बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

बर्सातसँगै चितवन राष्ट्रिय निकुञ्जमा हुने पर्यटकीय गतिविधिमा रोक

बिहीबार , असार १४ २०८०
बर्सातसँगै चितवन राष्ट्रिय निकुञ्जमा हुने पर्यटकीय गतिविधिमा रोक

अर्को सूचना जारी नहुँदासम्मका लागि सफारीमा रोक लगाइएको हो।

चितवन- चितवन राष्ट्रिय निकुञ्जले यही असार १६ गतेदेखि निकुञ्जमा हुँदै आएका व्यावसायिक जंगल ड्राइभ (सफारी) मा रोक लगाएको छ। वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथ बिग्रिने, जंगलमा भएका स-साना खोला खोल्सीमा भल बाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने र मानवीय क्षतिसमेत हुनसक्ने भन्दै निकुञ्जले जंगल सफारीमा रोक लगाएको हो।

यससँगै डुंगा सञ्चालनजस्ता पर्यटकीय गतिविधिमा समेत रोक लगाइएको निकुञ्ज प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ। अर्को सूचना जारी नहुँदासम्मका लागि सफारीमा रोक लगाइएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सफारीका लागि ६५ जिपले अनुमति लिएका छन्।

सौराहाबाट ३२, कसराबाट १६ र मेघौलीबाट नौ जिपले अनुमति लिएको उनले जानकारी दिए। यस्तै उजौलीबाट दुई, अमलटारीबाट पाँच र माडीबाट एउटा जिपले निकुञ्जभित्र सफारीका लागि अनुमति लिएका छन्। डुंगा सञ्चालनका लागि तीन घाटमा ठेक्का लागेको उनले बताए। राप्ती नदीमा रहेका छ घाटमध्ये तीन घाटबाट मात्र डुंगा सफारी हुँदै आएको थियो।

बर्सात सुरु भएसँगै निकुञ्ज र नदीमा हुने पर्यटकीय गतिविधिमा रोक लगाइएको हो। मध्यवर्ती सामुदायिक वनतर्फ हुने गतिविधिमा भने मध्यवर्ती व्यवस्थापन समितिले निर्णय गर्ने उनले जानकारी दिए। यस क्षेत्रका सामुदायिक वनमा हात्ती सफारी र डुंगा सफारी हुँदै आएको छ। निकुञ्जमा हालसम्मकै बढी पर्यटक यस वर्ष छिरेका थिए। रासस


प्रकाशित : बिहीबार , असार १४ २०८००६:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend