मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा उत्साहप्रद वृद्धि, 'नीतिगत साथ मिले अब उचाइतर्फ'

सोमबार, साउन १ २०८०
नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा उत्साहप्रद वृद्धि, 'नीतिगत साथ मिले अब उचाइतर्फ'

काठमाडौं- नेपाल राष्ट्र बैंकले यसै साता मौद्रिक नीति ल्याउने तयारी गरिरहँदा सेयर बजारका लगानीकर्ताहरू नीतिगत साथ पाउने अपेक्षामा देखिएका छन्। जसले नयाँ आर्थिक वर्षको पहिलो दिन नै सेयर बजारमा हरियाली छाएको छ।

यो साता आइतबार ‍‍१२.१६ अंकले बढेको बजारमा सोमबारसमेत व्यापक वृद्धि देखियो। सोमबार ४७.०७ अंकले बढेर बजार २१४४.१६ बिन्दुमा पुगेको छ। २०० कम्पनीको सेयर मूल्य बढ्दा २ अर्ब ५६ करोड रूपैयाँको कारोबार भएको छ। १३ कम्पनीको सेयर मूल्य घट्दा ४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

आइतबार ‍‍१२.१६ अंकले बढेर बजार २०९७.०९ बिन्दुमा पुगेको थियो। जहाँ ९३ कम्पनीको सेयर मूल्य बढेको बजारमा २ अर्ब ३७ करोड ६४ लाख २७ हजार रूपैयाँको कारोबार भएको थियो। अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्।

त्यसअघि गएको साताभर सेयर बजारमा उतारचढाव देखिएको थियो। उचाइतर्फ जाने संकेत गरेको सेयर बजार पुन: उतारचढावकै अवस्थामा देखिँदा लगानीकर्ता मौद्रिक नीतिको पर्खाइमा देखिएका छन्। अहिलेको अवस्थामा लगानीकर्ताहरू पर्ख र हेरको सोचमा रहेको र मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा रहेको विश्लेषकहरू बताउँछन्। नीतिगत साथ मिले अब बजार पुन: उचाइतर्फ लाग्ने उनीहरूको भनाइ छ। 

अर्थतन्त्रका सबै पाटा केलाउँदै सरकारले सार्वजनिक गर्ने वित्तीय नीतिलाई पनि आधार बनाएर मौद्रिक नीतिले अर्थतन्त्रको सन्तुलन कायमै राख्नका लागि नीति तर्जुमा गर्ने काम गर्छ। जसमा मौद्रिक नीतिका व्यवस्थाले सेयर बजार प्रत्यक्ष प्रभावित हुने गर्छ। यसैले पनि यसपटक मौद्रिक नीतिले साथ दिन्छ कि दिँदैन भन्ने पर्खाइमा लगानीकर्ता रहेको विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : सोमबार, साउन १ २०८००९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend