शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

भारतमा बिजुली निर्यात गरेर २५ अर्ब कमाउने लक्ष्य तर पौने ३ अर्ब घाटा खाँदै निजी क्षेत्र

images
बिहीबार , साउन १८ २०८०
images
भारतमा बिजुली निर्यात गरेर २५ अर्ब कमाउने लक्ष्य तर पौने ३ अर्ब घाटा खाँदै निजी क्षेत्र
images
images

काठमाडौं- भारतले नेपालको बिजुली खरिदमा चासो नदिएपछि भदौदेखि झन्डै एक हजार मेगावाट खेर जाने भएको छ। साउन महिनादेखि दैनिक ७५२ मेगावाट बिजुली भारत निर्यात गर्ने भनिए पनि भारतले चासो नदिएसँगै अहिले ४५२ मेगावाटमै सीमित भएको छ।

images
images
images

गतवर्ष नै ४५२ मेगावाट कोटा दिइएको थियो। भारतमा निर्यात गर्न नसक्दा निजी क्षेत्रले उत्पादन गरेको बिजुली खेर जाने स्थिति बन्दा अर्बौं रुपैयाँ घाटा लाग्ने स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) ले प्रक्षेपण गरेको छ। 

images
images

भारतको विद्युत् व्यापार कम्पनी पीटीसी इन्डिया र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद-बिक्री सम्झौता (पीपीए) भइसकेको भएपनि कार्यन्वन नहुँदा ४५२ मेगावाट मात्रै बिजुली निर्यातको अवस्था रहेको छ। अहिले २८ सय उत्पादन भइरहेको छ। 

images
images

नेपालले रामनगर-गण्डक, रक्सौल-परवानीपुर, कटैया-कुसाह र कटैयाद्दकुसाह-२ गरेर चार अन्तरदेशीय प्रसारण लाइनबाट बिजुली भारतीय इनर्जी एक्सचेन्ज मार्केटमा पठाउने सहमति आएपनि पूरै खाका तयार नभएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले बताए।

अहिले ७ सय ५२ मेगावटको अनुमति भएपनि पठाउने क्षमता ४ सय ६० मेगावाटभन्दा बढी नभएको उनले बताए। ‘अहिले बाढीले कतिपय उत्पादन बन्द भएको तथा संरचनाको समस्याले ठूलो बिजुली निर्यात गर्ने अवस्था छैन, भदौदेखि ७ सयभन्दा बढी मेगावाट निर्यात हुने अपेक्षा छ,’ प्रवक्ता भट्टराईले भने। अहिले बिजुली नै नभएकोले दैनिक ७ सय मेगावाट बिजुली निर्यात गर्न सक्ने अवस्था नरहेको समेत भट्टराई बताउँछन्। 

नेपाल विद्युत् प्राधिकरणले भारतीय इनर्जी एक्सचेन्ज मार्केटमा बोलकबोलमार्फत ४ सय ५२ मेगावाट विद्युत् बिक्री गर्दै आएको छ। त्यसका लागि ४०० केभीको ढल्केवर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन प्रयोग भइरहेको छ। 

नेपालबाट ४५२ मेगावाट बिजुली अहिले दैनिक निर्यात भइरहेको छ। खपत १७ सय मेगावाट मात्रै हो। भारत निर्यात गर्न नसक्ने हो भने ७ सय मेगावाट भन्दा बढी दैनिक खेर जाने निश्चित छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा १० वर्षभित्र १० हजार मेगावाट बिजुली भारत निर्यात गर्नेगरी सम्झौता भइसकेको छ। 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो वर्ष १२ सय मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य रहेको बताउँदै आए पनि कार्यन्वयन हुनेमा आंशका जन्मिएको छ। नयाँ १४ वटा आयोजनाको बिजुली निर्यात गर्ने सूची भारत पुगिसकेको छ। गत वर्ष ११ अर्ब आम्दानी गरेको प्राधिकरणले यो वर्ष २५ अर्बको निर्यात गर्ने लक्ष्य राखेको छ।

२५ अर्बको बिक्री गर्ने अभियानमा लाग्दा निजी क्षेत्रको पौने ३ अर्ब गुम्दै

नेपाल विद्युत प्राधिकरणले २५ अर्ब रूपैयाँ आम्दानी गर्ने लक्ष्य राख्दा निजी क्षेत्रबाट उत्पादन भएका आयोजनामा धमाधम बिजुली कटौती भइरहेको छ। जसका कारण निजी क्षेत्रका २७६.९३ मेगावाट बिजुलीको खरिद नगर्ने जनाएको छ। जसका कारण २ अर्ब ७४ करोड रुपैयाँ नोक्सान हुने प्रक्षेपण निजी क्षेत्रको छ।

इप्पानका अनुसार १५ आयोजना झन्डै ५० प्रतिशत कटौती गर्न लगाइएको छ। गत वर्ष पनि प्राधिकरणले बिजुली खरिद नगर्दा १ अर्ब ३० करोड घाटा निजी क्षेत्रले व्यहोर्नु परेको थियो। निजी क्षेत्रले मात्रै झन्डै ८ सय मेगावाटभन्दा बढी उत्पादन गरिरहेका छन्। 

प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोशी, २९ मेगावाटको चमेलिया, ४४ मेगावाटको माथिल्लो भोटेकोशी लगायत आयोजनाको विद्युत् भारतीय बजारमा बिक्री गर्न दिन पटक-पटक अनुरोध पठाए पनि अहिलेसम्म भारतले चासो दिएको छैन। नेपालले ४५२ मेगावाटसम्म विद्युत् भारतीय बजारमा बिक्रीको अनुमति पाए पनि थप कम्तीमा ६७१ मेगावाट हाराहारीमा विद्युत् निर्यातको प्रस्ताव गरेर पनि अनुमति नपाउँदा निजी क्षेत्रको बिजुली खेर जाने स्थिति बनेको छ। 


प्रकाशित : बिहीबार , साउन १८ २०८०००:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend