आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

कर्जाको जोखिम भार पुनरावलोकन गर्ने घोषणाले सेयर बजारमा उछाल, ४ अर्ब ३७ करोडको कारोबार

आइतबार, साउन ७ २०८०
कर्जाको जोखिम भार पुनरावलोकन गर्ने घोषणाले सेयर बजारमा उछाल, ४ अर्ब ३७ करोडको कारोबार

काठमाडौं- सेयर बजारको कारोबार चलिरहँदा आइतबार नेपाल राष्ट्र बैंकले सेयर कर्जाको जोखिम भार पुनरावलोकन गर्ने घोषणासहित मौद्रिक नीति सार्वजनिक गरेसँगै उचालिएको बजारमा ६३.२४ अंकको वृद्धि भएको छ। 

आइतबार दिउँसो १ बजेर २० मिनेटसम्म धरमर गरिरहेको बजार मौद्रिक नीति सार्वजनिक भएसँगै वृद्धितर्फ लागेको थियो। ६३.२४ अंकले बढेर बजार २२२७.१६ बिन्दुमा पुगेको छ। १९९ कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार रूपैयाँको कारोबार भएको छ। 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षदेखि सेयर धितोमा जाने कर्जा, घर जग्गा तथा हायर पर्चेजमा जाने कर्जाको जोखिम भार पुनरावलोकन गर्ने घोषणा गरेसँगै लगानीकर्ता आशावादी भएको विश्लेषकहरूले बताएका छन्। मौद्रिक नीतिमा घर जग्गा र सेयर बजारको विषयलाई प्राथमिकताका साथ हेरिँदै आइएको थियो। यी क्षेत्रमा १५० प्रतिशतको जोखिम भार १०० प्रतिशत ल्याउन तीव्र लबिङ भएको थियो। 

अर्थतन्त्रका सबै पाटा केलाउँदै सरकारले सार्वजनिक गर्ने वित्तीय नीतिलाई पनि आधार बनाएर मौद्रिक नीतिले अर्थतन्त्रको सन्तुलन कायमै राख्नका लागि नीति तर्जुमा गर्ने काम गर्छ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले निर्दिष्ट गरेबमोजिम मूल्य र शोधनान्तर स्थिरता कायम गर्ने मुख्य उद्देश्यका साथ तर्जुमा गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा सेयर कर्जाको जोखिम भार पुनरावलोकन गर्ने घोषणा गरेको हो।


प्रकाशित : आइतबार, साउन ७ २०८००९:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend