मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

साताभर उतारचढावमा सेयर बजार, दुई दिनको उल्लेख्य वृद्धिले सुधारतर्फ

बिहीबार , असार २८ २०८०
साताभर उतारचढावमा सेयर बजार, दुई दिनको उल्लेख्य वृद्धिले सुधारतर्फ

काठमाडौं- साताभर सेयर बजार उतारचढावमा देखिएको छ। दुईदिन उल्लेख्य वृद्धि देखिएको बजारमा लगानीकर्ता विश्वस्त हुन नसक्दा सोचेअनुरुप सुधारतर्फ जान सकेन। तर दुई दिनको वृद्धि नै साताभर समग्रमा बजारको वृद्धिका लागि पर्याप्त देखियो। यो साता बजारमा  ३५.५४ अंकको वृद्धि भयो।  

आइतबारको वृद्धिपछि स्थिरजस्तो बनेको बजारमा बुधबार वृद्धि देखिएको थियो तर बिहीबार पुन: बजार घट्यो। बिहीबार १२.६२ अंकले घटेर २०८४.९३ बिन्दुमा झरेको छ। ५४ कम्पनीको सेयर मूल्य बढेको बजारमा ३ अर्ब ३९ करोड रूपैयाँको कारोबार भएको छ। बिहीबार १६५ कम्पनीको सेयर मूल्य घटेको छ। 

यो साता आइतबार उल्लेख्य वृद्धि देखिएको सेयर बजारमा त्यसपछिका दुई कारोबार लगानीकर्ताको अपेक्षाअनुसार हुन सकेको थिएन। आइतबार २८.३८ अंकले बढेर सोमबार ०.८० अंकले घटेको बजार मंगलबार पनि ४.७३ अंकले घटेर बन्द भएको थियो। बुधबार २५.३१ अंकले बढेर २०९७.५५ बिन्दुमा पुगेको थियो। 

उचाइतर्फ जाने संकेत गरेको सेयर बजार पुन: उतारचढावकै अवस्थामा देखिएको छ। केही कारोबारमा देखिएको वृद्धिले सुधारको स्थायी आधार भेट्न सकेको छैन। अहिलेको अवस्थामा लगानीकर्ताहरू पर्ख र हेरको सोचमा रहेको र मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा रहेकाले बजारले उचाइको लय नलिएको विश्लेषकहरू बताउँछन्। 

अर्थतन्त्रका सबै पाटा केलाउँदै सरकारले सार्वजनिक गर्ने वित्तीय नीतिलाई पनि आधार बनाएर मौद्रिक नीतिले अर्थतन्त्रको सन्तुलन कायमै राख्नका लागि नीति तर्जुमा गर्ने काम गर्छ। जसमा मौद्रिक नीतिका व्यवस्थाले सेयर बजार प्रत्यक्ष प्रभावित हुने गर्छ। यसैले पनि यसपटक मौद्रिक नीतिले साथ दिन्छ कि दिँदैन भन्ने पर्खाइमा लगानीकर्ता रहेको विश्लेषकहरू बताउँछन्। 

अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्। स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा छन्। लगानीकर्ताले नीतिगत साथ पाए बजारले पुन: उचाइको बिन्दु लिनसक्ने विश्लेषकहरू बताउँछन्।


प्रकाशित : बिहीबार , असार २८ २०८००९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend