शुक्रबार, असोज ४ गते २०८१    
images
images

रानीपौवामा खानेपानी आयोजना निर्माण, १२० घरधुरी लाभान्वित

images
बिहीबार , असार ७ २०८०
images
images
रानीपौवामा खानेपानी आयोजना निर्माण, १२० घरधुरी लाभान्वित

ओखलेपानी, खरिपानी र तुसारेपानीको मुहानबाट ल्याइएको पानी ७५ हजार लिटर, बीस हजार लिटर र १६ हजार लिटर क्षमताको तीन वटा रिजर्भ ट्यांकीमा संकलन गरी पाइपलाइनमार्फत घरघरमा रहेका धारामा आपूर्ति गरिएको छ।

images
images

म्याग्दी- म्याग्दीको रघुगंगा गाउँपालिका-३ मा रानीपौवा खानेपानी आयोजना निर्माण भएको छ। जिल्लास्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा उपभोक्ता समितिमार्फत निर्माण भएको आयोजनाबाट रानीपौवाका एक सय २० घरधुरी लाभान्वित भएका छन्। 

images
images
images

उपभोक्ता समितिका अध्यक्ष तोरणबहादुर कार्कीले मिटर जडित निजी धारामार्फत सबै उपभोक्ताको घरघरमा खानेपानी वितरण गरिएको बताए। ओखलेपानी, खरिपानी र तुसारेपानीको मुहानबाट ल्याइएको पानी ७५ हजार लिटर, बीस हजार लिटर र १६ हजार लिटर क्षमताको तीन वटा रिजर्भ ट्यांकीमा संकलन गरी पाइपलाइनमार्फत घरघरमा रहेका धारामा आपूर्ति गरिएको उनले जानकारी दिए।

अध्यक्ष कार्कीका अनुसार साविक पिप्ले गाविस-४ मा पर्ने रानीपौवा, बस्नेगौडा, घारराखर्क, खरिपानी टोलमा ‘एक घर, एक धारा’ योजनाअन्तर्गत धारा निर्माण गरी पानी वितरण गरिएको हो।

सुमन पौडेलले खानेपानी आयोजना निर्माण भएपछि स्थानीयमा खुसीयाली छाएको बताए। 'सार्वजनिक धाराबाट वितरण हुँदै आउको पुरानो आयोजनाबाट पर्याप्त पानी आपूर्ति नहुने समस्याले सास्ती भएको थियो,' उनले भने, 'घरकै धारामा पानी आउन थालेपछि समयको बचत, सरसफाइमा सहयोग र दैनिकिमा सुधार भएको छ।'

images

विसं २०७४ मा सुरु भएको उक्त आयोजना संघ र प्रदेश सरकारका निकायमध्ये कसले कार्यान्वयन गर्ने भन्ने विवादले गत वर्षसम्म अलपत्र परेको थियो। कुल एक करोड ३६ लाख रूपैयाँ लागत अनुमान गरिएको आयोजनाका लागि विसं २०७७ सम्म वार्षिक दुई देखि तीन लाख रूपैयाँका दरले बजेट विनियोजन भए पनि निर्माण सम्पन्न हुन सकेको थिएन।

चालु आर्थिक वर्षमा रानीपौवा खानेपानी आयोजनाका लागि ३० लाख रूपैयाँ बजेट विनियोजन भएको थियो। खानेपानी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले मुख्य र शाखा पाइपलाइन खरिद, ढुवानी, इन्टेक, ट्यांकी निर्माण, मुख्य पाइपलाइन खन्ने र गाड्ने काम गरेको समितिका अध्यक्ष कार्कीले बताए।

उनका अनुसार उपभोक्ताले शाखा लाइन खन्ने, पुर्ने र धारा जडान गरेका हुन्। 'पानी वितरणलाई व्यवस्थित बनाउन सबै उपभोक्ताको धारामा मिटर जडान गरी महसुल संकलन गर्ने व्यवस्था मिलाइएको छ', उनले भने। रासस


प्रकाशित : बिहीबार , असार ७ २०८०१०:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend