मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब नाघ्यो

बुधबार, असार ६ २०८०
सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब नाघ्यो

कुल सार्वजनिक ऋणलाई कुल जनसङ्ख्यासँग तुलना गर्दा प्रतिव्यक्ति ऋण ७४ हजार पाँच सय १६ रूपैयाँ बराबर पर्न जान्छ।

काठमाडौं- नेपालले हालसम्म तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख रूपैयाँ पुगेको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्यांकअनुसार नेपालले १० खर्ब ९९ अर्ब ७२ करोड ३३ लाख रूपैयाँ आन्तरिक र १० खर्ब ७३ अर्ब ५२ करोड ३९ लाख रूपैयाँ बाह्य ऋण तिर्न बाँकी रहेको देखिएको हो। 

घाटा बजेट ल्याउँदा बर्सेनि सार्वजनिक ऋण थपिँदै जाने र त्यसको साँवा ब्याज भुक्तानीको दायित्वको भारसमेत सरकारको वार्षिक बजेटमा बढ्दै जाने भन्दै संसद्‌मा विषय उठिरहेका बेला यस्तो तथ्यांक सार्वजनिक भएको हो। सरकारले आगामी आर्थिक वर्षको घाटा बजेट पूर्ति गर्नका लागि थप चार खर्ब ५२ अर्ब ७५ करोड बराबर रूपैयाँ ऋण उठाउने लक्ष्य राखेको छ। 

जसमध्ये दुई खर्ब ४० अर्ब आन्तरिक र दुई खर्ब १२ अर्ब ७५ करोड रूपैयाँ बाह्य उठाउने सरकारको लक्ष्य छ। चालु आर्थिक वर्ष २०७९/८० सुरु हुँदा अर्थात् गतवर्ष असार मसान्तसम्ममा नेपालको सार्वजनिक ऋण २० खर्ब १३ अर्ब २९ करोड ६४ लाख रूपैयाँ बराबर थियो। चालु आर्थिक वर्षको पछिल्लो ११ महिना अवधिमा मात्र एक खर्ब ५९ अर्ब ९५ करोड आठ लाख रूपैयाँ बराबर ऋण थपिएको छ।

नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार ४८ खर्ब ५१ अर्ब ६२ करोड रूपैयाँलाई आधार मान्दा जीडीपीमा सार्वजनिक ऋणको अनुपात ४४ दशमलव ७९ प्रतिशत पुगेको छ। 

जीडीपीमा सार्वजनिक ऋणको अनुपात बढ्दै जाँनु र न्यून पुँजी निर्माणका कारण आर्थिक वृद्धिदरसमेत कमजोर भइरहँदा त्यसले आगामी दिनमा मुलुकको अर्थतन्त्रलाई जोखिममा पार्नेसक्ने भन्दै यो विषय अहिले संसद्‌मासमेत उठिरहेको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा सरकारले तीन खर्ब ६ करोड रूपैयाँ ऋण उठाएको छ भने दुई खर्ब पाँच अर्ब १७ करोड रूपैयाँ बराबर साँवा ब्याज भुक्तानी गरेको छ। जेठ मसान्तसम्ममा सरकारले गरेको पुँजीगत खर्चभन्दा सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीमा गरेको खर्च करिब ५२ अर्ब आठ करोड ६० लाख रूपैयाँले बढी हो। जेठ मसान्तसम्ममा सरकारको पुँजीगत खर्च एक खर्ब ५३ अर्ब आठ करोड ४२ लाख रूपैयाँ छ।

यसरी एकातर्फ सरकारको राजस्व असुली न्यून हुँदा ऋण उठाएर घाटा बजेट पूर्ति भइरहेको छ भने अर्कोतर्फ बर्सेनि थपिँदै गएको ऋणको साँवा ब्याजसमेत बढ्दै जाँदा वार्षिक बजेटको ठूलो अंश यसमा खर्च हुने गरेको छ।

यो अवधिमा आन्तरिक ऋणको साँवा, ब्याज र कसिमन भुक्तानीमा एक खर्ब ६४ अर्ब ४८ करोड ७८ लाख रूपैयाँ बराबर खर्च भएको छ। जेठ महिनासम्म आन्तरिक ऋणको साँवा भुक्तानीमा एक खर्ब आठ अर्ब ११ करोड ३८ लाख, ब्याज भुक्तानीमा ५६ अर्ब २६ करोड १० लाख र कमिसन भुक्तानीमा ११ करोड ३० लाख रूपैयाँ बराबर खर्च भएको छ।

त्यस्तै, बाह्य ऋणको साँवा ब्याज भुक्तानीमा ४० अर्ब ६८ करोड ४२ लाख रूपैयाँ बराबर खर्च भएको छ। बाह्य ऋणको साँवा भुक्तानीमा ३१ करोड ९९ लाख ८८ हजार र ब्याज भुक्तानीमा आठ अर्ब ६८ करोड ५४ लाख रूपैयाँ बराबर खर्च भएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ अनुसार कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ बराबर छ। कुल सार्वजनिक ऋणलाई कुल जनसङ्ख्यासँग तुलना गर्दा प्रतिव्यक्ति ऋण ७४ हजार पाँच सय १६ रूपैयाँ बराबर पर्न जान्छ। रासस 


प्रकाशित : बुधबार, असार ६ २०८००७:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend