मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

बागमतीभन्दा मधेसमा घरजग्गा रजिष्ट्रेशन धेरै 

बिहीबार , असार १४ २०८०
बागमतीभन्दा मधेसमा घरजग्गा रजिष्ट्रेशन धेरै 

राजस्व भने आधाभन्दा धेरै बागमती प्रदेशबाट संकलन भएको छ। बागमतीबाटै मात्र ५ अर्ब ६६ करोड राजस्व संकलन भएको छ भने कोशीबाट १ अर्ब ३ करोड संकलन भएको छ।

काठमाडौं- चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको अवधिमा घरजग्गा दर्ता बागमतीभन्दा मधेस प्रदेशमा धेरै भएको पाइएको छ। 

नेपाल राष्ट्र बैंकको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार छ महिनामा मधेस प्रदेशमा ४४ हजार ६५२ वटा घरजग्गा रजिष्ट्रेशन भएको छ। 

घरजग्गा कारोबार तथा दर्ताको सख्यामा मधेसले संघीय राजधानीसमेत भएको बागमती प्रदेशलाई उछिनेको हो। सो अधविमा बागमतीमा जम्मा ४१ हजार ६४८ वटा दर्ता भएका छन्। 

त्यस्तै लुम्बिनी प्रदेशमा भने ४० हजार २६५ वटा र कोशी प्रदेशमा ३७ हजार ५८१ वटा दर्ता भएका छन्। सबैभन्दा न्यून सुदूरपश्चिम प्रदेशमा १० हजार ३४ र कर्णालीमा १० हजार ८४ वटा दर्ता भएका छन्। गण्डकी प्रदेशमा १२ हजार ३३१ दर्ता भएका छन्। 

घर भवनको नक्सा पासमा भने सबैभन्दा धेरै बागमती प्रदेशमा ७ हजार ४५९ भएका छन् त्यस्तै कोशीमा १ हजार ८८२ र मधेसमा १ हजार ८३४ वटा भएका छन्। 

पुस मसान्तसम्ममा घरजग्गा रजिस्ट्रेसन संख्या ५० दशमलव ०३ प्रतिशतले घटेर एक लाख ९६ हजार पाँच सय ९५ कायम भएको र जग्गा रजिस्ट्रेशनबाट प्राप्त हुने राजस्व नौ अर्ब ९० करोड रूपैयाँ पुगेको प्रतिवेदनमा जनाइएको छ। घर तथा भवनको स्थायी नक्सा पास संख्या ३७ दशमलव पाँच प्रतिशतले घटेको छ।

राजस्व भने आधाभन्दा धेरै बागमती प्रदेशबाट संकलन भएको छ। बागमतीबाटै मात्र ५ अर्ब ६६ करोड राजस्व संकलन भएको छ भने कोशीबाट १ अर्ब ३ करोड संकलन भएको छ।


प्रकाशित : बिहीबार , असार १४ २०८००४:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend