बिहीबार , फागुन २९ गते २०८१    
बिहीबार , फागुन २९ २०८१
images
images

फेरिँदो छ तिहार : व्यापारमा जोडियो झिनिया र सेलरोटी

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, कात्तिक २० २०७८
images
images
फेरिँदो छ तिहार : व्यापारमा जोडियो झिनिया र सेलरोटी

बेनीका झिनीया उत्पादक तथा व्यापारीका अनुसार तिहारको समयमा एक जनाले दुईदेखि तीन लाख रुपैयाँको झिनिया तथा सेलरोटी बिक्री गरेका छन्।

images
images

गलेश्वर- प्रकृतिसँंग मानिस रम्ने चाड हो तिहार। शारद याममा वातावरण नै उल्लासमय बनिरहेको छ। घर वरिपरि ढकमक्कै फुलेका सयपत्री र मखमली फूलले प्रकृति सिङ्गारिएको छ। विभिन्नथरिका बिजुली बत्तीको झिलिमिलीेले रातलाई पनि दिनजस्तै बनाइदिएको छ तर प्रकृतिसँंग मानिस रम्ने चाड तिहारको मौलिकता भने हराउँदै गएको छ।

images
images

युवापुस्तामा आयातित संस्कृतिको प्रभावमा पर्दै गएकाले सांस्कृतिक विरासतका मौलिक चाडपर्वले आफ्नो मौलिकता गुमाउँदै गएको संस्कृतिविद्हरु बताउँछन्। नेपालीका लागि दसैँपछिको दोस्रो ठूलो चाड तिहारमा पशुपक्षी, प्रकृति र पुरुष (भाइ) पूजा गरिने एकमात्र चाड हो। दसैँमा बलि दिने प्रचलनले कहीँकतै कसैलाई नरमाइलो लाग्छ भने तिहारमा सबै उमेर, वर्ग र सम्प्रदायका मानिसहरु रमाउने गर्दछन्।

images
images

पं नीलकण्ठ आचार्यका अनुसार तिहार प्रकृति, पुरुष र ऐश्वर्य (लक्ष्मी)लाई खुशी बनाउने रोमाञ्चक चाड हो तर पछिल्लो समय यो चाडमा पनि निकै विकृति भित्रिएकाले यसको सांस्कृतिक पहिचान नै ओझेलमा पर्दै जान थालेको छ। आधुनिकतासँगै तिहारमा पनि अनेक खालका विकृति देखिन थालेको उनको भनाइ थियो ।

images
images

माटाको दियो र भोगटेको पातमा बत्ती बालेर जिम फाल्ने चलन अहिले हराएको छ। घरको मूलढोका, सहायक ढोका, आँगनको डिल, तुलसीको मठ, धनसार, गोठ, जुठेल्नो जतातलै बत्ती बालेर जिम फाल्ने चलन थियो तर अहिले भने जतातलै बिजुली बत्ती बालेर उज्यालो बनाइने गरिन्छ । म्याग्दीको ज्यामरुककोटका ८५ वर्षीय रणबहादुर घिमिरे भन्छन्, 'यसबाट मनोरञ्जन त प्राप्त हुन्छ तर जिम फाल्ने विधान र तिहारको मौलिकता रहँदैन।' 

माटाको दियो, अमिलाको पात र मैनबत्ती हुँदै अहिले बिजुलीको झिलिमिली बत्तीमा मनाइने तिहारको मौलिकता अब कुनै चिजमा पनि बाँकी नरहेको बूढापाकाहरू बताउँछन्। अचेल माटोको पाला पूजाकोठामा मात्र सीमित भएको छ। माटोको दियोपछि मैनबत्ती र मैनबत्तीलाई उछिन्दै बिजुली बत्तीमा अहिलेको तिहार भुलेको छ।

यमराजलाई बाटो छेक्न विशाल नदीको प्रतीकका रूपमा घरको मूलढोकामा हालिने तेलको धाराले प्रतीकात्मक अर्थ दिन्थ्यो। दाजुभाइलाई यमराजबाट सुरक्षित राख्न दिदीबहिनीले मूलढोकामा तेलको धारो हालेर बाटो छेक्ने प्रचलन पछिल्लो समय हराउँदै गएको बृद्ध घिमिरेले बताए। 'ओखर फोरिन्थ्यो, तेलको धारा हालिन्थ्यो, देउसी भैलो खेलिन्थ्यो, साथीभाइ एकै ठाउँमा भएर जुवातास खेली रमाइलो गरिन्थ्यो', उनले भने 'अब ती सबै कुरा हराइसके। तिहार केवल औपचारिकतामा सीमित हुन थालिसकेको छ।'

बेफुर्सद चाड

मोबाइल र इन्टरनेटको बढ्दो प्रभाव र प्रयोगका कारण मानिस यति व्यस्त भएका छन् कि उनीहरुलाई आफ्नो नजिकैको मान्छेले के गर्दै छ र के भन्दै छ भन्ने कुरासमेत पत्तो हुँदैन। युवापुस्ताका दिदीबहिनीहरू पनि सूचना र प्रविधिको यो प्रभावबाट मुक्त हुने कुरै भएन। सूचना प्रविधि र सामाजिक सञ्जालको प्रभावका कारण दिदीबहिनीहरू पनि बेफुर्सदिला हुने गरेकाले  झण्झटिला कामप्रति उनीहरुको रुचि घट्दै गएको छ। सूचना र प्रविधिले विश्वलाई नै साँघुरो बनाइदिए पनि अपनत्व र सौहार्दतालाई भने निकै टाढा पु‍र्‍याइदिएको छ।

फूल खोज्ने, माला गाँस्ने, भाइमसला बनाउने, खानाका परिकार तयार गर्ने र समग्रमा तिहारको रौनक बढाउने प्रमुख भूमिका दिदीबहिनीको नै हुने गर्छ तर उनीहरु पनि बेफुर्सदिला बनिदिँदा तिहारको मौलिकतामा पनि असर गरेको बताउँछन् मङ्गला गाउँपालिका अर्मनका खडानन्द सापकोटा। उनका अनुसार अहिले बजारमा प्याक गरेर राखिएका भाइमसलामै दिदीबहिनीले काम चलाउने गरेका छन्। सापकोटाको भनाइसँग सहमत छिन् अर्मनकै रसिला जैसी पनि।

'पहिला पहिला दिदीबहिनी भेला भएर तिहार सुरु हुनेबित्तिकै भाइमसला खोजी गथ्र्यौँ, ओखरदेखि लिएर सम्पूर्ण सामग्रीको जोहो गरेर भाइमसला बनाउँथ्यौँ', ६४ वर्षीया जैसीले भनिन्, 'अहिले त कसैलाई कामले फुर्सद छैन, कसैलाई मोबाइलले।'

झिनीया र सेलरोटीको व्यापारबाट राम्रो आम्दानी

तिहार सुरु भएसँगै म्याग्दी सदरमुकाम बेनीमा झिनीया र सेलरोटीको व्यापार फस्टाउँदै गएको छ। यमपञ्चकको चौथो दिन आजसम्म लाखौँको झिनीया र सेलरोटीको व्यापार भएको व्यवसायीले बताएका छन्। बेनीका झिनीया उत्पादक तथा व्यापारीका अनुसार तिहारको समयमा एक जनाले दुईदेखि तीन लाख रुपैयाँको झिनिया तथा सेलरोटी बिक्री गरेका छन्। सदरमुकाम बेनीमा मात्रै झिनीया उत्पादन गरेर बिक्री गर्ने उद्यमीको सङ्ख्या २५ भन्दा धेरै छ।

बेनीकी उद्यमी राधा बोगटीले तिहारको अवधिमा सेलरोटी र झिनियाको माग अत्यधिक भएको बताए। 'दैनिक ७ सय वटासम्म झिनीया र सेलरोटी बिक्री हुन्छ', उनले  भने। व्यवसायीका अनुसार घरमा बनाउन झञ्जट हुने, बिग्रने डर  तर कोसेली लैजान सजिलो हुने भएकाले पछिल्लो समय तयारी सेलरोटी र झिनीयाको व्यापार फस्टाउँदै गएको हो। सेलरोटी र झिनीयाको साथै चिनी, फिनी, झेली, फूल रोटीको पनि उत्पादन र बिक्री वितरण हुन्छ।
 
सेलरोटी प्रतिगोटा ३०, चिनी र फिनी रोटी प्रतिगोटा रु ५० का दरले बिक्री हुने गरेको छ। झिनीया आकारअनुसार प्रतिगोटा १० देखि १५ रुपैयाँमा बिक्री हुन्छ। बेनीका उद्यमीले उत्पादन गरेको झिनीयाले माग धान्न नसकेपछि छिमेकी जिल्ला बागलुङबाट समेत आयात गरिएको अर्की उद्यमी सिर्जना श्रेष्ठले बताए।

'सीप भएका महिलालाई फुर्सदको समय सदुपयोगका साथै आयआर्जनको अवसर मिलेको छ', उनले भने। हेर्दा आकर्षक, खानालाई स्वादिलो, सजिलो तथा तयारी खाजाको रूपमा प्रयोग गर्न सकिने भएकाले चाडपर्वको समयमा झिनीया रोटीको खपत धेरै हुने गर्छ।

चामलको पिठो पकाएर त्यसलाई मेसिनमा पेलेर निस्कने चाउचाउको जस्तो त्यान्द्रोलाई घाममा सुकाएपछि बन्ने झिनीया घ्यू, तेलमा फ्राई गरेर खान योग्य हुन्छ। बनाउन झन्झटिलो भए पनि झिनीयाको व्यापार गर्नेहरुको कमाइ भने राम्रो छ। रासस


प्रकाशित : शनिबार, कात्तिक २० २०७८०४:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend