आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

साउन २८ मा चिरख्वा हाइड्रोपावर र २९ मा सोनापुर मिनरल्सको आईपीओ आउँदै

आइतबार, साउन २१ २०८०
साउन २८ मा चिरख्वा हाइड्रोपावर र २९ मा सोनापुर मिनरल्सको आईपीओ आउँदै

सोनापुर मिनरल्सको आईपीओका लागि भदौ ११ गतेसम्म आवेदन दिन सकिनेछ भने चिरख्वाको आईपीओमा भदौ १० गतेसम्म आवेदन दिन सकिनेछ। सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ।

काठमाडौं- चिरख्वा हाइड्रोपावरले साउन २८ गतेदेखि आईपीओ निष्कासन गर्दैछ भने सोनापुर मिनरल्स एण्ड आयलले साउन २९ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ।

दुवै कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका आईपीओ निष्कासन गर्न लागेका हुन्। 

चिरख्वाले जारी पुँजी ४० करोड रूपैयाँको १० प्रतिशत अर्थात् ४ करोड रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ दरका ४ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो। उक्त सेयरका लागि भोजपुर जिल्लाका स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ८० लाख रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित दरका ८० हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतममा ५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

उक्त आईपीओमा भदौ १० गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले भने भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन्।

यस्तै सोनापुर मिनरल्सले जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रूपैयाँको ४० प्रतिशत अर्थात् १ अर्ब २३ करोड २० हजार रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ दरका १ करोड २३ लाख २०० लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो। सोमध्ये उद्योग प्रभावित क्षेत्र दाङ र रोल्पा जिल्लाका स्थानीय बासिन्दाहरूका लागि १०० रूपैयाँ अंकित मूल्यमा १२५ रूपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २२५ रूपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता सेयर निष्कासन गर्न लागेको हो।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १० लाख ७६ हजार २६८ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि १०० रूपैयाँ अंकित मूल्यमा १३७ रूपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रूपैयाँ ५८ पैसामा निष्कासन गर्नेछ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले अधिकतम १५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतममा १० लाख ७६ हजार २६८ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

आईपीओका लागि भदौ ११ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा स्थानीय बासिन्दाहरूले भने भदौ २६ गतेसम्म आवेदन दिन सक्नेछन्।  


प्रकाशित : आइतबार, साउन २१ २०८००९:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend