मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

सेयर बजार उतारचढावमा, उल्लेख्य वृद्धिपछि स्थिर रहेको बजार ओरालोतिर

मंगलबार, असार २६ २०८०
सेयर बजार उतारचढावमा, उल्लेख्य वृद्धिपछि स्थिर रहेको बजार ओरालोतिर

काठमाडौं- आइतबार उल्लेख्य वृद्धि देखिएको सेयर बजारमा त्यसपछिका दुई कारोबार लगानीकर्ताको अपेक्षाअनुसार हुन सकेको छैन। आइतबार २८.३८ अंकले बढेर सोमबार ०.८० अंकले घटेको बजार मंगलबार पनि रातो रहँदै बन्द भएको हो।

मंगलबार ४.७३ अंकले घटेर बजार २०७२.२४ बिन्दुमा झरेको छ। ७९ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा २ अर्ब ८५ करोड ९४ लाख रूपैयाँको कारोबार भएको छ। गएको केही समयदेखि बढ्दै ५ अर्ब कटिसकेको कारोबार रकम अहिले पुन: ३ अर्ब आसपासमात्र रहन थालेको छ। 

गएको साता समग्रमा १०१.६१ अंकले घटेको बजारमा यो साता सुखद सुरुवात देखिएको थियो। तर आइतबारपछिका दुई कारोबारमा बजारले लय लिन सकेन। 

उचाइतर्फ जाने संकेत गरेको सेयर बजार पुन: उतारचढावकै अवस्थामा देखिएको छ। अहिलेको अवस्थामा लगानीकर्ताहरू पर्ख र हेरको सोचमा रहेको र मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा रहेकाले बजारले उचाइको लय नलिएको विश्लेषकहरू बताउँछन्। 

अर्थतन्त्रका सबै पाटा केलाउँदै सरकारले सार्वजनिक गर्ने वित्तीय नीतिलाई पनि आधार बनाएर मौद्रिक नीतिले अर्थतन्त्रको सन्तुलन कायमै राख्नका लागि नीति तर्जुमा गर्ने काम गर्छ। जसमा मौद्रिक नीतिका व्यवस्थाले सेयर बजार प्रत्यक्ष प्रभावित हुने गर्छ। यसैले पनि यसपटक मौद्रिक नीतिले साथ दिन्छ कि दिँदैन भन्ने पर्खाइमा लगानीकर्ता रहेको विश्लेषकहरू बताउँछन्। 

अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्। स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा छन्। लगानीकर्ताले नीतिगत साथ पाए बजारले पुन: उचाइको बिन्दु लिनसक्ने विश्लेषकहरू बताउँछन्।


प्रकाशित : मंगलबार, असार २६ २०८००९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend