काठमाडौं- हिमालय एयरलाइन्सले काठमाडौं-बेइजिङ नियमित उडान गर्ने भएको छ। नयाँ सेवाले बेइजिङ र काठमाडौं घुम्न चाहने यात्रुहरूलाई सहज र प्रभावकारी यात्राको विकल्प प्रदान गर्ने एयरलाइन्सले जनाएको छ।
हिमालयले काठमाडौं-बेइजिङ-काठमाडौं रुट जुन २४ शनिबार सञ्चालनमा उडान सुरु गरेको हो। पहिलो उडान एच नाइन ६६५ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट स्थानिय समय अनुसार बिहानको ७ बजेर ४० मिनेटमा प्रस्थान गरेको छ र बेइजिङ डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल, बेइजिङमा दिउँसो २ बजेर १५ मिनेटमा अवतरण हुनेछ।
उडानको अवधि ४ घण्टा ४५ मिनेटको रहने छ। साथै बेइजिङबाट फर्कने उडान, एच नाइन ६६६, स्थानीय समयअनुसार दिउँसो ३ बजेर २५ मिनेटमा प्रस्थान गर्ने तालिका रहेको छ। जुन बेलुका ६ बजेर ३० मिनेटमा काठमाडौंमा अवतरण हुनेछ।