आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

सरकारले एक वर्षमा ब्याजबाट उठायो ३२ अर्ब ८९ करोड कर

आयात घटेपनि आन्तरिक उत्पादनमा लाग्ने भ्याट र अन्त:शुल्क ऋणात्मक भएन 

बिहीबार , साउन ४ २०८०
सरकारले एक वर्षमा ब्याजबाट उठायो ३२ अर्ब ८९ करोड कर

समग्रमा २ खर्ब २९ अर्ब ३४ करोड आयकर विभागले संकलन गरेको छ। यो अघिल्लो वर्षको तुलनामा ७ प्रतिशत न्यून हो। बैंक तथा वित्तीय संस्थाको नाफा खुम्चिएको, सेयर बजार र घरजग्गाको कारोबार घट्दा आयकर ऋणात्मक भएको हो। 

काठमाडौं- गत आर्थिक वर्ष लक्ष्यअनुसारको राजस्व संकलनमा असफल भएको सरकारले अघिल्लो वर्षकोभन्दा पनि न्यून संकलन गरेको छ। 

आन्तरिक राजस्व विभाग तथा भन्सार विभागले लक्ष्यअनुसार राजस्व संकलन गर्न असफल भएका छन्। भन्सार विभागको राजस्व अघिल्लो वर्षको तुलनामा २२ प्रतिशतले ऋणात्मक भएको छ भने आन्तरिक राजस्व विभागले करिब १ प्रतिशतले ऋणात्मक भएको छ। 

समग्र राजस्व ऋणात्मक हुँदा पनि आन्तरिकतर्फको राजस्वमा भने केही शीर्षकमा गत वर्षको तुलनामा बढेको छ। सबैभन्दा धेरै ब्याजकरबाट संकलन हुने आयकर वृद्धि भएको छ। आन्तरिक राजस्व विभागका अनुसार ब्याजकर अघिल्लो वर्षको तुलनामा ३३ प्रतिशतले बढेको छ। 

आर्थिक वर्ष २०७९/८० मा सरकारले ब्याजमा लाग्ने कर ३२ अर्ब ८९ करोड रुपैयाँ संकलन गरेको छ। जब कि अघिल्लो वर्ष यही शीर्षकमा २४ अर्ब ७२ करोडमात्र संकलन भएको थियो। 

बैंक तथा वित्तीय संस्था वा कुनै पनि निक्षेप लिने तथा ब्याज दिने गरी अनुमति पाएका संस्थाहरूले ब्याज भुक्तानी गर्दा अग्रिम कर कट्टी गर्नुपर्छ। आयकर ऐनले ब्याजकरलाई पनि करयोग्य आम्दानीको स्रोतका रुपमा व्याख्या गरेको छ। 

वार्षिकरुपमा २५ हजारसम्मको ब्याजलाई भने कर छुट दिइएको छ। त्यसमाथिको ब्याज आम्दानीमा १५ प्रतिशतसम्म कर लाग्ने व्यवस्था छ। 

बासिन्दा बैंक, वित्तीय संस्था वा ऋणपत्र जारी गर्ने अन्य कुनै निकाय वा प्रचलित कानून बमोजिम सूचिकृत भएका कम्पनीले निक्षेप, ऋणपत्र, डिबेन्चर तथा सरकारी बण्डबापत नेपालमा स्रोत भएको र व्यवसाय सञ्चालनसँग सम्बन्धित नभएको ब्याज वा ब्याज स्वरुपको कुनै रकम भुक्तानी गरेमा प्राकृतिक व्यक्तिको हकमा ६ प्रतिशतका दरले र निकायको हकमा १५ प्रतिशतका दरले अग्रिम कर कट्टी गर्नुपर्छ।

आयात घटेकोमात्र होइन धेरै राजस्व संलकन हुने वस्तुको आयात संकुचित हुँदा भन्सारको राजस्व प्रभावित भएको छ। आयातित वस्तुमा लाग्ने अन्त:शुल्क र भ्याट घटेपनि आन्तरिक उत्पादनमा लाग्ने कर भने बढेको छ।

आर्थिक वर्ष २०७९/८० मा सरकारले आन्तरिक उत्पादनमा लाग्ने भ्याट १ खर्ब १७ अर्ब २० करोड रुपैयाँ संकलन गरेको छ। अघिल्लो वर्ष यसमा १ खर्ब १५ अर्ब ९० करोड संकलन भएको थियो। त्यस्तै आन्तरिक उत्पादनमा लाग्ने अन्त:शुल्क पनि गत वर्षको तुलनामा १ प्रतिशतले बढेर १ खर्ब ३ अर्ब पुगेको छ। 

त्यस्तै गएको वर्ष सरकारले स्वास्थ्य सेवा करबाट ६७ अर्ब र शिक्षाबाट २० अर्ब कर उठाएको छ। 

समग्रमा २ खर्ब २९ अर्ब ३४ करोड आयकर विभागले संकलन गरेको छ। यो अघिल्लो वर्षको तुलनामा ७ प्रतिशत न्यून हो। बैंक तथा वित्तीय संस्थाको नाफा खुम्चिएको, सेयर बजार र घरजग्गाको कारोबार घट्दा आयकर ऋणात्मक भएको हो। 


प्रकाशित : बिहीबार , साउन ४ २०८००५:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend