काठमाडौं- सन् २०२३ को ६ महिनामा पौने पाँच लाख पर्यटक नेपाल भ्रमणमा आएका छन्।
अध्यामन विभागले जारी गरेको तथ्यांकअनुसार सन् २०२३ को जनवरीदेखि फेब्रुअरीसम्म ४ लाख ७६ हजार ५ सय ७ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन्।
पछिल्लो महिना जुनमा मात्रै नेपाल भ्रमणमा आउने पर्यटकको संख्या ७२ हजार २ सय ५० रहेको छ।
यस वर्षको जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार दुई सय ५५, मार्चमा ९९ हजार चार सय २६ र अप्रिलमा ९८ हजार सात सय ७३ र मेमा ७७ हजार सात सय ३० पर्यटक नेपाल भित्रिएका थिए। जुन महिनामा सबैभन्दा बढी भारतबाट ३८ हजार ८ सय ५४ र दोस्रो बढी अमेरिकाबाट ८ हजार ४ सय ७० जना पर्यटन नेपाल भ्रमणमा आएका छन्।
यसैगरी चीनबाट ३ हजार ३ सय ४३, बंगलादेशबाट २ हजार ४ सय २, बेलायतबाट १ हजार ९ सय ९२, अष्ट्रेलियाबाट १ हजार ६ सय ३९, मलेसियाबाट १ हजार ७९ र साउदी अरबबाट ८ सय ८८ पर्यटन नेपाल भ्रमणमा आएका छन्।