काठमाडौं- सरकारले विद्युत् व्यापारसम्बन्धी विधेयक संसदमा पेस गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विद्युत् व्यापारसम्बन्धी विधेयक संसद्मा पेस गर्न अनुमति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन्।
सरकारको प्रवक्ता समेत रहेकी मन्त्री शर्माका अनुसार बैठकले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष अद्योगिक ग्राममा रुपान्तरण गर्ने निर्णय पनि गरेको छ।
यस्तै अत्यावश्यक सेवामा हड्ताल निषेध गर्ने निर्णय पनि सरकारले गरेको उनले बताइन्। मन्त्री शर्माका अनुसार बैठकले गृहमन्त्रालयको प्रस्तावमा आवश्यक सेवा सञ्चालन नियमावली २०१४ को दफा ३ को उपदफा १ बमोजिम अत्यावश्यक सेवामा हड्ताल निषेध गर्ने निर्णय गरेको हो।
कहाँ-कहाँ हड्ताल निषेध गर्ने भनेर राजपत्रमा सूचना प्रकाशित गरिने उनले जानकारी दिइन्।
बैठकले कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिको अध्यक्षको जिम्मेवारी सहसचिव मदन भुजेललाई दिने निर्णय पनि गरेको छ। बैठकले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहको बेल्जियमको भ्रमण पनि स्वीकृत गरेको छ।
मेयर साह जेठको अन्तिम साता बेल्जियमको भ्रमणमा जाने तय भएको हो। जेठ २९ देखि ३२ सम्म ब्रसेल्समा हुने विश्वका महानगरपालिकाहरूको शिखर सम्मेलन तथा अर्बान समिटमा भाग लिन मेयर साह बेल्जियम जान लागेका हुन्।