मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो, माण्डु हाइड्रोपावरले २८ देखि खुलाउने

बिहीबार , असार २१ २०८०
आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो, माण्डु हाइड्रोपावरले २८ देखि खुलाउने

आईएमई लाइफ इन्स्योरेन्सले बिहीबारदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ। माण्डु हाइड्रोपावर लिमिटेडले पनि यो महिनामै प्रिमियममा आईपीओ निष्कासन गर्दैछ।

काठमाडौं- आईएमई लाइफ इन्स्योरेन्सले बिहीबारदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ। 

पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको कम्पनीले दोस्रो चरणमा बिहीबारदेखि सर्वसाधारणका लागि प्रिमियम मूल्यमा आईपीओ बिक्री खुलाएको हो।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १३६ रुपैयाँ ९१ पैसा थप गरी प्रतिसेयर कुल २३६ रुपैयाँ ९१ पैसामा सेयर निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता आईपीओ निष्कासन गरेको हो। सोमध्ये कम्पनीले ९६ लाख कित्ता सेयर कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरेको हो। कम्पनीको आईपीओ मा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

उक्त आईपीओ मा असार २५ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्म सम्पूर्ण कित्ता सेयर बिक्री नभएमा बिक्री अवधि साउन ४ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ।

कम्पनीले यसअघि नै १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरिसकेको छ। 

निष्कासन गरिने कुल सेयरको ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ।

यस्तै माण्डु हाइड्रोपावर लिमिटेडले पनि यो महिनामै प्रिमियममा आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने तयारी गरेको छ। कम्पनीले असार २८ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २ प्रतिशत अर्थात् २ लाख ७२ हजार ७३० कित्ता सेयर प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो। 

सो सेयरमा ललितपुर जिल्लाको बागमती गाउँपालिका वडा नं. १ र २, मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका वडा नं. ५,६, ७ र ८ तथा इन्द्र सरोबर गाउँपालिका वडा नं.३ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ लाख ३६ हजार ३६४ कित्ता साधारण सेयर प्रतिकित्ता २०६ रुपैयाँमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ।

उक्त आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा साउन ११ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि साउन २६ गतेसम्म लम्बिनेछ।


प्रकाशित : बिहीबार , असार २१ २०८००६:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend