आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

सेयर बजार यो साताभर धरमर, सुधारको आधार नदेखिँदा दोधारमा लगानीकर्ता

बिहीबार , साउन १८ २०८०
सेयर बजार यो साताभर धरमर, सुधारको आधार नदेखिँदा दोधारमा लगानीकर्ता

काठमाडौं- सेयर बजार यो सातभर नै निरन्तर उतारचढावमा देखिएको छ। मौद्रिक नीतिपछि लगातार घटिरहेको बजार पछिल्ला केही कारोबारमा भने उही बिन्दु वरपर अस्थिर बनिरहेको छ। बजारमा लगानीकर्ताले स्थायी सुधारको आधार नभटेकाले वृद्धितर्फ जान नसकेको विश्लेषकहरू बताउँछन्। 

यो साता बजार केही दिन सामान्य वृद्धि र बाँकी दिन ओरालो लाग्यो। समग्रमा यो साता बजार ३६.६४ अंकले घटेको छ। साउन पहिलो साता मौद्रिक नीति सार्वजनिक भएसँगै लगातार १२६ अंकले घटेर एकदिन सामान्य वृद्धितर्फ लागेको बजार मंगलबारको कारोबारमा पुन: घटेको थियो। बुधबार स्थिर देखिएको बजार बिहीबार पुन: उही अवस्थामा देखिँदै सामान्य वृद्धितर्फ लाग्यो।

बिहीबार ३ अंकको वृद्धि देखिँदै बजार २०८९.८४ बिन्दुमा पुगेको छ। ७६ कम्पनीको मूल्य बढ्दा १ अर्ब ७८ करोड १९ लाख रूपैयाँको कारोबार भएको छ। १३० कम्पनीको मूल्य घटेको छ। 

यो साता आइतबारको पहिलो कारोबारमा २६.१४ अंकले घटेको बजार सोमबार ५.८४ अंकले बढेर बजार २१०६.१८ बिन्दुमा पुगेको थियो। मंगलबार पुन: २८.५९ अंकले घटेर २०७७.५८ बिन्दुमा झरेको थियो। बुधबार ९.२५ अंकले बढेर बजार २०८६.८४ बिन्दुमा पुगेको थियो।

अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्। लगातार बजारमा देखिएको उतारचढावले आत्तिएको समयमा मौद्रिक नीतिले पनि स्पष्ट विषय अगाडि नसार्दा लगानीकर्ताहरू अगाडि बढ्न नसकेको विश्लेषकहरू बताउँछन्।

प्राय सीमित लगानीकर्ताको घेराबन्दीमा परिरहने सेयर बजारमा लगानीकर्ताहरू अझै पर्ख र हेरको अवस्थामा नै छन्। बजार अहिले पुन: धरमरको स्थितिमा देखिएकाले लगानीकर्ताहरू अघि बढ्न डराइरहेको विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : बिहीबार , साउन १८ २०८००९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend