शुक्रबार, असोज ४ गते २०८१    
images
images

वसन्त ऋतुमा सगरमाथा आरोहणका क्रममा ७ नेपालीसहित १७ आरोहीको मृत्यु

images
मंगलबार, जेठ ३० २०८०
images
images
वसन्त ऋतुमा सगरमाथा आरोहणका क्रममा ७ नेपालीसहित १७ आरोहीको मृत्यु

नेपाल, भारत, चीन, मलेसिया, सिंगापुर, अष्ट्रेलिया, अमेरिका, क्यानाडा र हंगेरी गरी नौ देशका नागरिकको सगरमाथा आरोहणका क्रममा मृत्यु भएको हो। बढी चिसो भएका कारण पनि धेरै संख्यामा आरोहीको मृत्यु भएको कीर्तिमानी आरोही कामीरिता शेर्पाले बताए।

images
images

काठमाडौं- सन् २०२३ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा जसरी सर्वाधिक आरोहणको इतिहास रचियो, त्यसैगरी केही दुःखद् घटनाको पनि सामना गर्नुपर्‍यो।

images
images
images

यस यामको सगरमाथा आरोहणमा ठूला विपद्‌बिना नै १७ जनाको मृत्यु भयो। पर्यटन विभागका अनुसार मे २६ तारिखसम्म सगरमाथा आरोहणका क्रममा सात नेपाली र १० विदेशीसहित १७ जनाको मृत्यु भएको हो। 

नेपाल, भारत, चीन, मलेसिया, सिंगापुर, अष्ट्रेलिया, अमेरिका, क्यानाडा र हंगेरी गरी नौ देशका नागरिकको सगरमाथा आरोहणका क्रममा मृत्यु भएको हो। यस वर्षको सगरमाथा आरोहणमा प्रतिकूल मौसम अर्थात् बढी चिसो भएकाले पनि धेरै संख्यामा आरोहीको मृत्यु भएको २८ पटक सगरमाथाको आरोहण गरेर विश्वकीर्तिमान कायम गरेका कीर्तिमानी आरोही कामीरिता शेर्पाले बताए। 'यसपालि चिसो बढी थियो, मौसमले पनि साथ दिएन, कतिपय दक्ष र अनुभवी गाइड पर्याप्त नभएकाले पनि मृत्यु बढेको हुनसक्छ', उनले भने।

विभागको पर्वतारोहण शाखाका निर्देशक युवराज खतिवडाका अनुसार प्रतिकूल मौसमका कारण यो वर्ष धेरै संख्यामा आरोहीको दुःखद् मृत्यु भएको छ। 'यो पटक मौसमकै कारण धेरै आरोहीको मृत्यु भएको हो, मौसम सफा भयो भनेर आरोही अघि बढे बिचमा मौसम छिटोछिटो परिवर्तन भयो। यसपटक मौसम प्रतिकूलताका कारण नै धेरैको मृत्यु भएको छ', उनले भने।

images

यस याममा आरोहीको संख्या बढी भएको भनी प्रचारमा आएको विषय सत्य नरहेको भन्दै निर्देशक खतिवडाले मौसमले साथ नदिएकाले आरोहीको भिड बढेको उल्लेख गरे। उनले भने, 'विदेशी सञ्चार माध्यमले आलोचना गरिरहेका छन् धेरै आरोहीलाई अनुमति दिइयो भनेर तर हामी (पर्यटन विभाग) त्यसलाई स्वीकार गर्दैनौँ।'

निर्देशक खतिवडाले ३० दिनका लागि कुल चार सय ७८ आरोहीलाई आरोहण अनुमति दिइएको र औसतमा दैनिक १६ जनाको आरोहण हुने अनुमानसहित आरोहण अनुमति दिइएकाले आरोहीको संख्या बढी भनेर आलोचना गर्नुको तुक नरहेको बताए। चुचुरोसम्म बाटो बनाउने आइसफल डाक्टर पनि अनुकूल मौसमको पर्खाइमा आधार शिविरमा छन्। मौसमले साथ दिएमा छिट्टै उनीहरुले सगरमाथाको चुचुरोसम्म डोरी टाँगेर आरोहण सुरु भएको सन्देश दिने इमाजिन नेपालका कार्यकारी निर्देशक दावा ग्याल्जेन शेर्पाले जानकारी दिए।

धेरै संख्यामा आरोहीलाई अनुमति दिइएकाले सगरमाथामा मृत्यु पनि बढेको र आरोहीको जाम लागेको भन्ने विदेशी सञ्चारमाध्यमका कुरा सत्य नभएको बरु प्रतिकुल मौमसका कारण केही दिन आरोहीहरुले एकै समयमा बढी भिडभाड गरेकाले  धेरै संख्यामा मानवीय क्षति भएको नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाको भनाइ थियो। 

'यस यामको सगरमाथा आरोहणमा मौसमका कारणले धेरै मृत्युदर बढेको देखिन्छ। कुनै आकस्मिक र ठूलो विपद् त हैन मौसमकै कारणले धेरै मानवीय क्षति भयो', उनले भने।

विभागका अनुसार सामान्यतयः अप्रिल अन्तिमसम्म ‘रोप फिक्सिङ’को काम सकिन्छ। मे महिनाभरी आरोहण चल्छ। यो संख्या सगरमाथामा भएका ठूला विपद्पछिको सबैभन्दा धेरै हो। यसअघि सन् २०१५ (विस २०७२ बैशाख १२ गते) आएको गोरखा महाभूकम्पका कारण १९ जनाको मृत्यु भएको थियो। त्यसअघि सन् २०१४ मा खुम्बु आइसफलमा गएको हिमपहिरोमा परी १६ जनाको मृत्यु भएको थियो। मौसम प्रतिकूलताका साथै हाईअल्टिच्यूटका कारण पनि यो वर्ष धेरै आरोहीको मृत्यु भएको इमाजिन नेपालका कार्यकारी निर्देशक दाबा ग्याल्जेन शेर्पाले बताए।

कुन मितिमा कुन-कुन देशका आरोहीको मृत्यु?

सगरमाथा आरोहणको बाटो खुलाउने क्रममा अप्रिल १२ तारिखका दिन खुम्बु क्षेत्रमा तीन शेर्पा बेपत्ता भएका थिए। पर्यटन विभागका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका-५ निवासी दाछिरी शेर्पा, पेम्वा तेन्जिङ शेर्पा र लाक्पा रीता शेर्पा हिउँको ढिस्कोले पुरिएर बेपत्ता भएका हुन्। उनीहरु इमाजिन नेपाल ट्रेक्सबाट खटिएका थिए। सगरमाथाको चुुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) को सामान लैजानेक्रममा उनीहरु हिउँको ढिस्कोमा बेपत्ता भएका थिए।

सन् २०२३ को वसन्त ऋतुमा सगरमाथा हिमालको दोस्रो शिविरदेखि चुचुरोसम्म ‘रोप फिक्सिङ’ गर्न पर्यटन विभागबाट पर्वतारोहण सञ्चालक संघलाई जिम्मेवारी दिइएको थियो। सो कामको जिम्मा पाएको इमाजिन नेपाल ट्रेक प्रालिका तर्फबाट दावा ग्याल्जे शेर्पाको नेतृत्वमा एक फोटोग्राफरसहित नौ शेर्पाले ‘रोप फिक्सिङ’ गरेका थिए। मृतकमध्ये तीन नेपाली र तीन विदेशीसहित ६ जनाको सगरमाथा आरोहपछि मृत्यु भएको थियो भने बाँकी ११ जनाको आरोहणका क्रममा मृत्यु भएको थियो। ह्याप्पी फिट कम्पनीबाट आरोहणमा जानुभएका नेपाली आरोही रञ्जित कुमार झाको २५ तारिखका दिन मृत्यु भएको थियो। एक्सिपीडिसन हिमालयबाट जानुभएका लाक्पा नोर्बु शेर्पाको पनि सोही दिन मृत्यु भएको थियो।

त्यस्तै पिक प्रमोसन कम्पनीबाट आरोहणमा गएका फुर्बा शेर्पाको मे १६ तारिखका दिन मृत्यु भएको थियो। त्यसैगरी विदेशी नागरिक क्रमशः मलेसियाका एज आकासान्दर विन अम्पुअन याक्कुवको मे १९ मा, सोही दिन सिंगापुरका श्रीनिवास सान्स दत्त र अष्ट्रेलियाका जासोन्ब बर्नाड लेलिन्सोनको मे १९ मा मृत्यु भएको थियो। उनीहरु क्रमशः पायोनियर एक्सिपीडिसन सेभेन समिट ट्रेक्स र एसियन ट्रेकबाट आरोहणमा गएका थिए।

त्यस्तै भारतका सुबान्ने लियोपोल्डिएनको  मे १८मा लुक्लामा मृत्यु भएको थियो। उनी ग्लेसियर ट्रेकिङ कम्पनीबाट आरोहणमा गएका थिए। त्यस्तै एटके एक्सिपीडिसनबाट आरोहाणमा गएका चिनियाँ नागरिक जुएविन चेनको मे १८ मा सगरमाथाको साउथ समिटमा मृत्यु भएको थियो। त्यसैगरी मे १मा सगरमाथाको दोस्रो शिविरमा अमेरिकी नागरिक जोन थान सुगरम्यानकोे मृत्यु भएको थियो। उनी इमेज कम्पनीबाट आरोहणमा गएका थिए।

अप्रिल १२ का दिन इमाजिन नेपालबाट गएका लाक्पा रीता शेर्पाको खुम्बु आइसफलमा मृत्यु भएको थियो। मे २१ तारिखमा पिक प्रमोसन कम्पनीबाट आरोहणमा गएका आङकामी शेपाको सगरमाथाको दोस्रो शिविरमा मृत्यु भएको थियो। क्यानेडियन नागरिक एस पेटरुस अल्वर्टयनकोे मे २५मा सगरमाथाको तेस्रो शिविरमाथि मृत्यु भएको थियो। उनी हिमालयन गाईड कम्पनीबाट आरोहणमा गएका थिए। सेभेन समिट ट्रेक्सबाट जानुभएका हंगेरीका स्जीलार्ड सुहाजडाको हिलारी स्टेपमा मे २४मा मृत्यु भएको थियो।

यस यामको सगरमाथा आरोहण गत बैशाख ३० गते देखि सुरु भएको थियो। झन्डै जेठको तेस्रो सातासम्म आरोहण भएको थियो। सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले बाटो बनाएको थियो।

संघका पूर्वअध्यक्ष शेर्पाका अनुसार सन् २०१४ को हिमपहिरो र सन् २०१५ को महाभूकम्पछि यसवर्ष सबैभन्दा धेरै आरोहीको मृत्यु भएको हो। यकिन तथ्यांक नभए पनि सन् १९५३ देखि हालसम्म तीन सय २८ जनाको मृत्यु भएको बताइन्छ। हालसम्म झण्डै आठ हजारले सगरमाथा आरोहण गरिसकेका छन्। व्यक्तिगतरूपमा मात्रै एघार हजार हाराहारी आरोहीले सगरमाथा चढेको उनले जानकारी दिए।

यो याममा सगरमाथाको चौथो शिवविरसम्म बाटो खोलिसकेपछि उच्च हिमाली क्षेत्रमा लामो समयसम्म चलेको चर्को हावा र खराब मौसमका कारण सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ गरी बाटो खोल्ने काममा केही ढिला भएको विभागले जनाएको छ। मौसम बिग्रिएकाले झण्डै दुईसाता ढिलोगरी आरोहण सुरु भएको थियो। सगरमाथा क्षेत्रमा प्रतिघण्टा ३५ देखि ४० किलोमिटर हावाको बेग चलेकाले आरोहणमा कठिनाइ भएको थियो।

सगरमाथा आरोहणको ७० वर्षे इतिहासमा यस वर्ष हालसम्मकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका थिए। पर्यटन विभागका अनुसार यस याममा ४७ आरोही समूहका चार सय ७८ आरोहीले आरोहण अनुमति लिएकामा शेर्पा सहयोगीसहित ६०० हाराहारीले सगरमाथा आरोहण गरेका थिए। नेपालसहित ६५ देशका नागरिकले अनुमति लिएका थिए। 

सन् १९५३ मे २९ तारिखका दिन दुई साहसी पर्वतारोही नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एड्मन्ड हिलारी सगरमाथाको चुचुरोमा पुगेका थिए। सगरमाथा चढ्ने होडबाजीका साथै आरोहीहरूले नयाँ-नयाँ कीर्तिमानसमेत थप्दै आएका छन्। कामीरिता शेर्पाले २८ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाएका छन्। उनले वसन्त ऋतुको आरोहणमा सगरमाथाको दुई पटक क्रमशः जेठ ३ गते र जेठ ९ गते सगरमाथाको चुचुरोमा पुगेर आफ्नै कीर्तिमान तोडेका थिए।

यस्तै पासाङ दावा शेर्पाले यही यामसम्ममा सगरमाथाको २७ पटक आरोहण गरी कीर्तिमान कायम गरेका छन्। उनले यही याममा दुई पटक आरोहण गरी नयाँ रेकर्ड दर्ता गराएका हुन्। दुवै खुट्टा नभएका पूर्वव्रिटिस गोर्खा सैनिक हरि बुढामगरले यसै याममा सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाएका छन्। गत जेठ ५ गते सगरमाथाको चुचुरोमा पुगेर बुढामगरले कीर्तिमान बनाएका हुन्। रासस


प्रकाशित : मंगलबार, जेठ ३० २०८००९:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend