मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

११ महिनामा निर्जीवन बीमा कम्पनीहरुको ३६ अर्बको व्यवसाय, पहिलो शिखर हुँदा अन्यको कति?

सोमबार, असार १८ २०८०
११ महिनामा निर्जीवन बीमा कम्पनीहरुको ३६ अर्बको व्यवसाय, पहिलो शिखर हुँदा अन्यको कति?

गत वर्षको जेठ महिनाको तुलनामा यस वर्ष निर्जीवन बीमा कम्पनीहरुले १८ प्रतिशतले व्यवसाय बढाउन सफल भएका छन्।

काठमाडौं- चालु आर्थिक वर्ष २०७९/ ८० को ११ महिनामा निर्जीवन बीमा ५.९७ प्रतिशतले विस्तार भएको छ। बीमा कम्पनीहरुले जेठ महिनासम्ममा ३६ अर्ब १९ करोड रूपैयाँ बराबरको निर्जीवन बीमा गरेका छन्। 

नेपाल बीमा प्राधिकरणका अनुसार जेठ मसान्तसम्ममा सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीले ३६ अर्ब १९ करोड ८८ लाख ३९ हजार रूपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन्। गत आवको ११ महिनामा ३४ अर्ब १५ करोड ८८ लाख रूपैयाँ बीमा शुल्क संकलन भएको थियो।

निर्जीवन बीमा कम्पनीहरुले जेठ महिनामा तीन अर्ब ५० करोड रूपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। गत वर्षको जेठ महिनाको तुलनामा यस वर्ष निर्जीवन बीमा कम्पनीहरुले १८ प्रतिशतले व्यवसाय बढाउन सफल भएका छन्। गत वर्षको जेठ महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ९६ करोड रूपैयाँ आर्जन गरेका थिए ।

जेठ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले २५ लाख ३७ हजार ४१६ वटा बीमालेख जारी गरेका छन्।  

निर्जीवन बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमा शुल्कमा सधैँझै यस पटक पनि शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड पहिलो स्थानमा रहेको छ। कम्पनीले जेठसम्ममा ४ अर्ब ७६ करोड ८ लाख ३७ हजार रूपैयाँ बीमाशुल्क संकलन गरेको छ। यो रकम कुल निर्जीवन बीमा कम्पनीहरुले संकलन गरेको १३.१५ प्रतिशत बराबर हो।

दोस्रो ठूलो बीमा शुल्क संकलन गरेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ११.२९ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ११.१० प्रतिशत बीमा शुल्क संकलन गरेका छन्। सगरमाथा लुम्बिनीले जेठ मसान्तसम्म ४ अर्ब ८ करोड ८६ लाख २५ हजार रूपैयाँ र सिद्धार्थ प्रिमियरले ४ अर्ब १ करोड ७४ लाख ४७ हजार रूपैयाँ बीमा शुल्क उठाएका छन्।

यसैगरी युनाइटेड अजोड इन्स्योरेन्सले ३ अर्ब १४ करोड ६७ लाख ९१ हजार रूपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३ अर्ब ६ करोड २३ लाख ८३ हजार रूपैयाँ र आइएमई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब १ करोड ९९ लाख ८६ हजार रूपैयाँ बीमा शुल्क संकलन गरेको छ।

चालु आवको ११ महिना अवधिमा नेको इन्स्योरेन्सले २ अर्ब ६६ करोड ९४ लाख ९८ हजार रूपैयाँ, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले २ अर्ब २६ करोड २३ लाख ७३ हजार रूपैयाँ, एनएलजी इन्स्योरेन्सले २ अर्ब १४ करोड ८३ लाख ४५ हजार रूपैयाँ र सानिमा जिआईसी इन्स्योरेन्सले २ अर्ब ४ करोड ८१ लाख ९४ हजार रूपैयाँ बीमाशुल्क संकलन गरेको छ।


प्रकाशित : सोमबार, असार १८ २०८००८:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend