शनिबार, मंसिर ८ गते २०८१    
images
images
आर्थिक वर्ष २०७९/०८०

एक वर्षमै थपिए १० होटलमा क्यासिनो, कुन होटलमा कुन क्यासिनो?

पोखराका तीन होटल र भोटेकोशी हेली रिसोर्टमा समेत क्यासिनो

images
सोमबार, साउन १ २०८०
images
images
एक वर्षमै थपिए १० होटलमा क्यासिनो, कुन होटलमा कुन क्यासिनो?
images
images

काठमाडौं- गत वर्ष २०७९/०८० मा विभिन्न होटलमा क्यासिनो सञ्चालनका लागि ९  वटा कम्पनी दर्ता भएका छन्। जसमा पहिलोपटक चिनियाँ पर्यटकलक्षित चिनियाँ सीमानजिक रहेको सिन्धुपाल्चोकका साथै पर्यटकीय सहर पोखरामा समेत क्यासिनो सञ्चालनका लागि दर्ता भएका छन्।

images
images
images

पोखराको फूलबारी रिसोर्ट बन्दसँग क्यासिनो पनि बन्द भएको थियो। फूलबारी रिसोर्ट बन्द भएको दशकपछि एकै वर्षमा पोखरामा तीन वटा क्यासिनो सञ्चालनका लागि कम्पनी दर्ता भएका छन्।

images

फूल क्यासिनो सञ्चालनका लागि पाँचतारे होटल वा सोभन्दा माथिको होटल चाहिन्छ। आधुनिक उपकरण तथा मेसिनमार्फत खेलाइने मिनि क्यासिनोका लागि भने चारतारे होटल चाहिन्छ। क्यासिनो सञ्चालनको हब सीमा नाकाका होटलहरू भइरहेको बेला पोखरामा भारतीय पर्यटक र सिन्धुपाल्चोकमा चिनियाँ पर्यटकका लागि लक्षित गर्दै क्यासिनो दर्ता भएका छन्।

images

क्यासिनो सञ्चालनका लागि होटलले सहमति दिनु पर्छ। होटलको सहमतिपछि पर्यटन विभागमा आवेदन दिनु पर्छ। पर्यटन विभागको सिफारिसमा क्यासिनो कम्पनी उद्योग विभागमा दर्ता भएपछि विभागले पूर्वस्वीकृति दिँदै अन्तिम स्वीकृतीका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाउँछ। मन्त्रालयमा गठन भएको समितिले अध्ययन गरेर मन्त्रीसमक्ष लाइसेन्सका लागि सिफारिस गर्छ। त्यसपछिमात्रै क्यासिनो सञ्चालनका लागि लाइसेन्स पाउँछन्। 

अब नेपालमा तीन दर्जन होटलमा क्यासिनो सञ्चालन हुने भएको छ। त्यसमा सबैभन्दा बढी भारतीय सीमा नाकानजिक रहेका होटलमा क्यासिनो रहेका छन्। पछिल्लो समय नेपालगञ्ज, भैरहवा र कोशी प्रदेश सीमानाकामा खुलेका होटलमा क्यासिनो सञ्चालन हुँदै आएको छ।

एक वर्षमा थपिए ९ क्यासिनो कम्पनी, पोखरामा मात्रै ३ होटलमा क्यासिनो

गत आवको अन्तिम दिन अर्थात असार ३१ गते ईलिगेन्ट इन्टरटेनमेन्ट सेन्टर प्रालि नामको क्यासिनो कम्पनी उद्योग विभागमा दर्ता भएको छ। रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ मा रहेको एसियन होटल प्रालिमा क्यासिनो सञ्चालन हुने गरी कम्पनी उद्योग विभागमा दर्ता भएको हो।

क्यासिनोमा १५ करोडको लगानी प्रतिवद्धता आएको छ। सत प्रतिशत नेपाली लगानी रहेको कम्पनीमा २ सय ५० जनाले रोजगारी पाउने छन्।

यसैगरी पहिलो पटक चिनियाँ पर्यटक लक्षित चिनियाँ सीमानजिक रहेको सिन्धुपाल्चोकमा समते क्यासिनो सञ्चालन हुने भएको छ।

क्यासिनोमा १८ करोडको स्वदेशी लगानी रहने छ। सिन्धुपाल्चोकको भोटेकोशी हेली रिसोर्टमा क्यासिनो सञ्चालनका लागि नयाँ कम्पनी उद्योग विभागमा दर्ता गत आवमै भएको हो। भोटेकोशी हेली रिसोर्ट (भोटेकोशी होटल)मा वेल्लीज रिक्रियशन प्रालि नामबाट क्यासिनो सञ्चालन हुन लागेको हो। 

केही समय अगाडिमात्रै काठमाडौंको बानेश्वरमा रहेको होटल एभरेष्ट इन्टरनेशनल लिमिटेडमा पनि क्यासिनो सञ्चालन गर्ने गरी पर्यटन विभागको स्वीकृतिमा उद्योग विभागमा क्यासिनो उद्योग दर्ता थियो। पछिल्लो सयम क्यासिनो सञ्चालनका लागि आकर्षण बढेको छ। शतप्रतिशत नेपाली लगानीसहित एभरेष्ट होटलमा क्यासिनो सञ्चालनका लागि गोल्डेन ग्यालेक्सी इन्टरटेन्मेन्ट प्रालि दर्ता भएको थियो। 

तारे होटल क्यासिनो सञ्चालनका लागि होटलको सहमतिमा क्यासिनो कम्पनी दर्ता हुने प्रक्रिया रहेको छ। सोहीअनुसार एभरेष्ट होटलको सहमतिमा गोल्डेन ग्यालेक्सी इन्टरटेन्मेन्ट प्रालि दर्ता भएको छ। प्रालिको चुक्ता पुँजी २५ करोड रुपैयाँ रहेको छ।

यसैगरी कपिलवस्तुको लुम्बिनी ग्रिन रिसोर्टमा पनि क्यासिनो सञ्चालनका लागि ग्रिन ज्याकपटो इन्टरटेन्मेन्ट प्रालि दर्ता भएको छ। यो कम्पनीले २० करोड रुपैयाँको लगानी प्रतिवद्धता गरेको छ। यो आधुनिक मेसिन तथा उपकरणबाट सञ्चालन हुने मिनि क्यासिनो हो।

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ३ मा क्यासिनो सञ्चालन गर्ने गरी किङसवरी इन्टरटेनमेन्ट प्रालि दर्ता भएको छ। तर उद्योग विभागको दर्ता विवरणमा होटलको विवरण खुलाइएको छैन्। क्यासिनो कम्पनीमा २५ करोड रुपैयाँको लगानी प्रतिवद्धता रहेको छ।

यसैगरी मोरङको रत्ना होटल प्रालिमा क्यासिनो सञ्चालन गर्ने गरी रत्ना सर्भिसेज प्रालि दर्ता भएको छ। क्यासिनो कम्पनीमा २० करोडको लगानी प्रतिवद्धता रहेको छ।

साथै  सिटी होटल लिमिटेड (हायात प्यालेस) मा समेत क्यासिनो सञ्चालनका लागि कम्पनी दर्ता भएको छ।  होटलमा र्‍याङ्क इन्टरटेनमेन्ट सर्भिसेस प्रालिको नाममा क्यासिनो सञ्चालन हुने छ। क्यासिनोमा ९० प्रतिशत विदेशी तथा १० प्रतिशत स्वदेशी लगानी रहने छ। क्यासिनोमा ३ सय जनाले रोजगारी पाउने दर्ता विवरणमा उल्लेख छ। 

यसैगरी पोखरामा सञ्चालित माउन्ट कैलाश रिसोर्ट सहित ३ वटा होटलमा क्यासिनो सञ्चालनका लागि कम्पनी उद्योग विभागमा दर्ता भएका छन्। माउन्ट कैलाश चार तारे रिसोर्टमा मिनी क्यासिनो सञ्चालन हुन लागेको हो। रिसोर्टमा क्यासिनो सञ्चालनका लागि ताज इन्टरटेनमेन्ट प्रालि उद्योग विभागमा दर्ता भएको छ। अब पर्यटन विभागले क्यासिनो सञ्चालनका लागि अध्ययन गरी पर्यटन मन्त्रालयमा सिफारिस गर्ने छ। पर्यटन मन्त्रालयबाट अनुमति पाएसँगै क्यासिनो सञ्चालन हुनेछ।

२१ करोड रूपैयाँको लगानीको रिसोर्टमा क्यासिनो सञ्चालनका लागि कम्पनीले पर्यटन विभागबाट सिफारिस लिँदै उद्योग विभागमा दर्ता भएको हो। कम्पनीलाई क्यासिनो सञ्चालनका लागि रिसोर्टले अनुमति दिनुपर्छ। रिसोर्टको अनुमतिपछि मात्रै उद्योगमा दर्ता हुन्छ। सतप्रतिशत नै नेपाली लगानी रहने क्यासिनोमा २ सय ५० जनाले रोजगारी पाउने छन्।

क्यासिनोले वार्षिक ९० हजार विदेशीलाई क्यासिनो खेल खेलाउने लक्ष्य लिएको छ। क्यासिनो नेपालमा विदेशी नागरिकलाई मात्रै खुल्ला छ।पोखरामा भारतीय र चिनियाँ पर्यटकलाई लक्षित गर्दै पछिल्लो समय क्यासिनो सञ्चालनका लागि अनुमति लिने कम्पनी ३ वटा भइसकेको छ। माउन्ट कैलाश पोखराको लेक साइटमा रहेको छ। माउन्ट कैलाशमा ५१ वटा रुप रहेको छ। रिसोर्ट २००९ सालदेखि सञ्चालनमा रहेको छ। 

पोखराको फूलबारी रिसोर्ट बन्द भएसँगै क्यासिनो पनि बन्द भएको थियो। तर चालु आर्थिक वर्षको अन्त्य हुनै लाग्दा पोखरामा ३ वटा होटलमा क्यासिनो सञ्चालन हुनेगरि क्यासिनो कम्पनी दर्ता भएको छ। फूलबारी क्यासिनो सञ्चालनका लागि पाँचतारे होटलसँग क्यासिनो कम्पानीले सम्झौता गर्नुपर्छ। मिनी क्यासिनो (आधुनिक उपकरण तथा मेसिनको माध्यमबाट खेलाइने) को लागि चारतारे होटलसँग क्यासिनो कम्पनीले सम्झौता गर्नुपर्छ।

पोखरामा क्यासिनो सञ्चालन गर्नेगरि भेन्टनम इन्टरनेशनले प्रालि र प्लेजर नेपाल प्रालि उद्योग विभागमा दर्ता भएको छ। पोखरा महानगरपालिकाको ६ नम्बर वडामा रहेको हेरिटेज होटल एण्ड स्पामा सञ्चालन हुनेगरि भेन्टनम क्यासिनो दर्ता भएको छ भने पोखरा महानगरपालिका वडा नम्बर ६ कै  होटल सरोवर प्रालिमा क्यासिनो सञ्चालन हुने गरी प्लेजर नेपाल प्रालि दर्ता भएको छ।क्यासिनो सञ्चालनमा आएसँगै पोखरामा पनि अब क्यासिनो सुविधा थपिने भएको छ। कुनै समय काठमाडौं मात्र केन्द्रित क्यासिनो पछिल्लो समय सीमा नाका केन्द्रित भएको थियो। भारतीय सीमासँग जोडिएका सहरमा खुलेको होटलमा क्यासिनो सञ्चालन तीव्र बनेको थियो।

विशेषगरी भैरहवा र नेपालगञ्जमा क्यासिनोकै लागि स्तरीय होटल खुल्ने क्रम बढिरहेको छ। होटलभन्दा पनि भारतीय पर्यटक क्यासिनोका लागि आउने भएकाले सीमा क्षेत्रमा तारे होटलमा लगानी बढिरहेको छ। भारतीय पर्यटकको रोजाइमा पर्दै आए पनि पोखरामा क्यासिनो थिएनन्। पोखरामा तारे होटलको संख्या बढ्दै गए पनि व्यवसायीले क्यासिनो खोल्ने आँट गरेका थिएनन्।

माउन्ट कैलाश,हेरिटेज र सरोवर होटलमा सञ्चालन हुने यो क्यासिनोले पोखरामा क्यासिनोको भविष्य तय गर्ने व्यवसायीले बताएका छन्। विशेषगरी भैरहवासम्म पुग्ने भारतीय पर्यटकलाई पोखरासम्म तान्नका लागि क्यासिनो उपयुक्त हुने उनीहरूको विश्वास छ।


प्रकाशित : सोमबार, साउन १ २०८००६:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend