शुक्रबार, चैत १ गते २०८१    
शुक्रबार, चैत १ २०८१
images
images

सुस्ताएको सहस्राब्दी पदमार्गको पुनःप्रवर्द्धन तथा बजारीकरण गरिँदै

images
बिहीबार , जेठ २५ २०८०
images
images
सुस्ताएको सहस्राब्दी पदमार्गको पुनःप्रवर्द्धन तथा बजारीकरण गरिँदै

समुद्री सतहबाट चार सय २० मिटरदेखि एक हजार सात सय १५ मिटर उचाइसम्मको यो पदयात्रा मार्ग उच्च पहाडी स्थानमा जान नसक्ने तर पदयात्राको इच्छा राख्नेका लागि उपयुक्त मानिन्छ।

images
images

गण्डकी- सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) को पुनः प्रवर्द्धन एवं बजारीकरण गरिने भएको छ।

images
images

मिलेनियम ट्रेक व्यवस्थापन समितिको आयोजना एवं नेपाल पर्यटन बोर्डको सहआयोजनामा एवं प्रवर्द्धनमा कोरोनालगायतका कारण सुस्ताएको उक्त पदमार्गको पुनःबजारीकरण गर्न लागिएको हो। पदयात्रा पर्यटनमा गति लिँदै गरेको अवस्थामा विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीले यस पदमार्ग क्षेत्र प्रभावित बनेसँगै यसको पुनःप्रवर्द्धन एवं बजारीकरण अपरिहार्य भएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए।

images
images

'कोरोना महामारीपछि यस क्षेत्रको पदयात्रा सुस्ताएको छ', उनले भने, 'सुस्ताएको पदयात्रा पर्यटनलाई पुनःजागरण गराउने उद्देश्यका साथ यही जेठ २६ गतेदेखि ३१ गतेसम्म यस क्षेत्रमा प्रवर्द्धनात्मक कार्यक्रमलाई अघि बढाएका छौँ।'

images
images

विसं २०५६ देखि सञ्चालनमा आएको मिलेनियम ट्रेकको पहिलो नक्सांकन २०६४/६५ मा गरिएको थियो। समुद्री सतहबाट चार सय २० मिटरदेखि एक हजार सात सय १५ मिटर उचाइसम्मको यो पदयात्रा मार्ग उच्च पहाडी स्थानमा जान नसक्ने तर पदयात्राको इच्छा राख्नेका लागि उपयुक्त मानिन्छ। तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोडिने यो पदमार्ग ७२ किमी लम्बाइको छ। प्रवर्द्धनात्मक कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रतिनिधि, पर्यटन व्यवसायी एवं यस पदमार्ग क्षेत्रका सरोकारावालासहित २५ जना सहभागिता रहने उनले जानकारी दिए।

कार्यक्रमअन्तर्गत जेठ २६ गते तनहुँको दुलेगौँडाबाट सुरु हुने पदयात्रा जेठ ३१ गते स्याङ्जाको रामबाछामा पुगी सम्पन्न हुनेछ। पदयात्राका क्रममा पदमार्ग क्षेत्रका ऐतिहासिक ढोर मुलकोट दरबार, रजस्थल, घरेडी, मिलेनियम गुफा, काल्खु, राइपुर, कोल्मा, भैसेगौँडा, चन्द्रकोट, गैरीस्वाँहारा, बानेथोक, भञ्ज्याङ, देउपुजे ढुंगा, सिंगारकोट, बुढाकोट, राम्चे, गहते मनकामना, सुन्तलाबारी आदि स्थानमा पुग्ने कार्यक्रम तय भएको महासचिव गुरुङले जानकारी दिए।

उक्त अवसरमा त्यहाँका प्रकृति र संस्कृतिका विविधता, अत्यावश्यकीय पूर्वाधारबारे पनि स्थानीयबाट जानकारी लिइने उनले बताए। पदयात्रासँगै यहाँबाट देखिने मनोरम हिमाली तथा पहाडी दृश्य, ऐतिहासिक पहिचानलाई समेट्न सकेमात्रै पनि यस गन्तव्यलाई विश्व पर्यटन बजारसँग जोड्न सकिने समिति सदस्य एवं मिलेनियम भैसेगौँडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङ बताउँछन्।

कोरोना महामारीअघिसम्म पदमार्ग क्षेत्रमा सञ्चालित होमस्टेमा पर्यटक आउनेक्रम बढे पनि त्यसयता पर्यटकको आगमन कमी भएको उनले बताए। पछिल्लो समयमा देशव्यापी बढ्दै गएको आर्थिक मन्दीको प्रभावले पनि पर्यटन क्षेत्रमा असर पारेको उनको भनाइ छ।

समितिले पदमार्ग क्षेत्रका ऐतिहासिकस्थलको संरक्षणसँगै तिनीहरूको प्रवर्द्धनमा पनि जोड दिँदै आएको छ। समितिले पदमार्ग क्षेत्रको झन्डै तीन सय वर्ष पुरानो ढोर मूलकोट दरबारसहित त्यहाँका गढी, शक्तिपीठ, देउती बज्यैको थान, टक्सार घर आदिको भग्नावशेष समेतलाई संरक्षण गर्ने लक्ष्य राखेको छ। दरबार क्षेत्रलाई तारबार गरिसकिएको महसचिव गुरुङले जानकारी दिए।

समितिकै पहलमा चन्द्रकोटस्थित सतौँ राजाको ‘समरप्यालेस’को संरक्षणस्वरुप तारबार गरिसकिएको छ। चन्द्रकोट दरबार नेपालका बाइसेचौबीसे राजाको पालाका सतौँका राजाको हिउँदे दरबारका रुपमा चिनिन्छ। समितिकै पहलमा पदमार्ग क्षेत्रकै भिरकोट कालिका जाने बाटो निर्माण गरिसकिएको छ भने त्यहाँको किल्लाको संरक्षण गर्ने योजना राखिएको छ। त्यस्तै पदमार्गमा नै पर्ने मिलेनियम गुफाको तारबार, शौचालय निर्माणलगायतका काम सम्पन्न भइसकेका छन्।

राइपुरस्थित जन्तेढुंगालाई व्यवस्थित गर्ने योजना राखेको समितिले त्यहाँ जन्तीका मूर्ति ढुंगामा खोप्ने तयारी गरेको छ। पदमार्गस्थित गहते मनकामना जाने सिँढी बाटो निर्माणसँगै उक्त स्थानमा पार्क निर्माणका काम अघि बढाइएको छ।

पदयात्रामार्गमा पर्ने देउपुजी ढुंगा, एक हजार सात सय नौ मिटर उचाइको बुढाकोट आदिको संरक्षण र प्रवर्द्धनलाई समितिले जोड दिएको छ। कोरोनालगायतका कारण सुस्ताएको यस क्षेत्रको पदयात्रा पर्यटनलाई प्रवर्द्धनात्मक कार्यक्रमले पुनःजागरण ल्याउने अपेक्षा गरिएको नेपाल पर्यटन बोर्डका जनसम्पर्क तथा प्रचारप्रसार अधिकृत गोपाल भण्डारीले बताए। रासस


प्रकाशित : बिहीबार , जेठ २५ २०८००९:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend