मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

करका प्रस्ताव आवश्यकताअनुसार संशोधन गर्न सकिन्छ : अर्थमन्त्री महत

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार २९ २०८०
करका प्रस्ताव आवश्यकताअनुसार संशोधन गर्न सकिन्छ : अर्थमन्त्री महत

काठमाडौं- अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले आर्थिक विधेयक, २०८० मार्फत गरेका करका प्रस्ताव आवश्यकताअनुसार संशोधन गर्न सकिने बताएका छन्।

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक विधेयक २०८० माथि दफावार छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै उहाँले करका दर प्रस्ताव गर्दा सकारात्मक र नकारात्मक पक्षको समीक्षा गरिने र सोहीअनुसार संशोधन गर्न सकिने बताएका हुन्।

'करका विषयमा कहाँ के गर्दा ठीक हुन्छ भन्ने विषयमा हामी खुला छौँ। हामीले गरेका प्रस्ताव दायाँबायाँ हुँदैन भन्ने छैन। मोटामोटी आङ्कलन गरेर समग्रमा यसो गर्दा ठीक हुन्छ भन्ने भएर प्रस्ताव गरिएको हो', अर्थमन्त्री महतले भने, 'हामीले प्रस्ताव गरेका करका दरले कहाँ सकारात्मक र नकारात्मक असर परेको छ समीक्षा गरी सोही अनुसार दर निर्धारण हुन्छन्।'

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सुर्तीजन्य वस्तुमा लाग्दै आएको स्वास्थ्य जोखिम कर बढाउनुपर्ने माग गरेका थिए तर सुर्तीजन्य वस्तुमा अन्तःशुल्क, मूल्य अभिवृद्धि कर र स्वास्थ्य जोखिमसमेत जोड्दा उच्चदरमा कर लागिरहेको उनको भनाइ थियो। आर्थिक विधेयकमा राखिएको वैदेशिक पर्यटन शुल्क विदेशबाट नेपालमा आउने पर्यटकका लागि नभई विदेश घुम्न जाने नेपालीका लागि लगाइएको कर भएको पनि अर्थमन्त्री महतले स्पष्ट पारे। 

पछिल्लो समय मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहेको पनि उनको भनाइ थियो। 'अर्थतन्त्र चलायमान हुँदैछ। मूल्यवृद्धि घट्दै गएको छ। ब्याजदर सहज हुँदै गएको छ। यसलेगर्दा राजस्व वृद्धि हुने प्रसस्त आधार दिन्छ', मन्त्री महतले भने।


प्रकाशित : शुक्रबार, असार २९ २०८००७:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend