शुक्रबार, असोज ४ गते २०८१    
images
images

चिवाभञ्ज्याङबाट नेपाल चियाउँदा...

images
सोमबार, जेठ २९ २०८०
images
images
चिवाभञ्ज्याङबाट नेपाल चियाउँदा...

केही वर्षअघि नेपालले सडकको ट्र्याक पुर्‍याएको थियो भने यसैवर्ष भारतले पनि सीमा नाकामा सडक सञ्जाल विस्तार गरेको छ। भारततर्फ सिक्किमको देन्ताम, उत्तरे हुँदै नाकामा आउन सकिन्छ भने नेपालतर्फ पाँचथरको फिदिमबाट च्याङथापु, फलैँचा हुँदै चिवाभञ्ज्याङ पुग्न सकिन्छ। 

images
images

रुपन्देही- तमालले छोपेको जंगलभित्र सेता र राता गुराँसले ढाकिएको डाँडाको बीचमा रहेको चिवाभञ्ज्याङको टाकुराबाट नेपालतर्फ चियाउँदाको बेग्लै अनुभूति। हरियाली जंगल छेउमा रहेका बस्तीको सौन्दर्यताको वर्णन गरेर सकिन्न।

images
images
images

जंगलमा लटरम्मै फुलेका सेता र राता गुराँसको चर्चा जति भइरहन्छ, त्यति नै चिवाभञ्ज्याङको डाँडाबाट देखिएका नेपाली गाउँहरुको। दश हजार हजार दुई सय ९९ फिटको उचाइमा रहेको चिवाभञ्ज्याङमा पुग्दा जो कोहीलाई पनि आनन्द महसुस हुन्छ। 

भारतको सिक्किम राज्यको गेजिङ र सोराङ जिल्लासँग नेपालको पाँचथर जिल्लाको सीमा नाकासँग जोडिएको ठाउँ हो चिवाभञ्ज्याङ। सिक्किमको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको भञ्ज्याङबाट नेपाल हेर्न आउने पर्यटकको लर्को नै लाग्ने गरेको छ यतिबेला।

'उहिलेको बाटोमाथिको रमिते ढुंगा हुँदै हिँड्ने बाटो थियो। त्यतिबेला जंगलैजंगलको पहाडमा थुप्रिएको हिमाली बाटोमा बजु, आमाहरु आएको मानसपटलमा घुमिरहन्छ', हिमालय फाउन्डेसनका अध्यक्ष गणेश याङ्माले चिवाभञ्ज्याङबाट नेपालतर्फ देखाउँदै भने, 'त्यो पारि देखिएको वासिम खोलामाथि पिप्लाटे डाँडा रहेको छ। धेरैपर चित्रे, पिप्लाटे छ। सीमा पार गरेर गएपछि आउने पहिलो गाउँ हो याकलिङ। कटौसे गाउँ छ। पर गएर साँगा डाँडा छ, साँगाभन्दा पर बेगा लिम्बु जातिको बस्ती छ। त्यहाँ पर बेतनी भन्ने गाउँ छ, अझै पर कालीखोला गाउँ छ। साँगा डाँडा तल च्याङथापु बजार छ।'

images

उनले कुहिरोले ढाकेको डाँडातर्फ संकेत गर्दै ताप्लेजुङको पाथिभरा भएको समेत बताए। सीमा क्षेत्रमा नेपालको अन्य सीमानामा जस्तो जंगे पिल्लर पनि छैन। सामान्य सीमा छुट्याउने सिमेन्टको ४८ नम्बरको पिल्लर रहेको छ। नेपालतर्फ सशस्त्र प्रहरी बलको पोस्ट रहेको छ भने भारततर्फ सिक्किम प्रहरी र सशस्त्र सीमा सुरक्षा बलको युनिट रहेको छ।

सीमा सुरक्षाका लागि खटिएका दुवैतर्फका सुरक्षाकर्मी आआफ्नो देशको भूगोलको मात्रै होइन, पर्या-पर्यटन बचाउन पनि लागिपरेको देखिन्छ। न त्यहाँ कुनै सीमा तनाव छ न त अन्यत्र जस्तै सुरक्षा जाँच। पाँचथरको याङ्वरक गाउँपालिका-१ मा पर्ने उक्त सीमा नाका सिक्किम राज्यसँग जोडिएको एक मात्र नेपालको अन्तर्राष्ट्रिय सिमाना हो।

मध्यपहाडी लोकमार्ग पुगेपछि आन्तरिक पर्यटकको रोजाइको केन्द्र बनेको छ चिवाभञ्ज्याङ। लेकाली फूल फुलेको बेला र विभिन्न चाडपर्वका अवसरमा यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गर्दछ। गुराँस र चिमाल ढकमक्क फुलेको  मृग, भालु, चित्तल, कालीज, घोरल, वन कुकुरजस्ता वन्यजन्तु चिराइतो, बुढोओखती, पाखनवेद, सतुवा, पाँचऔंले चिमाललगायतका जडीबुटी पाइन्छ। नेपाल र भारतको सिमाना मध्यपहाडी लोकमार्गको उद्गमथलो च्याङथापु-५, चिवाभञ्ज्याङ हरियाली वनजंगल, दुर्लभ मानिले वन्यजन्तु र जडीबुटी पाइने मनमोहक चिवा आन्तरिक पर्यटकका लागि पुलकित हुने स्थान बनेको छ। 

मध्यपहाडी लोकमार्गको उद्‌गमथलो च्याङथापु-५, चिवाभञ्ज्याङसम्म सडक पुगेको छ। भारततर्फ रहेको सिक्किमले पनि उत्तरेबाट करिब २२ किमिको सडक चिवाभञ्ज्याङसम्म पुर्‍याएपछि यहाँ दुई राष्ट्रबीचको पर्यटकीय गन्तव्य एवं व्यापारिक केन्द्र बन्ने सम्भावना बढेको छ। प्राकृतिक दृष्टिले अनुपम चिवासम्म सडक पुगेपछि यहाँको सुन्दरताको दृश्यावलोकन गर्न आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ। मध्यपहाडी लोकमार्गको ट्रयाक पुगेदेखि चिवाभञ्ज्याङले चर्चा पाएको हो। सडक बनेसँगै पश्चिम सिक्किमको उत्तरे हुँदै नेपालको ताप्लेजुङ, पाँचथर, च्याङथापुलगायतका क्षेत्रसँग प्रत्यक्ष जोडिएको छ।

सिक्किम उत्तरेका पर्यटन व्यवसायी पेमा वांगचुक शेर्पाले चिवाले पदयात्रामा आउने पर्यटकलाई आकर्षित गर्ने विभिन्न कार्यक्रम आयोजना गरिएको बताउँछन्। 'पर्यटन क्षेत्रमा पदयात्राको मुख्य भूमिका रहेको तर पदयात्रामा आउने पर्यटकहरुले नयाँ-नयाँ गन्तव्यहरु खोज्ने गरेका छन्', शेर्पाले भने, 'नेपालतर्फबाट कञ्चनजंघाको आधार शिविरसम्म पुग्ने बाटोलाई सहज बनाएमा पदयात्रा गर्ने पर्यटकहरुलाई सहज हुनेछ।'

चिवाभञ्ज्याङ हुँदै नेपालको पाथीभरा दर्शनको सहज बाटो खुल्ने पनि शेर्पाले सम्भावना रहेको बताए। नेपाल र सिक्किमको सम्बन्ध पराम्परादेखि नै रोटीबेटीको सम्बन्ध चलिआएको छ। यसबाहेक यो नाकाले नेपाल र सिक्किमतर्फका नागरिकलाई स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा पनि सहजता पुग्ने उनको भनाइ छ।

