आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

सेयर बजारमा यो साता ७९ अंकको वृद्धि, हौसिएका लगानीकर्तालाई मौद्रिक नीतिले साथ देला?

बिहीबार , साउन ४ २०८०
सेयर बजारमा यो साता ७९ अंकको वृद्धि, हौसिएका लगानीकर्तालाई मौद्रिक नीतिले साथ देला?

काठमाडौं- सेयर बजारमा साताको अन्तिम कारोबार स्थिर देखिएको छ। सातामा यसअघिका सबै कारोबार हरियाली रहे पनि अन्तिम कारोबारमा केही 'करेक्सन' आएको हो। सातामा चार दिनको कारोबारमा ८०.३१ अंकको वृद्धि भएको बजार बिहीबार १.३१ अंकले घटेको हो।

उतारचढावमा रहँदै धरमर गरिएको बजारमा यो साताको निरन्तर वृद्धि बिहीबार भने 'ब्रेक' भयो। नेपाल राष्ट्र बैंकले आगामी साता मौद्रिक नीति ल्याउने तयारी गरिरहँदा सेयर बजारका लगानीकर्ताहरू नीतिगत साथ पाउने अपेक्षामा छन्। 

बिहीबार १.३१ अंकले घटेर बजार २१६३.९२ बिन्दुमा झरेको छ। ८८ कम्पनीको सेयर मूल्य बढेको बजारमा ३ अर्ब ५ करोड रूपैयाँको कारोबार भएको छ। बिहीबार १२३ कम्पनीको सेयर मूल्य घटेको छ। ६ कम्पनीको मूल्यमा परिवर्तन भएन। 

यो साता आइतबार ‍‍१२.१६ अंकले बढेको बजारमा सोमबारसमेत व्यापक वृद्धि देखिएको थियो। सोमबार ४७.०७ अंकले बढेको बजारमा मंगलबार ९.९१ अंकले बढेर २१५४.०७ बिन्दुमा पुगेको थियो। बुधबार ११.१७ अंकले बढेर बजार २१६५.२४ बिन्दुमा पुगेको थियो। 

अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्। सेयर बजारमा जाने ऋणलाई खुकुलो बनाउन राष्ट्र बैंकमाथि दबाब बढिरहेको छ। सेयर बजारले अन्य वित्तीय अवस्थामा समेत असर पारिरहेको आँकलन गर्दै राष्ट्र बैंकले केही खुकुलो नीति लिने अपेक्षा संगठित लगानीकर्ताहरूको रहेको छ। 

अर्थतन्त्रका सबै पाटा केलाउँदै सरकारले सार्वजनिक गर्ने वित्तीय नीतिलाई पनि आधार बनाएर मौद्रिक नीतिले अर्थतन्त्रको सन्तुलन कायमै राख्नका लागि नीति तर्जुमा गर्ने काम गर्छ। जसमा मौद्रिक नीतिका व्यवस्थाले सेयर बजार प्रत्यक्ष प्रभावित हुने गर्छ। यसैले पनि यसपटक मौद्रिक नीतिले साथ दिन्छ कि दिँदैन भन्ने पर्खाइमा लगानीकर्ता रहेको विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : बिहीबार , साउन ४ २०८००९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend