शुक्रबार, असोज ४ गते २०८१    
images
images

निजी क्षेत्रसँगको सहकार्यबिना समृद्धि सम्भव छैन : प्रधानमन्त्री

images
बिहीबार , जेठ २५ २०८०
images
images
निजी क्षेत्रसँगको सहकार्यबिना समृद्धि सम्भव छैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले उच्च मुद्रास्फीति र अस्थिर ब्याजदरले असर पारेको भन्दै यसका लागि सरकारले उपयुक्त कदम चाल्ने बताए।

images
images

लुम्बिनी- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार निजी क्षेत्रसँगको सहकार्यबिना देशमा समृद्धि सम्भव छैन भन्ने कुरामा स्पष्ट रहेको बताएका छन्। मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको निजी क्षेत्रलाई लगानी एवं व्यवसायका क्षेत्रमा आइपर्ने जस्तासुकै समस्या हल गर्न सरकार सदैव तत्पर रहेको समेत उनले स्पष्ट पारे।

images
images
images

प्रधानमन्त्री दाहालले आज बुटवल हिल्सद्वारा प्रवर्द्धित लुम्बिनी केबलकारको उद्‌घाटन गर्दै आफू नेतृत्वको सरकारले देश विकास र समृद्धिको यात्रामा निजी क्षेत्रलाई साथ लिएर अघि बढ्न चाहेको बताए।

'म निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीका सम्भावनालाई हरेक समय खुला राख्ने पक्षमा छु', उनले भने, 'कोरोना महामारीका कारण प्रभावित अर्थतन्त्रको विकासका लागि आर्थिक क्रान्ति जरुरी भइसकेको छ।' उनले सरकारले यसअघि निजी क्षेत्रका लागि विभिन्न आर्थिक प्याकेज ल्याएको समेत बताए।

उनले बुद्धको जन्मस्थल लुम्बिनी जस्तो महत्वपूर्ण स्थानमा केबलकार तथा पाँचतारे होटलसहित पर्यटकीय संरचना निर्माण गर्दा यहाँको स्थानीय मात्र नभएर राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे।

images

प्रधानमन्त्री दाहालले पर्यटन क्षेत्रको बहुआयमिक विकासका निम्ति भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालन, होटललगायत पर्यटन पूर्वाधार निर्माण, सुरक्षा प्रबन्ध एवं पर्यटकको बसाइ लम्ब्याउन सरकारले आवश्यक नीति अवलम्बन गर्ने जानकारी दिए।

उनले अर्थतन्त्रलाई चलायमान बनाउन र उद्योग-व्यवसायलाई संकटबाट जोगाउन रोकिएको घरजग्गा कारोबारलाई सञ्चालन गर्ने निर्णय गरिएको र यसले अर्थतन्त्र सुधारका क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने बताए। उनले उच्च मुद्रास्फीति र अस्थिर ब्याजदरले असर पारेको भन्दै यसका लागि सरकारले उपयुक्त कदम चाल्ने विश्वास दिलाए।

उनले अब देश विकासको मोडलबारे पुनर्विचार गर्न आवश्यक रहेको धारणा राखे। 'हालसम्मका योजनाबद्ध विकासका प्रयासबाट भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, लैंगिक समानता, समावेशीता जस्ता क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भए पनि उत्पादन र रोजगारीको क्षेत्रमा भएको प्रगति उत्साहजनक छैन', उनले भने।

प्रधानमन्त्री दाहालले साझा संकल्प भए मात्रै विकास र समृद्धिमा गुणात्मक सुधार ल्याउन सकिने स्पष्ट पारे। उनले नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै भारत भ्रमणका क्रममा पनि आफूले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानीका लागि आह्वान गरेको जानकारी दिए। रासस 


प्रकाशित : बिहीबार , जेठ २५ २०८०१०:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend