ढोरपाटन- वरपर जंगलका साथै रिघा गाउँको छेउमै रहेको छ उदय रिघा बुद्ध विहार। उच्च पहाडमा आकर्षक शैलीले निर्माण भएको विहार निकै सुन्दर देखिने भएकाले पछिल्लो समय यो स्थल आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ।
बाह्र वर्ष अगाडि शिलान्यास गरिएको विहार केही महिना अगाडि मात्रै सञ्चालनमा आएको हो। विहार सञ्चालनमा आएपछि दैनिक आन्तरिक पर्यटक घुम्न आउन थालेका हुन्। उच्च पहाडी हावापानी, शान्त वातावरण र चिरविर चराचुरुंगीको आवाजले आगन्तुकलाई थप आकर्षित गर्छ। मध्यपहाडी लोकमार्गदेखि आधा घण्टाको उकालो यात्रामा पुग्न सकिने बुद्ध विहार नजिकै रिघा गाउँ छ। मौलिक गाउँका रुपमा परिचित गाउँवासीले पर्यटकलाई आकर्षित गरेकै थियो, त्यसमाथि नवनिर्मित बुद्ध विहारका कारण दैनिक घुम्न आउने आगन्तुकको संख्या बढ्न थालेको हो।
उक्त गाउँ र बुद्ध विहारसँगै यस ठाउँबाट देखिने अनगिन्ती दृश्यले पर्यटकलाई मोहित गराउँछ। कच्ची सडक हुँदा यात्रामा केही कठिनाइ भए पनि विहार क्षेत्रमा पुग्दा धेरैको थकान, भोक र प्यास मेटिन्छ। प्रचारप्रसार नहुँदा यो क्षेत्र ओझेलमा परेको विहार व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर घर्ती काउचाले बताए।
विहार क्षेत्र प्राकृतिक सौन्दर्यको हिसाबले निकै मनोरम भएर पनि आवश्यक पूर्वाधार निर्माण हुन नसकेको उनको भनाइ थियो। अध्यक्ष काउचाले लामो समयको मेहनतपछि अहिले विहार सञ्चालनमा आएको सुनाउँदै अब यसको प्रचारप्रचारमा लाग्नुपर्ने बताए। 'रिघा आफै पनि पर्यटकीय ठाउँ हो, यहाँको सुन्दरता र मौलिकता ओझेलमा पर्यो, अहिले केही परिर्वतन हुन थालेको छ, प्रचार हुन थालेको छ, त्यही भएर पनि होला मान्छेहरु पनि आउन थालेका छन्,' उनले भने, 'धार्मिक आस्था राख्नेहरू पनि प्रवचन सुन्न आउने गर्छन् भने, अरुहरू फोटो तथा भिडियो खिचेर जान्छन्, पहिले खासै मान्छे आउँदैनथे, अहिले दिनदिनै आउने गरेको पाएको छु, रिघामा आउने धेरैजसो बुद्ध विहारसम्म जान्छन्।'
बुद्ध विहार स्थानीयवासीको जनश्रमदानसहित करिब एक करोडको लागतमा निर्माण भएको हो। करिब १५ रोपनी क्षेत्रफलमा फैलिएको विहारलाई प्रवर्द्धनका लागि हरेक वर्ष बजेट विनियोजन गरेर काम गरिँदै आइएको गलकोट नगरपालिका-११ का अध्यक्ष डम्मर श्रीसले बताए।
केही समय अगाडिसम्म गुमनामजस्तै रहेको यस क्षेत्रबारे अहिले प्रचार हुन थालेको भन्दै अब गलकोट क्षेत्रझै महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य बन्नसक्ने उनको भनाइ थियो। अब विहार क्षेत्रमा पर्यटक बढाउन पदमार्ग, प्रतिक्षालय, खानेपानी व्यवस्थापन बगैँचा र पोखरी निर्माण गरिने र वरपरका क्षेत्रलाई पिकनिक स्पटका रुपमा विकास गरिने वडाध्यक्ष श्रीसले उल्लेख गरे। चालु आर्थिक वर्षमा गण्डकी प्रदेशबाट १५ लाख रूपैयाँ विनियोजन भएकाले यसबाट विहारको तला थपिने र बगैँचा पनि निर्माण गरिने उनले जानकारी गराए।
हाल यस क्षेत्रमा वृक्षरोपण भइरहेको छ। राष्ट्रिय लोकमार्ग नजिकै रहेको हुँदा यस क्षेत्रमा विदेशीका साथै धार्मिक पर्यटक पनि आउने सम्भावना रहेको छ। अहिले विहारमा बौद्ध दर्शनका बारेमा प्रवचन दिइनाका साथै बेलाबेलामा भिक्षु आउने गरेका छन्।
लोकमार्गदेखि विहारसम्म पुग्ने सडक अप्ठ्यारो रहेको हुँदा यसलाई व्यवस्थित गर्न प्रदेश र केन्द्र सरकारसँग सहयोग मागिने वडाध्यक्ष श्रीसले बताए। 'रिघा गाउँ र बुद्ध विहारलाई जोडेर ‘पयटकीय हब’ का रुपमा विकास गर्ने योजना बनाएका छौँ, यहाँको कला, संस्कृति, परम्परा र प्राकृतिक सौन्दर्यलाई अब देश विदेशसम्म फैलाउनु छ,' उनले भने, 'यहाँ भौतिक पूर्वाधार निर्माण गर्ने चरणमा छौँ, हरेक वर्ष काम पनि भइरहेको छ, यहाँ आउने सडक अलिकति अप्ठ्यारो छ, यसलाई व्यवस्थित गर्नका लागि पनि माथिल्लो निकायसँग आग्रह गरेका छौँ, पहिलेको तुलनामा अहिले आन्तरिक पर्यटकको आगमन बढेको छ।' रासस