शुक्रबार, असोज ४ गते २०८१    
images
images
अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन

५० प्रतिशतले घट्यो घरजग्गा रजिस्ट्रेसन संख्या, बैंक तथा वित्तीय संस्थाको निक्षेप नौ प्रतिशतले वृद्धि

images
बुधबार, असार १३ २०८०
images
images
५० प्रतिशतले घट्यो घरजग्गा रजिस्ट्रेसन संख्या, बैंक तथा वित्तीय संस्थाको निक्षेप नौ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा उद्योगको क्षमता उपयोग औसतमा ४३ दशमलव सात प्रतिशत रहेको छ। पूर्वाधार क्षेत्रमा चालु आर्थिक वर्षको पहिलो छ महिनासम्ममा ३४ हजार ७५ किलोमिटर सडक र तीन हजार १८ पुल निर्माण भएको प्रतिवेदनमा उल्लेख छ।

images
images

काठमाडौं- आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि पुससम्मको तथ्यांकमा आधारित अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन गरेर मंगलबार प्रतिवेदन सार्वजनिक गरेको हो।

images
images
images

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली र तरकारी एवं फलफूल तथा मसला) को उत्पादन चार दशमलव तीन प्रतिशतले बढेको छ। यस्ता बालीले ढाकेको भू-क्षेत्र भने दुई दशमलव एक प्रतिशतले घटेको छ।

खाद्य तथा अन्य बालीको उत्पादन मात्र पाँच दशमलव सात प्रतिशतले बढेको छ। त्यस्तै तरकारी तथा बागवानीको उत्पादन साढे चार प्रतिशतले बढेको छ। फलफूल र मसलाको उत्पादनमा भने क्रमशः पाँच दशमलव दुई प्रतिशत र आठ दशमलव चार प्रतिशतले घटेको छ।

प्रतिवेदनअनुसार पशुजन्य उत्पादनअन्तर्गत दूध उत्पादन एक दशमलव चार प्रतिशत र मासु उत्पादन एक दशमलव सात प्रतिशतले वृद्धि भएको छ। त्यस्तै अर्धवार्षिक अवधिमा अण्डा उत्पादन २६ दशमलव तीन प्रतिशतले घटेको छ। वनजन्य उत्पादनअन्तर्गत काठ उत्पादन १६ दशमलव २३ प्रतिशतले र औषधिजन्य वस्तुको उत्पादन सात दशमलव चार प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ।

images

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा उद्योगको क्षमता उपयोग औसतमा ४३ दशमलव सात प्रतिशत रहेको छ। यो अवधि बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामा औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जाको अंश २७ दशमलव नौ प्रतिशत रहेको छ।

पुस मसान्तसम्ममा घरजग्गा रजिस्ट्रेसन संख्या ५० दशमलव ०३ प्रतिशतले घटेर एक लाख ९६ हजार पाँच सय ९५ कायम भएको र जग्गा रजिस्ट्रेशनबाट प्राप्त हुने राजस्व नौ अर्ब ९० करोड रूपैयाँ पुगेको प्रतिवेदनमा जनाइएको छ। घर तथा भवनको स्थायी नक्सा पास संख्या ३७ दशमलव पाँच प्रतिशतले घटेको छ।
     
विसं २०७८ पुस मसान्तको तुलनामा २०७९ पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप नौ दशमलव एक प्रतिशतले र कर्जा प्रवाह चार दशमलव एक प्रतिशतले वृद्धि भएको छ। बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप र कर्जामा बागमती प्रदेशको अंश क्रमशः ६९ दशमलव चार प्रतिशत र ५५ दशमलव छ प्रतिशत रहेको छ। निक्षेप र कर्जामा कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम क्रमशः एक दशमलव दुई प्रतिशत र एक दशमलव दुई प्रतिशत रहेको छ ।
     
विसं २०७८ पुस मसान्तको तुलनामा २०७९ पुस मसान्तसम्ममा दर्ता भएका कुल सवारीसाधनको संख्या चार दशमलव एक प्रतिशतले वृद्धि भएको छ। पूर्वाधार क्षेत्रमा चालु आर्थिक वर्षको पहिलो छ महिनासम्ममा ३४ हजार ७५ किलोमिटर सडक र तीन हजार १८ पुल निर्माण भएको प्रतिवेदनमा उल्लेख छ।

यो अवधिसम्ममा अन्तर्राष्ट्रिय उडानतर्फ तीन वटा नेपाली वायुसेवा र २९ वटा विदेशी वायुसेवा गरी ३२ वटा वायुसेवा कम्पनीले विभिन्न गन्तव्यमा उडान सञ्चालन गरिरहेका छन्। सबै मौसममा सञ्चालनमा रहने विमानस्थलको संख्या ३३ रहेको छ। रासस 


प्रकाशित : बुधबार, असार १३ २०८०१२:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend