काठमाडौं- गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आइएलएस उडान (यान्त्रिक अवतरण प्रणाली) मा भारतले सहमति दिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा भारतीय पक्षले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आइएलएस उडान तथा अवतरण कार्यविधिमा सहमति जनाएको हो। योसँगै अब गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस उडानको बाटो खुलेको छ।
आइएलएसमा भारतको सहमति नहुँदा गौतमबुद्धमा भीएफआर उडान मात्रै भइरहेको थियो। अब आइएलएस उडानसमेत हुनेछ। आइएलएस उडानमा भारतले सहमति नदिँदा मौसम अनकुल नहुँदा उडान हुन सकेको थिएन।
यान्त्रिक अवतरण प्रणाली न्यून भिजिबिलिटी भएको समयमा उडान/अवतरण गर्नका लागि उपयुक्त हुन्छ। यो प्रणालीका कार्यविधि नेपालले तयार पारेको थियो। यो कार्यविधिअनुसार जहाज अतवरण गर्दा भारतीय आकाश प्रयोग गर्नुपर्छ। यसमा भारतीय अनुमति चाहिन्छ।
लामो समयदेखि नेपालले यस्तो अनुमति मागेपनि भारतले दिएको थिएन। यही अनुमति नहुँदा गएको हिउँदमा उडान प्रभावित भएको थियो।
यो अनुमतिसँगै भैरहवामा ८५० मिटरसम्मको भिजिबिलिटिमा पनि जहाज अवतरण हुनसक्छ।
भारत महेन्द्रनगर हवाई प्रवेश बिन्दुलाई दुईतर्फी बनाउने विषयमा पनि केही लचिलो भएको छ। प्रधानमन्त्रीको भारत भ्रमणमा भारतीय पक्षले महेन्द्रनगर हवाई प्रवेश बिन्दुमा केही सहजता गरिदिने गरी सकारात्मक धारणा राखेको हो।
भारतले गौतमबुद्ध र पोखरा विमानस्थलबाट भारतका नजिकका विमानस्थलमा उडान गर्न दिने विषयमा छलफल गरेर टुंगोमा पुर्याउने सहमति भएको छ।