काठमाडौं- नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले ४२.७१ प्रतिशतले नाफा बढाएको छ। गएको वर्ष निफ्राले १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष १ अर्ब २ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र खुद फि तथा कमिसन आम्दानी बढेसँगै बैंकको नाफा बढेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४४.७५ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १३६.३७ प्रतिशत बढेको छ। त्यसैगरी बैंकको कुल सञ्चालन नाफा ४५.२१ प्रतिशत बढेको छ भने सञ्चालन नाफा ४२.६८ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा १ अर्ब ५ करोड ४९ लाख रुपैयाँ रहेको छ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ २ पैसा बढेर ६ रुपैयाँ ७६ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३३.१६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ५७ पैसा रहेको छ।
गत असार मसान्तसम्ममा २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब २८ करोड ३२ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप १०३.५७ प्रतिशत बढेको छ भने कर्जा २९.६१ प्रतिशत बढेको छ।