शुक्रबार, असोज ४ गते २०८१    
images
images

नेपालमा चिनियाँ पर्यटक बढाउन पोखरामा पहिलो पटक 'ड्रागन बोट रेस' हुँदै

images
सोमबार, असार ४ २०८०
images
images
नेपालमा चिनियाँ पर्यटक बढाउन पोखरामा पहिलो पटक 'ड्रागन बोट रेस' हुँदै

फेस्टिभलमा चिनियाँ चार र नेपाली चार गरी आठ टोलीबीच डुंगा दौड प्रतियोगिता गरिनेछ। पाँच सय र एक हजार मिटरको दौडमा प्रतिस्पर्धा हुनेछ।

images
images

गण्डकी- नेपाल र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यका साथ पोखरामा पहिलोपटक हुन लागेको ‘नेपाल चीन फ्रेण्डसीप ड्रागन बोट रेस फेस्टिभल’ यहाँको पर्यटनका लागि महत्वपूर्ण बन्ने विश्वास लिइएको छ। 

images
images
images

कोरोना महामारीका कारणले सुस्ताएको पर्यटनले बिस्तारै गति लिँदै गर्दा नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा पोखराको फेवातालमा ड्रागन बोट रेस हुन लागेको हो।

यही असार ८ र ९ गते सञ्चालन हुने फेस्टिभलको तयारी भइरहँदा यतिखेर पोखराका पर्यटन व्यवसायी उत्साहित बनेका छन्। फेवाताल किनार क्याम्पिङ चोकमा हुने फेस्टिभलले यहाँको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा विशेष टेवा पुग्ने अपेक्षा गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए।

'चीन नेपालको पर्यटनका लागि महत्वपूर्ण अन्तर्राष्ट्रिय बजार हो', उनले भने, 'ड्रागन बोट रेस फेस्टिभलले आगामी दिनमा चिनियाँ पर्यटकको आगमन बढाउन प्रवर्द्धनको काम गर्नेछ।'

images

फेटिभलका लागि पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एसोसिएसन पोखरा सहयोगी संस्थाका रूपमा रहेका छन्। फेस्टिभलमा हुने डुंगा दौडका लागि चीनबाट आठ वटा विशेष खालका डुंगा पोखरा ल्याएर परीक्षण सुरु गरिएको उनले बताए।

फेस्टिभलअन्तर्गत चिनियाँ चार र नेपाली चार गरी आठ टोलीबीच डुंगा दौड प्रतियोगिता गरिनेछ। पाँच सय र एक हजार मिटरको दौडमा प्रतिस्पर्धा हुनेछ। बोट रेसका लागि गत बैशाख २१ गते नेपाल पर्यटन बोर्ड, चिनियाँ दूतावास र पोखरा महानगरपालिका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। चीनले यस प्रकारका बोट रेस फेस्टिभल ५० भन्दाबढी देश र क्षेत्रमा आयोजना गर्दै आएको छ।

फेस्टिभलमा चीनबाट विशिष्ट पाहुनाको सहभागिता हुने र यसैका सन्दर्भमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय चाटर्ड उडान हुने भएको छ। नेपाल-चाइना ड्रागन बोट रेस फेस्टिभलका लागि उक्त उडानमार्फत लगभग एक सय ३० जना आउने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान भर्ने भएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुआन एयरलाइन्सबीच गत शुक्रबार सम्झौता गरिएको हो। प्राधिकरणका अनुसार सिचुआन एयरलाइन्सले आगामी जुन २१ (असार ६) मा चार्टर्ड उडानका लागि अनुमति पाएको हो। उक्त एयरलाइन्सले चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्नेछ।

गत पुस १७ गते (सन् २०२३ को जनवरी १ तारिख) उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म पनि अन्तर्राष्ट्रिय उडान हुन नसकेका अवस्थामा असार ६ गते पहिलोपटक अन्तर्राष्ट्रिय उडानमार्फत चिनियाँ टोली अवतरण गर्नेछन्। 

पोखरा चिनियाँ पर्यटकको राम्रै रोजाइमा पर्ने गन्तव्य हो। यहाँ आउने चिनियाँ पर्यटक विशेषतः प्राकृतिक सुन्दरताको अवलोकन र प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जीलगायतका साहसिक पर्यटनमा रुचि राख्ने गर्दछन्। 

नेपालमा भित्रने चिनियाँ पर्यटकमध्ये ९० प्रतिशतभन्दा बढी पोखरा आउने गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए। दक्षिण एसियामा नै पहिलो पटक हुन लागेको यस प्रतियोगिता पोखरेलीका लागि महत्वपूर्ण अवसर रहेको पोखरा महानगरपालिका पर्यटन समितिका उपाध्यक्ष रविन्द्रराज पौडेलले बताए।

'कोभिडबाट थलिएको पर्यटनलाई उकास्नका लागि यो फेस्टिभल आफैमा विशेष छ', उनले भने, 'यसलाई भव्य र सभ्यरुपमा सम्पन गर्नु हाम्रो महत्वपूर्ण जिम्मेवारी हो।' फेस्टिभलसँगै पोखरामा चिनियाँ पर्यटकको आगमन बढ्ने उल्लेख गर्दै उहाँले यहाँ सञ्चालित साहसिक पर्यटनका गतिविधि सधैँ उनीहरूको रोजाइमा पर्ने गरेको उनले बताए।

पोखरामा पर्यटकलाई लक्षित गरी निर्माण गरिएका साना तथा ठूला गरी सात सयको सङ्ख्यामा होटेल रहेको होटेल एसोसिएसन नेपाल (हान) पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। पोखरामा होटेल पूर्वाधारमा मात्रै चार खर्ब रूपैयाँभन्दा बढीको लगानी भइसकेको उनले बताए।

'यहाँ नेपालीका साथै चाइनिजले सञ्चालन गरेका रेष्टुरेन्ट पनि छन्', उनले भने, यो, 'चिनियाँ भाषा जानेका पर्यटक गाइडको सङ्ख्या पनि राम्रै छ।' पोखरा आउने चिनिया पर्यटकलाई चिनियाँ परिकारको कुनै समस्या नहुने उनले बताए। रासस


प्रकाशित : सोमबार, असार ४ २०८००७:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend