बुधबार, असोज २ गते २०८१    
images
images

चीनमा पश्चिमा र जापानी कार उत्पादकको ‘सुनौला दिनको’ अन्त्य

चिनियाँ विद्युतीय सवारीका लागि नेपाली बजार सुनौलो बन्दै

images
बिहीबार , भदौ २० २०८१
images
images
चीनमा पश्चिमा र जापानी कार उत्पादकको ‘सुनौला दिनको’ अन्त्य

वार्षिक रुपमा लाखौँ कार बिक्री गरेर अर्बौँ लाभ पाएका विश्वका ठूला कार उत्पादकका लागि अब ती सुनौलो समय अहिले आएर अकस्मात अन्त्य हुन पुगेको छ।

images
images

काठमाडौं- समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार हो भने अर्थतन्त्रको आकारमा पनि दोस्रो नै हो। विगतमा बाहिरका उद्योगीहरूका लागि चीन उर्भर भूमी थियो। त्यसमध्ये गएको केही दशक विश्वका ठूला कार उत्पादकले चीनबाट भयङ्‍कर लाभ लिए। 

images
images
images

वार्षिक रुपमा लाखौँ कार बिक्री गरेर अर्बौँ लाभ पाएका विश्वका ठूला कार उत्पादकका लागि अब ती सुनौलो समय अहिले आएर अकस्मात अन्त्य हुन पुगेको छ। 

चीनकै विद्युतीय सवारी उत्पादक कम्पनीहरूको तीव्र विकास भएसँगै प्यासेन्जर कार सेगमेन्टमा विश्वका ठूला कार उत्पादकहरू प्रतिस्पर्धी नै हुन नसक्ने अवस्थामा पुगेका हुन्।

चिनियाँ सवारी उत्पादक बीवाईडी संसारको सबैभन्दा धेरै विद्युतीय कार बिक्रेता कम्पनी बनिसकेको छ। यही वृद्धिदर कायम रह्यो भने अबको केही वर्षमा पहिलेका ठूला कार उत्पादकलाई बीवाईडीले उछिन्ने छ। 

images

परम्परागत ठूला कार उत्पादक कम्पनीहरूलाई सोमबार थप एउटा निरासाजनक खबर आयो, त्यो हो जर्मन कार निर्माता कम्पनी फक्सवागनले लागत कटौती गर्न भन्दै जर्मनीकै एउटा कार उत्पादन प्लान इतिहासमै पहिलो पटक बन्द गर्नुपर्ने अवस्था आएको बतायो। यही जर्नम कार निर्माता कम्पनी फक्सवागन हो जो कुनै बेला सबैभन्दा धेरै कार बिक्री गर्ने कम्पनीका रुपमा थियो।

सन् २००० देखि फक्सवागनले चीनको सर्वाधिक कार बिक्रेता कम्पनीको तज पहिरिँदै आएको थियो। यो ताज चीनकै न्यू इनर्जी भेहिकल कम्पनी बीवाईडीले हालै मात्र खोसेको हो। अहिले बीवाईडी चीनको सबैभन्दा धेरै कार बिक्रेता कम्पनीका रुपमा स्थापित भइसकेको छ। 

तर चीनमा तनाव खेप्नेमा टोयोटापछि विश्वको सबैभन्दा धेरै कार बिक्री गर्दे कम्पनी फक्सवागन मात्र होइन, अन्य युरोपेली तथा अमेरिकी कम्पनीहरू फोर्ड, जनरल मोटर्सलगायत पनि छन्। यी कम्पनीहरूले पनि चीनमा आफ्नो बजार हिस्सा निरन्तर गुमाउँदै गइरहेका छन्। चीनमा स्वदेशी ब्रान्ड खरिद गर्ने माहोलले पनि विश्वका ठूला सवारी उत्पादकलाई तनाव दिएको छ। 

२०२४ को जुलाईमा विदेशी कार निर्माताको बिक्री हिस्सा ३३ प्रतिशतमा सीमित भएको छ। २ वर्षअघिको सोही महिना विदेशी कार निर्माताको बजार हिस्सा ५३ प्रतिशत थियो। यो तथ्यांक चाइना प्यासेन्जर कार एसोसिएसन (सीपीसीए)ले सार्वजनिक गरेको छ। 

बिक्रीमात्र होइन चीनमा कार निर्माताहरूको नाफा पनि दबाबमा पर्न थालेको छ। जुन ३० मा सकिएको त्रैमासमा टोयोटाको चिनियाँ सैयुक्त उपक्रमको नाफा गन वर्षको सोही अवधिको तुलनामा ७३ प्रतिशतले घटेको छ।

त्यस्तै जनरल मोटर्सको चिनियाँ संयुक्त उपक्रम गएको त्रैमासमा घाटामा भएको हो। २०१७ मा जीएमले चीनमा ४० लाख कार बिक्री गरेकोमा २०२३ मा कार बिक्री २१ लाख वटामै सीमित भएको छ। 

चीनमा चलिरहेको क्रुर अनि लामो ईभी प्राइसवारका कारण स्थानीय विद्युतीय सवारी उत्पादकले बजार बनाइसकेका छन्। यस्तो माहोल बन्न थालेपछि विदेशी कार उत्पादकले चीनमा व्यवसायिक रणनीति बदल्न थालेका छन्। केहीले त चीनको व्यावसाय नै बन्द गरेर बाहिरिनेतर्फ सोची रहेको पाइएको सीएनएनले लेखेको छ।

अक्टोबरमा जापानी कार उत्पादक मित्सुबिसी मोटर्सले चिनियाँ साझेदारसँगको सहकार्य तोडेर कार उत्पादन बन्द गर्ने घोषण गरेको थियो। केही वर्षयता चीनमा मित्सुबिसीको कार बिक्री घट्दो क्रममा थियो। 

त्यस्तै होन्डा, हुन्डाई र फोडले पनि चीनमा खर्च कटौतीका लागि कर्मचारी हटाउनेदखि प्लान्ट बन्द गर्नेसम्मको योजना बनाएका छन्।

विदेशी कार उत्पादकका हिजोका सुनौला दिनहरू गएको र चीन उनीहरूको कार बिक्री संख्याको बढोत्तरी र नाफा आर्जन गर्ने सहय अब सकिएको अटो उद्योगका विज्ञ तथा डुन इनसाइट्स(ईभी कन्सल्टिङ एजेन्सी)का सीईओ माइकल डुनको भनाइ छ।

‘यदि चीनका कुनै मास मार्केट कार ब्रान्ड हो भने त्यसको दिनगन्ती सुरु भइसकेको भनेर बुझ्नु पर्ने अवस्था आएको छ,’ डुनले भनेका छन्।

टेस्लाले गरेको जादु

लामो समयदेखिको प्रवेश भए पनि पछिल्लो दुई दशकयता चीनमा विश्वका ठूला कार निर्माताले राम्रो नाफामा व्यावसाय गरिरहेका थिए।

विश्वका ठूला कार उत्पादकले ‘देवताले भन्दा धेरै पैसा बनाएको’सम्म भन्ने गरिथ्यो २००० पछिको एक दशकमा। यो अवस्था २०१० सम्म चीन सरकारले स्थानीय ईभी र ब्याट्री उत्पादक कम्पनीमा लगानी गर्दासम्म कायम थियो। 

चीन सरकारले २०१० को मध्यतिर ‘मेड इन चाइना २०२५’ रणनीति ल्याएको थियो। यो नीति पछि पनि विदेशी कार निर्माताले राम्रो नाफा बनाइरहेका थिए। चिनियाँ उपभोक्ता पुराना ब्रान्डकै कार किन्न रुचाउँथे। 

२०१९ मा चीनमा अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्ला इंक चाइना मेड टेस्ला मोडल थ्री लिएर चिनियाँ कार बजारमा पस्यो। चीनको सांघाईमा प्लान्ट स्थापना गरेर टेस्ला चीन पसेपछि धेरै कुरा बललियो।

‘रातारात जादु भएजस्तै भयो,‘ डुनले भनेका छन्, ‘यो मनुमेन्टल टर्निङ प्वाइन बन्यो। सांघाईमा बनेको टेस्ला मोडल थ्रीले चिनियाँ कार उपभोक्तामा बदलाव ल्याइदियो। यसले उनीहरूमा विद्युतीय कारप्रति ठूलो सकारात्मक भाव जगाइदियो।’ उनीहरू ‘न्यू कुल’ बनेको उनले भनेका छन्। 

चिनियाँ ईभी बजारमा टेस्ला मुख्य इन्फ्युएन्सरका रुपमा स्थापित भयो। टेस्लालाई पक्षाउँदै बीवाईडी, नियो तथा ली अटोले त्यसमा ईँटा थप्दै गए। केही वर्षमा विद्युतीय कारको माहोल बनेपछि विद्युतीय कारको स्वीकार्यतान चीनमा अकल्पनीय तवरले बढ्यो। 

अन्तर्राष्ट्रिय उर्जा एजेन्सीको प्रक्षेपणअनुसार २०२४ मा चीनमा ब्याट्री ईभी र प्लग इन हाइब्रिड गरि १ करोड कार बिक्री हुनेछ। ४ वर्षअघि चीनमा यस्ता सवारी ११ लाख वटा मात्र बिक्री भएको थियो। पुस्तौनी फोड्कोले पनि चिनियाँ ब्रान्डको बिक्रीमा ठूलो मद्दत गरिरहेको छ। 

‘१९९० देखि २००० सम्मको अवधिमा अघिकांश चिनियाँ उपभोक्ताले चिनियाँ ब्रान्डको कार किन्दैन थिए। उनीहरूले कुनै पनि चाइनिज ब्रान्डलाई विश्वासै गर्दैन थिए,’ सिनो अठो इन्साइट्सका प्रबन्ध निर्देशक तु लीले सीएनएनसँग भनेका छन्।

अहिलेको बजार १९९० देखि २००० सम्म कार किन्नेहरूको सन्तानको हो र उनीहरू आफ्नो सामान अलिबाबामार्फत खरिद गर्छन्। ‘नयाँ पुस्ता अलिबाबा, जेडीडटकमबाट सामान किन्ने, वीच्याट प्रयोग गर्ने र चिनियाँ ब्रान्ड किनिरहेका छन्,’ लीले भनेका छन्, ‘उनीहरूमा तीनका अभिभावकको जस्तो चिनियाँ ब्रान्ड प्रति नकारात्मक भाव पटक्कै छैन।’ 

यहीक्रममा टेस्लाले जगाइदिएको विश्वस अघि चिनियाँ कम्पनीहरूले सरकारको सहयोगमा कतिसम्म काम गरिसकेका रहेछन् भन्ने अहिले देखिँदैछ। टेस्लाको चीन प्रवेश टर्निङ प्वाइन्टमात्र बनेको हो, यनीहरूले भयानक तयारी गरिरहेका हरेछन्।

विद्युतीय सवारीको सफ्टवेर, उत्पादन क्षमता विस्तार, ब्याट्री प्रविधि र सप्लाई चेनमा चीनले गर्नसक्ने नियन्त्रणमा धेरै ठूलो काम गरिसकेकाले नै ऊ विद्युतीय सवारीमा धेर्र अघिबढ्न सकेको हो र प्रतिस्पर्धीभन्दा कयौँ गुणा अघि बढ्न सकेको हो। 

गत वर्ष बीवाईडीले हालसम्मकै धेरै ३० लाख २० हजार वटा बीईभी र प्लग इन हाइब्रिड कार विश्वभर बिक्री गरेको थियो। यो २०२२ को तुलनामा ६२ प्रतिशतले धेरै हो।

फक्सवागतले २०२३ मा विश्वभर १० लाख २० हजार वटा ईभी र पीएचईभी बिक्री गरेको थियो। त्यस्तै टेस्लाले १८ लाख वटा विद्युतीय कार बिक्री गरेको थियो। 

विश्वको नयाँ अटोमाबोइल केन्द्र 

चिनियाँ विद्युतीय कार उत्पादकहरू स्वदेशमा भएको बिक्री वृद्धिलाई लिएर सन्तुष्ट हुन सकिरहेका छैनन्। 

चीनबाट हुने प्यासेन्जर कार निर्यात २०२३ मा २०२२ को तुलनामा ६० प्रतिशत बढेर ४० लाख वटा पुगेको थियो। केही आधारमा यो तथ्यांकले चीनलाई विश्वको ठूलो निर्यातकर्ता बनाएको छ। यो तथ्यांकले जापान र जर्मनीलाई कार निर्यातमा उछिनेको हो। 

२०३० सम्ममा विश्व बजारमा चीनको ईभी हिस्सा अहिलेको तुलनामा दोबरभन्दा बढी हुने अनुमानहरू भइरहेका छन्। परिणमतः चीनको वृद्धिबाट सबैभन्दा धेरै गुमाउने युरोपेली कार निर्माता हुनेछन्। 

यही दबाबको अनुमान गरेरै अमेरिका र युरोपले चीनमा बनेका विद्युतीय कारमा उच्च कर लगाउन थालेका छन्। यसको परिणाम के आउँछ त्यो भने समयले नै बताउँनेछ। 

चीन तिर फकँदा समग्रमा चिनियाँ अटोमोबाइल उद्योग सोचेभन्दा ठूलो हुँदैछ र विद्युतीय कार उत्पादन र निर्यातका लागि विश्वकै केन्द्र बन्दैछ। विश्वका ठूला सवारी निर्माताहरू चिनियाँ कम्पनीसँग स्थानीय साझेदारी गर्न उद्धत देखिन थालेका छन्। दुई/तीन दशक अघिसम्म चिनियाँ कम्पनीहरू विदेशी सवारी उत्पादकसँग साझेदारी गरेर सवारी उत्पादन गर्थे। 

गत वर्ष फक्सवागनले चिनियाँ ईभी निर्माता कम्पनी एक्सपाङको ५ प्रतिशत सेयर ७० करोड डलरमा किनेको थियो। चीनमा फक्सवागनको गिर्दो बजार हिस्सा जोगाउन फक्सवागनले यस्तो निर्णय लिएको हो।

त्यस्तै केही महिना अघिमात्र सिट्रोन, फियाट, प्युजोलयागत कम्पनी मिलेर बनेको स्टेलेन्टिसले चिनियाँ कार निर्माता लिपमोटरको २० प्रतिशत सेयर १ अर्ब ७० करोड डलरमा खरिद गरेको हो। यही सेप्टेम्बर महिनाबाटै स्टेलेन्टिसले युरोपका ३० देशमा लिपमोटरका विद्युतीय कार बिक्री गर्दैछ। 

यसका साथै चिनियाँ कार निर्माताहरूले विश्वभर आफ्नो उपस्थिति बढाउँदै लगेका छन्। बीवाईडीले थाइल्यान्ड, हंगेरी तथा अन्य केही देशमा कार उत्पादन प्लान्ट स्थापनाको तयारी गर्दैछ। त्यस्तै बीवाईडीले गएको शुक्रबारमात्र आफ्नो जर्मन आधिकारिक बिक्रेता कम्पनी हेडिन इलेक्ट्रिक नै खरिद गरेको छ। 

विश्व अटोमोबाइल उद्योगको नयाँ केन्द्र चीन नै भएको डुनले बताएका छन्। ‘हर जो कोही अहिले पनि यो कोसिस गरिरहेका छन् की यहाँबाट कहाँ जाने? र चिनियाँसँग कसरी प्रतिस्पर्धा गर्ने? सबैको प्रश्न नै यही हो,’ उनले भने। 

चिनियाँ विद्युतीय सवारीका लागि नेपाली बजार सुनौलो बन्दै 

विश्व बजारको चासो र चिन्ता एकातर्फ छ भने नेपालको अवस्था अर्कैतर्फ छ। दुई दशकअघिसम्म नेपालमा जापानी र युरोपेली कारको दबदबा थियो। भलै हिजो र आज पनि नेपाल विश्व कार उद्योगका लागि ‘गणनामै नपर्ने’ बजार हो। 

त्यसयताको दुई दशक भारतमा उत्पादित कार, मोटरसाइकल तथा अन्य सवारीसाधनको दबदबा थियो। अब भने अवस्थामा केही बदलाब देखिन थालेको छ। दीर्घतामा केही प्रश्न भए पनि समाकालीन बजारमा चिनियाँ विद्युतीय सवारीको हिस्सा उल्लेख्य रुपमा बढेको छ। 

नेपालमा सरकारले विद्युतीय सवारीमा कर सहुलियत दिएको र आम उपभोक्तामा विद्युतीय सवारीको स्वीकार्यता बढेकाले बिक्री बढेको हो। प्यासेन्जर कारको हकमा यो सकारात्मक छ भने विद्युतीय भ्यान तथा माइक्रोबसका हकमा अहिले नै प्रश्न उठ्ने अवस्थामा पुगिसकेको छ। 

यद्यपी नेपालमा चिनियाँ सवारी उत्पादकका लागि अहिलेको समय सुनौलो नै देखिएको छ। आगामी दिनमा ईभीको बजार कता जान्छ, उत्पादकको रणनीति के हुन्छ, सरकारले ईभीलाई हेर्ने नजर कस्तो हुन्छ? भन्ने प्रश्नहरू छँदै नै छन्।

विद्युतीय कारको हकमा सञ्चालन खर्च कम, उपयुक्त मूल्यमा उच्च प्रविधियुक्त कारको प्रतिस्पर्धी उपलब्धता र हाम्रो देशको सडकको रेन्ज नै कम भएकाले यसको स्वीकार्यता बढेरै जाने निश्चितप्रायः छ।


प्रकाशित : बिहीबार , भदौ २० २०८११०:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend