काठमाडौं- एकिकृत कारोबार शुरु गरेको लक्ष्मी सनराइज बैंक लिमिटेडले २ अर्ब २६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.४५ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५१ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।
बैंकको खुद ब्याज आम्दानी ४६.४५ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३.५० प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ३५.६५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ५८.८९ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको इम्पेरमेन्ट चार्ज ९१ करोड ५६ लाख रुपैयाँ रहेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य नाफा १ अर्ब ९३ करोड ७१ लाख रुपैयाँ रहेको छ। यस अनुसार बैंकको लाभांश क्षमता ८.९४ प्रतिशत रहेको छ।
नाफा बढेपनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ६६ पैसा घटेर १० रुपैयाँ ४४ पैसामा झरेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.५७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ५५ पैसा रहेको छ।
२१ अर्ब ६७ करोड २ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १५ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप ११२.३० प्रतिशत बढेको छ भने कर्जा लगानी १००.१३ प्रतिशत बढेको छ। निष्कृय कर्जा २.८१ प्रतिशत पुगेकाे छ।