८४ बिन्दुमा पुगेको थियो।

अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्। लगातार बजारमा देखिएको उतारचढावले आत्तिएको समयमा मौद्रिक नीतिले पनि स्पष्ट विषय अगाडि नसार्दा लगानीकर्ताहरू अगाडि बढ्न नसकेको विश्लेषकहरू बताउँछन्।

प्राय सीमित लगानीकर्ताको घेराबन्दीमा परिरहने सेयर बजारमा लगानीकर्ताहरू अझै पर्ख र हेरको अवस्थामा नै छन्। बजार अहिले पुन: धरमरको स्थितिमा देखिएकाले लगानीकर्ताहरू अघि बढ्न डराइरहेको विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : आइतबार, साउन २१ २०८००९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend