शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

मगर संस्कार र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सादीखोलावासी

images
बुधबार, जेठ ३१ २०८०
images
images
मगर संस्कार र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सादीखोलावासी

विसं २०७३ मा घरबास थालिएको यस गाउँमा अहिले १५ घरमा घरबास सञ्चालन गरिएको छ। गाउँमा ठूलो सङ्ख्यामा पर्यटक आउने थाहा पाएसँगै परम्परागत नृत्य देखाउन तथा अवलोकन गर्न स्याङ्जा तथा पोखरा लगायतका स्थानमा बसाइँ सरेर गएकाहरु पनि फर्केर आउने गरेका छन्।

images
images

गण्डकी- मखमलको चोली, छिटको गुन्यूँ, पटुकी, घलेक, टिकिस, पछ्यौरी, खुर्पेटोसहितको परम्परागत पोसाकमा चिटिक्क सजिएर पाहुनाको स्वागत गर्न लस्करै उभिन्छन् सादीखोलाका मगर समुदायका युवती। उनीहरूलाई साथ दिन्छन् भोटो, स्टकोट, कछाड, पेटी, भाङ्ग्रा, टोपी र खुर्पेटोमा सजिएका पुरुषहरूले।

images
images
images

विभिन्न स्थानमा आधुनिकताको नाममा परम्परागत संस्कार र संस्कृति हराइरहेका अवस्थामा स्याङ्जाको पुतलीबजार नगरपालिका-७ सादीखोलाका मगर समुदाय भने आफ्नो संस्कार र संस्कृति जोगाउँदै त्यसैबाट गाउँमा पर्यटकलाई आकर्षित गर्ने अभियानमा जुटेका छन्।

स्याङजा र तनहुँलाई छुट्याउने साँदका रुपमा खोला रहेका कारण प्राचीन कालदेखि नै सादीखोला गाउँका रुपमा स्थापित यस ठाउँमा अधिकांश मगर समुदायको बसोबास छ। प्राचीन कालमा पश्चिम ३ नंमा रहको तनहुँ र पश्चिम ४ नंमा रहेको स्याङ्जा छुट्याउने खोलाका रुपमा पनि यसलाई लिइन्थ्यो। पुस्तौँ अघिदेखि नैं आफ्ना जिजुबाजे यस गाउँमा आएर बसेको ८१ वर्षीय मनबहादुर थापा मगरले बताए।

images

पछिल्ला समयमा ग्रामीण बस्तीबाट बसाइँ सरेर जाने क्रम बढेका अवस्थामा उक्त समस्याबाट यो गाउँ पनि अछुतो भने छैन। यहाँबाट पनि धेरै मानिस बसाइँ सरेर स्याङ्जा, पोखरालगायत विभिन्न स्थानमा गएको उनले बताए। 'पहिला यहाँ मगर समुदायका ५५/५६ घर थिए', उनले भने, 'बर्सेनि बसाइँ सर्दै जाने क्रम बढ्दा अहिले भने २७ घरमा मात्रै बसोबास छ।'

images

बस्तीमा घर घटे पनि मगर संस्कार र संस्कृतिलाई जीवन्त राख्नेगरी प्रयास भइरहेको उनले बताए। मगर गाउँको मौलिकता कायम राख्न परम्परागत पोसाकको प्रयोगसँगै मगर संस्कृतिमा आधारित सोरठी, नचरी जस्ता नृत्यलाई कायमै राखिएको उनले बताए।

मगर समुदायमा विशेषतः झोरा, सोरठी, नचरी, सुनिमाया, यानिमाया, ठाडो भाका, झ्याउरे, सालैजो, कौह्रा आदि नृत्य प्रचलित छन्। सादी खोलामा आउने पर्यटकलाई लक्षित गरी स्थानीयले घरबास (होमस्टे) पनि सञ्चालन गरेका छन्। घरबासमा आउने पर्यटकलाई सोरठी, नचरी जस्ता परम्परागत नृत्यले स्वागत गर्ने गरिएको सादी खोला टोल विकास संस्थाका संयोजक सुकबहादुर थापा मगरले बताए।

विसं २०७३ मा घरबास थालिएको यस गाउँमा अहिले १५ घरमा घरबास सञ्चालन गरिएको छ। परम्परागत नृत्यका लागि पोसाक, मादल, झ्याली, झुर्मा आदि बाजा पनि आवश्यक हुने जनाउँदै उनले आर्थिक अभावका कारण यी वस्तुहरूको जोरजाम गर्न समस्या हुने गरेको बताए।

यहाँको सोरठी, नचरी जस्ता नृत्यहरू विभिन्न मेला महोत्सवमा स्याङ्जा तथा पोखरा लैजाने गरिएको छ। 'परम्परागत संस्कार र संस्कृतिको जगेर्नाका लागि राज्यका तर्फबाट सहयोग आवश्यक छ', उनले भने, 'हामी मगर समुदायको मौलिक संस्कृतिलाई पुस्तौँसम्म जीवन्त राख्न चाहन्छौँ।'

कृषिजन्य उत्पादनमा पनि अब्बल सादीखोला सुन्तला तथा महका लागि पकेट क्षेत्र हो। यहाँ उत्पादित सुन्तला स्याङ्जा तथा पोखराका बजारमा निकै माग हुने गरेको छ। यहाँका हरेक घरमा मौरीका घार रहेको र सर्वसाधारणले मह बेचेर राम्रै आम्दानी गर्ने गरेको सुकबहादुर बताउँछन्। स्थानीयवासीले प्रतिकिलो रु एक हजार पाँच सयमा मह बेच्ने गरेको जनाउँदै उनले बजारको कुनै समस्या नरहेको बताए।

परम्परागत संस्कृतिकै जगेर्नाका लागि गाउँको तल रहेको झन्डै डेढ/दुई सय वर्ष पुरानो तोरी पेल्ने कोललाई संरक्षित गरी राखिएको छ। गाउँको पुछारमा रहेको मिलेनियम गुफालाई गाउँको पर्यटनसँग जोड्ने लक्ष्यका साथ त्यहाँ पुग्ने गोरेटो बाटो निर्माण गरिएको उनले जानकारी दिए। उनका अनुसार स्थानीयवासीले पर्यटकलाई लक्षित गरी गाउँ र मिलेनियम गुफाका बीचमा रहेको मिलन चौतारीमा खानेपानीको व्यवस्था गर्न लागेका छन्।

तनहुँको दुलेगौडाबाट स्याङ्जाको रामबाछा जोडिने सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) मा पर्ने यस गाउँलाई पर्यटनसँग जोड्ने लक्ष्य रािखएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए। 'मिलेनियम ट्रेकमा आउने पर्यटकलाई यहाँको मौलिक मगर संस्कृतिको अनुभव लिन मिल्नेगरी हामी यसको प्रवर्द्धनमा लागेका छौँ', उनले भने, 'होमस्टे सञ्चालनमा आइसकेका अवस्थामा यहाँको मगर संस्कृति पर्यटकका लागि रोजाइमा पर्ने हाम्रो विश्वास छ।' गाउँमा सुन्तला, मह लगायतका कृषिजन्य वस्तुको उत्पादन पनि राम्रो हुने भएकाले कृषि पर्यटनका रुपमा पनि यसको विकास गर्ने सोच राखिएको उनले बताए।

घरबासलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सकेमा त्यसबाट स्थानीयवासीको रोजगारी पनि सिर्जना गर्न सकिने सह प्राडा रामजीप्रसाद पोखरेल बताउँछन्। गाउँको संस्कार, संस्कृतिसँगै यहाँ उत्पादित वस्तुलाई पर्यटनसँग जोड्न सकिने उनले बताए।

गाउँमा ठूलो सङ्ख्यामा पर्यटक आउने थाहा पाएसँगै परम्परागत नृत्य देखाउन तथा अवलोकन गर्न स्याङ्जा तथा पोखरा लगायतका स्थानमा बसाइँ सरेर गएकाहरु पनि फर्केर आउने गरेका छन्। यो गाउँ र आसपासको क्षेत्र चरा पर्यटनमा पनि उत्तिकै महत्वपूर्ण रहेको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरे बताउँछन्। मिलेनियम ट्रेक क्षेत्रमा पाइने धेरै चराचुरुंगी यस  क्षेत्रमा पाइने जनाउँदै उनले पछिल्लो समयमा ठाउँ-ठाउँमा हराउँदै गरेको ठेउवा यहाँ देखिएको बताए। रासस


प्रकाशित : बुधबार, जेठ ३१ २०८००९:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend