शुक्रबार, असोज ४ गते २०८१    
images
images

लुम्बिनी : पर्यटक त छन् तर व्यापार छैन, व्यवसायीलाई सञ्चालन खर्च उठाउनै धाैधाै

images
मंगलबार, जेठ ३० २०८०
images
images
लुम्बिनी : पर्यटक त छन् तर व्यापार छैन, व्यवसायीलाई सञ्चालन खर्च उठाउनै धाैधाै

केही समययता देखिएको आर्थिक मन्दीको असर धेरैतिर परेको व्यवसायीहरु बताउँछन्। व्यवसायीहरुका अनुसार व्यापार ठप्प हुँदा सञ्चालन खर्च समेत धान्न मुस्किल परेको छ।

images
images

लुम्बिनी- 'पसलमा राखिएका हस्तकलाका सामग्रीहरु बिक्री नभएको २० दिन बितेको छ', लुम्बिनी बसपार्कस्थित सिद्धार्थ ह्यान्डी क्राफ्टसका सञ्चालक विष्णुबहादुर बस्नेत भन्छन्, 'वैकल्पिक व्यवसाय पनि छैन, गुजारा चलाउनै गाह्रो छ।'

images
images
images

व्यवसायको आम्दानीबाट बिजुली, पानी र सटरभाडाको जोहोसमेत गर्न नसकेको उनले दुःखेसो पोखे।

पिन्टुलाल बनियालाई पनि होटेल ग्रिन लुम्बिनी भ्यू कसरी सञ्चालन गर्ने भन्ने चिन्ताले सताएको छ।

'पाँच करोड रूपैयाँको लागतमा आठ वर्षअघि निर्माण गरेको होटेलले आम्दानीले खर्च धान्न छाडेको छ, लगानी त परै जाओस् सञ्चालन खर्च समेत धान्न गाह्रो छ', उनले भने, 'मौसमी कमाईले वर्ष दिन धान्नुपर्ने बाध्यता छ।' यही अवस्था रहेमा होटल बन्द गर्नुबाहेक उनले अर्को विकल्प देखेका छैनन्।

images

केही समययता देखिएको आर्थिक मन्दीको असर धेरैतिर परेको अर्का व्यवसायी अब्दुल मोबिन बताउँछन्। 'केन्द्रीय नहरमा डुंगा चलाउन ठेक्का लिएकै वर्ष कोरोनाले थला पारेको व्यवसाय सुध्रन दुई वर्ष कुर्नुपर्‍यो' ठेकेदार (डुंगा सञ्चालक) अब्दुल मोबिन मुसलमानलले भने, 'अवस्था सुधारात्मक छ, पर्यटकको संख्या पनि बढ्दो छ तर दुई वर्षको घाटा पूर्तिको विकल्प छैन।'

लुम्बिनीमा प्रतिवर्ष हजारौँ तीर्थयात्री धार्मिक पूजा-अर्चना तथा अध्यात्म पाठ गर्न आउँछन्। ठेकेदार मुसलमानलले भने, 'संसारभरका बुद्धमार्गीहरुका लागि पवित्र गन्तव्य लुम्बिनीभित्र प्रवेश, बहिर्गमन मार्ग र व्यवसाय स्थलको तालमेल नमिल्दा लाभ लिन सकिएको छैन।'

सन् २०२३ को जनवरीदेखि मे महिनासम्म कुल चार लाख ७० हजार पाँच सय ४२ पर्यटक लुम्बिनी भित्रिएका छन्। गत वर्ष सन् २०२२ को यसै पाँच महिनामा तीन लाख ६२ हजार ५६ जनाले लुम्बिनी भ्रमण गरेका थिए। यसरी गत वर्षको भन्दा यस वर्षको संख्या एक लाख आठ हजार चार सय ८६ ले बढी रहेको तथ्यांक छ।

'लुम्बिनीमा पर्यटकको संख्या उल्लेख्य मात्रामा बढे पनि व्यापार भने बढ्न सकेको छैन,' लुम्बिनी पर्यटन व्यवसायी संघका अध्यक्ष ५८ वर्षीय हुसेनी लोधले भने, 'लुम्बिनीको प्रमुख पर्यटकीय गन्तव्य बुद्ध जन्मस्थल (मायादेवी मन्दिर) देखि बसपार्क छेउमा रहेको हाम्रो व्यवसाय स्थलको दुरी झन्डै दुई किमी छ, जुन त्यसै पनि व्यवसायका लागि हितकर छैन।'

लुम्बिनी घुम्न आउने जो सुकैले कम्तिमा एकपटक मायदेवी मन्दिर पस्ने नै भएकाले पर्यटन व्यवसायीलाई सोही नजिक व्यवसाय सञ्चालन गर्न पुनः व्यवस्था मिलाउनु पर्ने उनको माग छ। अहिलेको व्यवसाय स्थल र पर्यटकको सम्बन्ध व्यावहारिक नरहेको उनको भनाइ छ। 'विसं २०६९ अघि मायादेवी मन्दिर नजिक सञ्चालनमा रहेका पर्यटन व्यवसाय राम्रै चलेको थियो तर त्यसपछि सञ्चालनमा सहज भएको छैन', अध्यक्ष लोधले भने।

'लुम्बिनी विकास कोषले २०६९ सालमा व्यवसायीको संख्या ३४ बाट बढाएर ७० पुर्‍याइ बसपार्क छेउमा ल्याएर राखेपछि नै व्यवसाय बिग्रिएको हो', लोधले भने, '२०६९ सालदेखि हामी पिडित छौँ, पछिल्लो दुई वर्ष त कोरोनाले भ्यायो। पहिला मायादेवी मन्दिर नजिकको ठाउँमा दैनिक पाँच हजार रूपैयाँसम्म व्यापार हुन्थ्यो, अहिले शून्य छ।' पर्यटक नै नहुने ठाउँमा घाटाको व्यवसाय गर्नुको कुनै औचित्य नरहेको उनको भनाइ छ।

लुम्बिनीका व्यवसायीहरुले यहाँ भ्रमणमा आउने भारतीय पर्यटकहरुबाट खासै लाभ लिन सकेका छैनन्। भारतीय ट्राभल एजेन्सी र टुर गाइडहरु पर्यटकहरुलाई सिधै गाडीबाट ल्याउने र दुई/तीन घण्टा घुमाएर पुनः स्वदेश फर्काउने गरेकाले यहाँका व्यवसायीले सोचेअनुरुप लाभ लिन नसकेका हुन्। 'पर्यटकहरु हुर्रर आउँछन्, मायादेवी मन्दिर दर्शन गर्छन्, फोटो खिच्छन् र उही दिन फर्किहाल्छन्,' लुम्बिनी होटेल संघका अध्यक्ष गोविन्द ज्ञवाली भन्छन्, 'यसरी लुम्बिनी आउने पर्यटकको हुल हेर्ने र संख्या गनेर बस्ने मात्रै भयौँ, व्यवसायमा सुधार हुन सकेन।'

लुम्बिनी होटेल संघका अध्यक्ष ज्ञवाली लुम्बिनी घुम्न आउने पर्यटकको बसाइ लम्बाउने योजना र वातावरण मिलाउन नेपाल सरकार र लुम्बिनी विकास कोषसँग आग्रह गर्छन्। कम्तिमा एक रात मात्रै बास बसाल्ने वातावरण बनाउन सके पनि धेरै लाभ हुने उनको तर्क छ। 'भारतीय ट्राभल एजेन्सी र टुर गाइडको भर पर्दा यहाँ भारतीय पर्यटक बस्ने वातावरण नबनेको हो,' अध्यक्ष ज्ञवालीले भने, 'त्यसैले बेलहिया आइसकेपछि नेपाली टुर गाइडमार्फत भ्रमण नगराउँदासम्म यहाँ पर्यटकलाई एक रात पनि अडाउन सकिन्न।'

यसैगरी लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा तिलक आचार्यले बुद्ध जन्मस्थल लुम्बिनीलाई बुद्धको जीवनीसँग सम्बन्धित तिलौराकोट, रामग्राम र देवदहलाई जोडेर वृहत् अध्यात्मिक केन्द्र र शान्ति सहरको रुपमा विकास गर्न सके पर्यटकको बसाइँ लम्ब्याउन सकिने र व्यवसायीले पनि लाभ लिन सक्ने बताए। उनले भने, 'पर्यटकका लागि अत्यावश्यक सामग्रीको सहज उपलब्धता, शान्ति र सुरक्षाको प्रत्याभूति तथा आनन्दको अनुभूति दिने खालका अध्यात्मिक वातावरण तथा सोही अनुकूल भौतिक पूर्वाधार सिर्जना गर्न सकियो भने पर्यटन व्यवसाय वृद्धि हुने निश्चित छ।'

'आन्तरिक र बाह्य दुवै पर्यटकलाई लुम्बिनी आउँदा धेरै दिन भुलाउन मिल्ने छुट्टै अध्यात्मिक वातावरण र भौतिक पूर्वाधार चाहिन्छ', लुम्बिनी सांस्कृतिक नगरपालिकाका  पूर्व प्रमुख मनमोहन चौधरीले भने, 'लुम्बिनीको बृहत्तर विकासका लागि यस क्षेत्रका अन्य महत्वपूर्ण पर्यटकीय स्थललाई समेत जोडेर ‘टुर प्याकेज’ बनाउन सक्नुपर्छ।' उनले बौद्धमार्गी भएका विश्वका ३० भन्दा बढी देशमध्ये सम्भव भएका देशहरुमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा उडान भरेर धेरै पैसा खर्च गर्न सक्ने गुणस्तरीय पर्यटक तान्न सरकारी पहलको खाँचो औँल्याए।

लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्री सन्तोष पाण्डेय लुम्बिनीमा पर्यटकको बसाइँ लम्ब्याउन तीनै तहका सरकारबीच सहकार्य भइरहेको बताउँछन्। लुम्बिनी आउने पर्यटकलाई लुम्बिनी वरपरका पुरातात्विक तथा धार्मिक स्थल अवलोकन गराउने वातावरण मिलाउनुपर्ने उनको भनाइ छ।

भगवान गौतम बुद्धसँग सम्बन्धित ठाउँहरुमध्ये अन्यत्र भन्दा फरक लुम्बिनीको पहिचान र चिनारी राम्रोसँग दिन सक्यौं भने मात्रै पर्यटक रमाउने र खर्च गर्ने पूर्ब नगरप्रमुख मनमोहन चौधरी बताउँछन्। भारतको बोधगया, कुसीनगर, सारनाथ, अयोध्या, हरिद्वार र बनारसलगायतका सहरमा लुम्बिनीको बजारीकरण गरेर यहाँको पर्यटन प्रवर्द्धन गर्न सकिने उनको भनाइ छ।

उनले सरकारी निकायले लुम्बिनीको महत्वलाई अझ् गहिरोसँग बुझन् आवश्यक रहेको बताए। उनले लुम्बिनी एक÷दुई दिन घुमेर पुग्ने ठाउँ होइन, लुम्बिनी आउने कुनै पनि देशका पर्यटकले लुम्बिनी घुम्न र बुझ्न समय लाग्ने बताए। उनले भने, 'लुम्बिनी विश्वकै अति महत्वपूर्ण, पवित्र र अलौकिक स्थल हो यसको भ्रमण गर्न जो सुकैका लागि कम्तिमा पनि एक हप्ता चाहिन्छ।'

लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वज राईले पर्यटकीय विभिन्न सम्पदाहरुको निर्माणका कार्यहरु भइरहेकाले विस्तारै पर्यटकहरुको आकर्षण बढ्ने बताए। यसका लागि तीनै तहका सरकार, व्यवसायीको सहकार्यमा उनको जोड छ।

सूचना अधिकृत राईका अनुसार लुम्बिनी भ्रमणमा आउने अधिकांश आन्तरिक पर्यटकको बसाइ एक दिनको पनि नभएको तर तेस्रो मुलुकका पर्यटकको बसाइ अवधि विगतभन्दा बढ्दै गएर औसतमा १.८८ दिन पुगेको छ।

कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मेत्तेय) ले लुम्बिनीमा पर्यटक संख्यामा वृद्धि हुनुले विश्व समुदायमा बिस्तारै लुम्बिनीको प्रचारप्रसार बढ्दै गएको बताउँछन्। रासस


प्रकाशित : मंगलबार, जेठ ३० २०८०१०:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend