काठमाडौं- सरकारले थप चार वटा देशसँग गर्न लागेको हवाई सम्झौता तथा पुनरावलोकनमा ढिलासुस्ती भएको छ। सरकारले स्वीजरल्यान्ड,रुवान्डा, इन्डोनेसिया र कुवेतसँग गर्न लागेको हवाई सम्झौता तथा पुनरावलोकनमा ढिलासुस्ती भएको हो।
इन्डोनेसियासँग कोरोना महामारी सुरु हुनुअघि नै सम्झौताका लागि औपचारिक प्रक्रिया सुरु भएको थियो। लकडाउनका कारण रोकिएको छलफल पछिल्लो समय फेरि सुरु भएको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए। उनका अनुसार इन्डोनेसियासँगको हवाई सम्झौता र कुवेतसँगको पुनरावलोकनको लागि अहिले परराष्ट्र मन्त्रालयसँग राय माग्ने काम भएको छ।
यसैगरी स्वीजरल्यान्ड र रुवान्डासँगको हवाई सम्झौता स्वीकृतिका लागि फाइल मन्त्रिपरिषद्मा पुगेको लामिछानेले बताए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलमा समेत उडान गर्ने पाउने गरी हवाई सम्झौता हुन लागेको उनले जानकारी दिए। दुवै देशसँग सातामा २८ वटा उडान गर्ने र आधा उडान काठमाडौं बाहिरको विमानस्थलबाट हुने गरी हवाई सम्झौता हुन लागेको मन्त्रालयले जनाएको छ।
यसैगरी मन्त्रालयले कुवेतसँगको पुरानो दुईपक्षीय हवाई सम्झौता पनि पुनरावलोकन गर्ने भएको छ। कुवेतसँगको हवाई सम्झौता पुनरावलोकनका लागि आवश्यक काम भइरहेको मन्त्रालयले जनाएको छ। विद्यमान हवाई सम्झौतामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै उडान गर्ने विषय समावेश छ। तर कुवेतमा जजिराले गौतम बुद्धबाट पनि उडान गरिरहेको हुँदा हवाई सम्झौता पुनरावलोन गर्नुपरेको हो।
साथै पुरानो सम्झौतामा सातामा ७ वटा मात्रै उडान रहेको र त्यसलाई पनि बढाउने गरी पुनरावलोकनको काम भएको मन्त्रालयको दाबी छ। यता कोभिडसँगै रोकिएको फिनल्याण्डसँगको हवाई सम्झौता पनि अझै सुरु भएको छैन।