भञ्ज्याङमै फलैँचाका युवा हिमाल बेगाले घरवास (होमस्टे) चलाइरहेका छन्। जस्तापाताले छाएको होमस्टेमा स्थानीय प्रजातिका कुखुराको भालेको स्वर सुनसान जंगलमा धेरैबेरसम्म सुनिरहुँझै लाग्छ। बेगाको होमस्टेमा रात बिताउनेहरुको अनुभूति झनै लोभलाग्दो रहेको छ। होमस्टे सञ्चालक बेगाले भने, 'डाँडामा जे पाइन्छ त्यसैले स्वागत गर्छौँ , यहाँ सबै खानेकुरा स्थानीय उत्पादन पाइन्छ। चिवाभन्जायाङको आसपासको जंगलमा लोपोन्मुख रेडपान्डा पनि पाइन्छ।' 

विसं २०२६ ताका तीन दिन हिंडेर चिवाभञ्ज्याङ हुँदै सिक्किमको उत्तरे, देन्ताम पुगेका पाँचथरको आङसाराङ मेहलबोटेका उमेशचन्द्र रिजाल यतिबेला सेवानिवृत्त जीवन बिताइरहेका छन्। चार दशक त्रिभुवन विश्वविद्यालयमा भूगोल र समाजशास्त्र प्राध्यापन गरेका रिजाल भन्छन्, 'सामाजिक र भौगोलिक दुवै दृष्टिकोणले चिवाभञ्ज्याङ नेपालका लागि महत्वपूर्ण नाका हो। विसं २०२६ मा गोरेटो बाटो हिंडेर सिक्किम गएको थिएँ। घोडा हिँड्न पनि मुस्किल थियो। यतिबेला नेपाल र भारत दुवैले नाकामा बाटो पुर्‍याएको सुन्दा खुशी लागेको छ।'

प्रा रिजाल चिवाभञ्ज्याङ नाकामा भन्सार राखेमा त्यसले भारतलाई भन्दा बढी नेपाललाई फाइदा पुग्ने बताउँछन्। उनले भने, 'प्राचीनकालदेखि नै नेपाल र सिक्किमबीच बिहेबारी चल्दै आएको र अहिले पनि चिवाको वारिपारिको गाउँमा बिहेबारी चल्छ। भौगोलिक विकटता छ तर प्राकृतिक सुन्दरता र सामाजिक परम्पराले धेरै सहज गराइरहेको छ। दुवै देशले चाहेमा चिवाभञ्ज्याङमा भन्सार राखेमा व्यापार बढाउन तथा पर्यटन विकासमा समेत टेवा पुग्ने देखिन्छ।'

सिक्किम नेपाली भाषीहरुको बाहुल्यता भएको भारतको राज्य हो। यहाँको सरकारी कामकाजको भाषा पनि नेपाली हो। झट्ट हेर्दा सिक्किमेलीहरु नेपालीझैँ देखिन्छन् पनि। यसैले सिक्किमसँग जोडिएको चिवा नाका भाषा र प्रेमका दृष्टिले पनि नेपाल र भारतका अन्य नाकाभन्दा विशेष महत्वपूर्ण नाका बन्न सक्ने देखिन्छ।

पश्चिम सिक्किम सोरेङ निवासी पत्रकार के एन शर्माले पुर्खाहरुले गाईभैंसी चराउने चिवाभञ्ज्याङ आजकल पर्यटक चर्ने ठाउँ बनिरहेको बताए। उनले भने, 'अन्तर्राष्ट्रिय सीमा नाका मात्रै नभएर महत्वपूर्ण पर्यटकीय गन्तव्य बनिरहेको छ। प्राकृतिक सौन्दर्यताको धनी यो ठाउँमा हिँउदमा पर्यटकहरु आउने गरको देखिन्छ।' होटल एशोसियन पेलिङका अध्यक्ष नारयण खनालले चिवाभञ्ज्याङको नाका दुवै देशका पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि कोसेढुंगा सावित हुने बताए।

याङवरक गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङवा (सुभास) चिवाभञ्ज्याङमा स्थानीय पालिकाको क्षेत्राधिकारभित्र रहेर काम गरिरहेको बताउँछन्। मध्यपहाडी लोकमार्गको बाटो कालोपत्रे सकिएमा चिवाभञ्ज्याङसम्म पुग्न सहज हुने भएकाले त्यसका लागि पनि पहल गरिरहेको बताउँछन्। पाँचथरको सदरमुकाम फिदिमदेखि एक सय चार किमिको दूरीमा रहेको चिवाभञ्ज्याङसम्म मध्यपहाडी लोकमार्गले छोएको छ। कच्ची बाटो भएकाले वर्षात्को समयमा बाटो रोकिएता पनि हिँउदमा भने सहज भइरहेको देखिन्छ। 

अध्यक्ष योङवाले सिक्किमको उत्तरे, देन्ताम, पेलिङ हुँदै भारतको सिक्किम, दार्जिलिङ, पश्चिमबंगाल जान मात्रै होइन, भारतको विभिन्न क्षेत्रमा जान चिवा नाका सहज र सरल हुने बताए। उनले पाथिभरा दर्शनका लागि जाने भारतीय तीर्थयात्री वा चिवाभञ्ज्याङ नाका हुँदै आउने पर्यटकका लागि पनि उक्त नाका अत्यन्तै छोटो र सहज हुने बताए। चिवाभञ्ज्याङबाट च्याङथापु, याङरुक हुँदै पाथिभरा जान सकिन्छ। चिवा क्षेत्रमा लोपोन्मुख रेडपान्डासमेत पाउने गर्दछ।

पाँचथरबाट संघीय सांसद वसन्त नेम्वाङले चिवाभञ्ज्याङसम्मको भौतिक पूर्वाधारका लागि सक्रियतापूर्वक काम गरिरहेको बताए। आफू भौतिक योजना तथा निर्माण मन्त्री हुँदा सडकको काम अगाडि बढाएको बताए। उनले चिवाभञ्ज्याङसम्म नै कालोपत्र गर्ने गरी बोलपत्र निकालेर पहिलै काम सुरू गरेको भएपनि ठेकेदारको ढिलासुस्तीले काम हुन नसकेको बताए। करिब दुई अर्ब रूपैयाँको हाराहारीको बजेटमा सडक निर्माणको काम भइरहेको नेम्वाङले जानकारी दिए। उनी भन्छन्, 'सिक्किमेली र पाँचथरवासीको सम्बन्ध मात्रै नभएर नेपाल र भारतीय सीमा भएकाले हामी यो नाका खुलाउन प्रयासरत छौँ।'

केही वर्षअघि नेपालले सडकको ट्र्याक पुर्‍याएको थियो भने यसैवर्ष भारतले पनि सीमा नाकामा सडक सञ्जाल विस्तार गरेको छ। भारततर्फ सिक्किमको देन्ताम, उत्तरे हुँदै नाकामा आउन सकिन्छ भने नेपालतर्फ पाँचथरको फिदिमबाट च्याङथापु, फलैँचा हुँदै चिवाभञ्ज्याङ पुग्न सकिन्छ। 

चिवाभञ्ज्याङको रिपोर्टिङका लागि त्यहाँ पुगेका पत्रकारहरुसँग कुरा गर्दै सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले नेपाल र भारतको उक्त नाका खोल्न सिक्किम सरकार सकारात्मक रहेको बताए। उनले भने, 'नेपालबाट उत्तरेमा आउने, सिक्मिमबाट नेपालतर्फ जाने प्रचलन पुरानो हो। पश्चिम सिक्किमको गेजिङ र सरदुङ जिल्ला जोड्ने चिवाभञ्ज्याङसम्म सडक विस्तार गरिएको छ।'

चिवाभञ्ज्याङ नाका खोल्न प्रधानमन्त्री नरेन्द्र मोदीसँग धेरैपटक कुरा गरेको र भारत सरकारले सकारात्मकरुपमा लिएको उनले बताए। जोथाङदेखि नै दोहोरो गाडी गुड्ने सडक बनाएर काम गर्न लागिपरेको र नेपालका नागरिकलाई  सिक्किम आउन र सिक्किमका जनता पाँचथर, ताप्लेजुङ, पाथिभरा हुँदै काठमाडौं जान पनि यो नाका खोल्नु जरुरी रहेको उनको भनाइ छ। रासस


प्रकाशित : सोमबार, जेठ २९ २०८०१०:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend