काठमाडौं- गएको साता कमजोर देखिएको सेयर बजारको अवस्थापछि यो साता सुखद सुरुवात देखिएको छ। गएको साता समग्रमा १०१.६१ अंकले घटेको बजारमा यो साता आइतबार उल्लेखनीय वृद्धि देखिएको हो।
आइतबार २८.३८ अंकले बढेर बजार २०७७.७६ बिन्दुमा पुगेको छ। १६८ कम्पनीको सेयर मूल्य बढेको बजारमा ३ अर्ब ४ करोड २५ लाख रूपैयाँको कारोबार भएको छ। यसअघि ५ अर्बभन्दा माथि जान थालेको कारोबार रकम गएको सातायता कमजोर बनिरहेको देखिन्छ। आइतबार ५० कम्पनीको सेयर मूल्य घटेको छ।
उचाइतर्फ जाने संकेत गरेको सेयर बजार पुन: उतारचढावकै अवस्थामा देखिएको छ। अहिलेको अवस्थामा लगानीकर्ताहरू पर्ख र हेरको सोचमा रहेको र मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा रहेकाले बजारले उचाइको लय नलिएको विश्लेषकहरू बताउँछन्।
गएको साता आइतबार नै ५३.७० अंकले घटेको बजार सोमबार पनि २१.३२ अंकले घटेको थियो। मंगलबार १२.७३ अंकले बढेको बजार बुधबार ३९.२६ अंकले घटेको थियो। बिहीबार ०.०६ अंकले घटेर स्थिर देखिएको बजारले यो साता लय समात्ने संकेत गरेको छ।
अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्। स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा छन्। लगानीकर्ताले नीतिगत साथ पाए बजारले पुन: उचाइको बिन्दु लिनसक्ने विश्लेषकहरू बताउँछन्। अहिलेको वृद्धिले नै उचाइतर्फ संकेत गरिरहँदा अब मौद्रिक नीतिमार्फत पनि साथ मिले बजार पुन: ३२०० को बिन्दुतर्फ लाग्ने उनीहरूको भनाइ छ।
अर्थतन्त्रका सबै पाटा केलाउँदै सरकारले सार्वजनिक गर्ने वित्तीय नीतिलाई पनि आधार बनाएर मौद्रिक नीतिले अर्थतन्त्रको सन्तुलन कायमै राख्नका लागि नीति तर्जुमा गर्ने काम गर्छ। जसमा मौद्रिक नीतिका व्यवस्थाले सेयर बजार प्रत्यक्ष प्रभावित हुने गर्छ। यसैले पनि यसपटक मौद्रिक नीतिले साथ दिन्छ कि दिँदैन भन्ने पर्खाइमा लगानीकर्ता रहेको विश्लेषकहरू बताउँछन्।