सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

ठूला ऋणीले लिएको ऋण दुरुपयोगलाई ध्यानमा राखेर निगरानी बढाउन लागेका हौँ : गभर्नर अधिकारी

आइतबार, साउन ७ २०८०
ठूला ऋणीले लिएको ऋण दुरुपयोगलाई ध्यानमा राखेर निगरानी बढाउन लागेका हौँ : गभर्नर अधिकारी

काठमाडौं- नेपाल राष्ट्र बैंकले ठूला ऋणीले लिएको ऋण दुरुपयोगलाई ध्यानमा राखेर ठूला र बल्क कर्जामाथिको निगरानी बढाउने विषय मौद्रिक नीतिमार्फत ल्याएको गभर्नर महाप्रसाद अधिकारीले बताएका छन्।  

राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत एकै ठाउँमा कर्जा थुप्रिने अहिलेको प्रवृत्तिलाई नियन्त्रण गर्नका लागि नियमन तथा नीति तर्जुमा गर्ने घोषणा गरेको हो। 

'नेपाल राष्ट्र बैंकले छानबिन गर्नेभन्दा पनि नियमन गर्ने भएकाले ठूला ऋणीले लिएको ऋण दुरुपयोगलाई केन्द्रित गरेका हौँ' मौद्रिक नीति सार्वजनिक कार्यक्रमपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, 'ऋण लिनु गल्ती होइन तर ऋण लिएर दुरुपयोग गरेको विषयमा नियमन व्यवस्थित गर्न लागेका हौँ।'

पछिल्लो समय बैंकिङ प्रणालीबाट निजी क्षेत्रमा गएको कर्जा सीमित व्यवसायीको हालीमुहाली भएको र साना तथा मझौला उद्यमीले ऋण नपाएको गुनासो बढिरहेको थियो। यस्तोमा राष्ट्र बैंकले ठूला र बल्क कर्जामाथिको निगरानी बढाउने भएको हो।

अहिले साना ऋणीलाई मुख्य प्राथमिकता दिन खोजिएको पनि गभर्नर अधिकारीले बताएका छन्। चालु पुँजी कर्जामा केही व्यवस्थामा संशोधन गर्दै लैजाने र बैंकर्सहरूसँग बसेर थप व्यवस्थित बनाएर लैजाने पनि उनले बताए। 'संशोधन भनेको त्यसमा आधारभूत विषय संशोधन गर्ने होइन, व्यवसाय सहज बनाउन खोजिएको हो' उनले भने। 


प्रकाशित : आइतबार, साउन ७ २०८०१०:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend