शनिबार, असोज ५ गते २०८१    
images
images

गत वर्षजस्तो यस वर्ष मलको अभाव छैन, २८४ मेट्रिक टन मौज्दात छ : कृषिमन्त्री भुसाल

images
सोमबार, साउन १५ २०८०
images
images
गत वर्षजस्तो यस वर्ष मलको अभाव छैन, २८४ मेट्रिक टन मौज्दात छ : कृषिमन्त्री भुसाल

चालु आवका लागि ३० अर्ब रूपैयाँ बजेट विनियोजन भएको कृषिमन्त्री बेदुराम भुसालले जानकारी दिए।

images
images

काठमाडौं- कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसालले अहिले रासायनिक मल अभाव नरहेको बताएका छन्। प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको आजको बैठकमा उनले मल अभाव नरहेको जानकारी दिँदै वितरणमा केही समस्या देखिएको हुनसक्ने बताए।

images
images
images

'हाल दुई सय ८४ मेट्रिक टन रासायनिक मल मौज्दात छ। गत वर्षजस्तो यस वर्ष अभाव छैन', मन्त्री भुसालले भने, 'संघीय सरकारले आयात गरेर वितरणको जिम्मा स्थानीय तहलाई दिएको छ। स्थानीय तहअन्तर्गत वितरणको जिम्मा पाएका सहकारी संस्थाले राम्रोसँग वितरण नगरेका गुनासा आउने गरेका छन्।' उनका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा मल खरिद गर्न सरकारले कुल ३८ अर्ब रूपैयाँ बजेट विनियोजन गरेकामा ३३ अर्ब रूपैयाँ बराबरको मल आपूर्ति गरेको थियो।

चालु आवका लागि ३० अर्ब रूपैयाँ बजेट विनियोजन भएको कृषिमन्त्री भुसालले जानकारी दिए। गत आवमा खरिद भएको २५ हजार मेट्रिक टनबाहेक सबै नेपाल भित्रिसकेको उनले बताए। चालु वर्षको आगामी पुससम्म चाहिने मलका लागि ठेक्का प्रक्रिया अघि बढाइसकेको उल्लेख गर्दै मन्त्री भुसालले सरकारले ल्याउने मल गुणस्तरीय रहेको दाबी गरे।

समयमा मल आयात हुन नसकेर अभाव सिर्जना भएको जिकिर गर्दै उनले यसको प्रमुख कारण स्थानीय सरकारले समयमा बजेट नपाउनु पनि रहेको बताए। 'समयमा मल नआउनुको मुख्य कारण समयमा बजेट नपाउनु हो। मल आयात गर्न कम्तीमा दुई सय २७ दिन लाग्दो रहेछ', उनले भने, 'यति लामो समय लाग्ने खरिद र ढुवानी प्रक्रियाका लागि समयमा बजेट पाइएन भने समस्या हुन्छ।'

images

विश्वका धेरैजसो मुलुकले रासायनिक मल प्रतिस्थापन गरेर जैविक तथा प्रांगारिक मलसहित प्राकृतिक कृषि प्रणाली अवलम्बन गरिरहँदा नेपालले रासायनिक मल कारखाना खोल्ने वा नखोल्नेबारे स्पष्ट धारणा बनाउन सक्नुपर्ने कृषिमन्त्री भुसालको भनाइ छ। तराईका विभिन्न जिल्लामा वर्षा नहुँदा साउन मध्यसम्ममा देशभर करिब ७७ प्रतिशत मात्रै रोपाइँ सकिएको जानकारी दिँदै उनले यस वर्ष धान उत्पादन कम हुनसक्ने अनुमान गरे।

अर्थ समितिको आजको बैठकमा किसानलाई सहज रुपमा रासायनिक मल उपलब्ध गराउने विषयमा छलफल भएको थियो। समितिको बैठकले अल्पकालीन रुपमा मल अभावको समस्या समाधानका लागि पर्याप्त मल आयात गर्न, ढुवानी तथा वितरणलाई प्रभावकारी बनाउने र दीर्घकालीन रुपमा समस्या समाधानका लागि कारखाना खोल्नका लागि भइरहेको प्रक्रियाबारे सम्बन्धित निकायसँग जानकारी लिएको थियो।

अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय र लगानी बोर्डको कार्यालयले रासायनिक मलको माग तथा आपूर्तिको अवस्था र कारखाना खोल्ने विषयमा हालसम्म भएका प्रगतिबारे समितिलाई जानकारी गराएका हुन्।

ज्येष्ठ सदस्यका रुपमा समितिको सभापति रहनुभएका विनोदकुमार चौधरीले रासायनिक मल खरिदका लागि पर्याप्त बजेट रहेरनरहेको, विनियोजित बजेट अनुसार खरिद प्रक्रिया अघि बढे/नबढेको, खरिद भएको मल ढुवानी भए/नभएको र गोदाममा पुगिसेकेको मल वितरणको अवस्थाबारे सन्बन्धित निकायमार्फत जानकारी माग गरिने बताए।

'रासायनिक मलमा अहिलेको बजार माग कति हो र त्यो कहाँबाट कसरी पूर्ति गर्ने हो भनेर अर्थ र कृषि मन्त्रालयलाई जवाफ माग गर्नेबारे समितिमा छलफल भयो। मल अभाव नहुनेगरी वितरणको ‘रोडम्याप’ पनि मन्त्रालयहरुसँग माग गर्ने भनेका छौँ', उनले भने। यी प्रस्ताव माथि अर्थ समितिले थप छलफल गरेर सम्बन्धित निकायलाई निर्देशन दिने उनले बताए।

समितिको आजको बैठकमा सांसदहरु ज्ञानेन्द्रबहादुर कार्की, सोमनाथ अधिकारी, मुक्ताकुमारी यादव, नारायणप्रसाद आचार्य, पूर्णबहादुर तामाङ, मेटमणि चौधरी, जुलीकुमारी महतो, अम्मरबहादुर रायमाझी, छिरिङ डम्डुल लामा (भोटे) लगायतले रासायनिक मल हरेक वर्षको समस्या रहेकाले यसलाई दीर्घकालीन रुपमा समाधान गर्नुपर्नेमा जोड दिएका थिए। रासस


प्रकाशित : सोमबार, साउन १५ २०८०११:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend