बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

गर्मी बढेपछि भोजपुरको महभिर झरनामा पर्यटकको घुइँचो

बिहीबार , जेठ ३२ २०८०
गर्मी बढेपछि भोजपुरको महभिर झरनामा पर्यटकको घुइँचो

विगतमा प्रचारप्रसारको अभावले ओझेलमा परेको झरनासम्म पुग्न अहिले पदमार्ग निर्माण गरिएको छ।

भोजपुर- देशभर तापक्रम बढेसँगै जनजिवन प्रभावित बनेको छ। तापक्रम बढेसँगै भोजपुरको टेम्केमैयुङ गाउँपालिकास्थित महभिर झरनामा पर्यटकको घुइँचो लागेको छ। उनीहरु गर्मी छल्न यहाँ आउने गरेका छन्।

झरनाबाट झरेको पानीको फोहोराले पर्यटकको मन लोभ्याउँछ। दैनिक सयौँको संख्यामा आन्तरिक पर्यटक यहाँ रमाइलो गर्न पुग्ने गरेका छन्। टेम्केमैयुङ-४ नागीमा रहेको यो झरना ६० मिटर लामो छ। भिरमौरी बस्ने भएकाले यो झरनाको नाम महभिर झर्ना रहेको स्थानीयको भनाइ छ।

बाह्रै महिना भिरको छाँगोबाट झर्ने पानीले पर्यटकको मन लोभ्याउने गरेको छ। खास गरेर यहाँ गर्मीको समयमा बढी पर्यटक पुग्ने गरेका छन्। गाउँपालिकाले यहाँ पुग्ने बाटोको विस्तारसँगै झर्ना वरिपरि पर्यटकलाई लक्षित गरेर विभिन्न संरचना निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत सन्दिप न्यौपानेले बताए।

विगतमा प्रचारप्रसारको अभावले ओझेलमा परेको झरनासम्म पुग्न गाउँपालिकाले पदमार्ग निर्माण गरेको छ। भोजपुर सदरमुकामबाट करिब २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करिब साढे चार किलोमिटर पश्चिममा अवस्थित यो झरनामा बाह्रै महिना पानी एकनासले बग्ने गरेको स्थानीयवासी शिवकुमार राईले बताए।

भोजपुर र खोटाङ सदरमुकाम दिक्तेल जोड्ने मध्यपहाडी लोकमार्ग यही क्षेत्र भएर विस्तार भएकाले  झरना हेर्नेको संख्यामा वृद्धि हुँदै गएको छ। झरना सडकबाट साढे दुई किलोमिटरभित्र रहेको छ।

महभिर झरनालाई पर्यटकीय क्षेत्रको रुपमा स्थापित गराउने उद्देश्यका साथ काम अघि बढाइएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन्। 'गाउँपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा स्थापित गर्ने लक्ष्य छ। धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि योजनाबद्ध रुपमा काम गरिरहेका छौँ', उनले भनिन्।

अञ्चल डाँडाबाट महभिर हुँदै चखेवा भञ्याङ र वडा नं- ५ खावा, चोलन्तीलगायत क्षेत्रबाट आउने पर्यटकलाई लक्षित गरेर हुँगेबाट झरना हुँदै चखेवाभञ्याङसम्म पदमार्ग विस्तार गर्ने योजना रहेको उनको भनाइ छ। 

झरना आसपासमा स-साना दह निर्माण गरेर माछापालन, उद्यान निर्माण गर्नेलगायत गाउँपालिकाको योजना छ। महभिर झर्नाका साथै चखेवाभञ्याङ, टेम्के डाँडा र मैयुङडाँडा एकै पटकमा घुम्न मिल्ने गरी संरचना निर्माण गर्ने योजना छ।

मुन्दुम पदमार्गले पनि यहाँका धेरै पर्यटकीय क्षेत्रलाई समेटेको छ। चखेवाडाँडा, टेम्केडाँडा र  मैयुङडाँडा पनि यही मार्ग भएर जानुपर्ने हुन्छ। रासस


प्रकाशित : बिहीबार , जेठ ३२ २०८००५:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend